गुठी विधेयकविरुद्ध एकीकृत आन्दोलन समितिले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालको ध्यानाकर्षण गराएको छ।
समितिका अगुवाहरु बिहीवार मन्त्री अर्याललाई ध्यानाकर्षण गराउन मन्त्रालय पुगेका थिए। ध्यानाकर्षणपत्र बुझाउँदै गुठी विधेयकविरुद्ध एकीकृत आन्दोलनका संयोजक डा. महेशमान शाक्यले यसपटक विधेयक ल्याउन सरोकारवाला सबैसँग छलफल गरेर मात्र अगाडि बढ्न आग्रह गरे। उनले जनताको हित गर्ने विधेयक ल्याउन सहयोग गर्ने पनि बताए।
त्यस क्रममा मन्त्री अर्यालले नीजि गुठीको सन्दर्भमा सरकारले धेरै चासो नदिने बताउदै गुठी संस्थानले हेर्दै आएको बाँकी गुठीलाई सुशासन कायम गर्दै व्यवस्थित गरिने बताइन्। गुठीको समस्या अब लामो समय नरहने भन्दै मन्त्री अर्यालले छिट्टै सरकारले यसको समाधान गर्ने बताइन्।
विगतको गुठी विधेयकमा पनि गुठी संस्थानले हेरेको ३ वटा गुठी व्यवस्थित गर्ने कुरामा मन्त्रालय केन्द्रित भएको भन्दै उनले नीजि गुठि नीजि गुठियाराकै सम्पत्ति भएको बताइन्। विगतमा जेजे भएपनि हल्लाको पछि लाग्नु भन्दा विधेयक फिर्ता लिएर सरकार अगाडी बढेको भन्दै उनले अब नयाँ ढंगबाट विधेयक अगाडि बढ्ने बताइन्।
गुठीलाई कानुनबाट नै व्यवस्थित गरौं भनेर जाँउ भन्ने मनसाय भएपनि नीजि गुठियारा र सरकारको भावना भेट नहुँदा विगतमा स्थिती तनावपुर्ण बनेको उनको भनाई थियो।
सरकारले गुठी विधेयक लगायतका विषयलाई समेटेर नयाँ एकिकृत भूमि विधेयक ल्याउने तयारी गर्दैछ। यसै सन्दर्भमा मन्त्रालयले मंसिर २३ गते सरोकारवाला पक्षसँग छलफल कार्यक्रमको आयोजना गरेको छ।
प्रतिक्रिया