जानकी मन्दिरले विजुली बत्तीको बक्यौंता ७८ लाख रुपैयाँ महसुल किस्ताबन्दीमा तिर्ने भएकको छ। महसुल नतिरे लाइन काटिदिने ३ दिने अल्टिमेटम पश्चात जानकी मन्दिर किस्ताबन्दीमा महसुल तिर्न सहमत भएको हो।
विद्युत प्राधिकरणको जानकी मन्दिरमाथि लामो समयदेखिको ७८ लाख १३ हजार २९७ रुपैयाँ बाँकी छ। पटक पटक महसुल तिर्न प्राधिकरणले तिर्न ताकेता गरेपनि जानकी मन्दिरले बेवास्ता गर्दै आएको थियो।
गत जेठ २३ गते प्राधिकरण जनकपुरले तीनदिन भित्र महसुल नतिरे लाइन काटिदिने अल्टिमेटम दिएको थियो। त्यस पश्चात जानकी मन्दिर महिनामा ३ लाख २७ हजारको दरले किस्तामा महसुल तिर्न सहमत भएको हो।
अब महिनाको ३ लाख २७ हजार रुपैयाँको दरले महसुल दुई वर्षसम्म किस्ताबन्दीमा तिर्ने जानकी मन्दिरका महन्थ रामतपेश्वर दास बैष्णवले जानकारी दिए।
महसुल तिरिदिन विभिन्न निकायसँग आग्रह गरेपनि नतिरे पछि लाईन काटिने अवस्थामा बाध्य भएर मन्दिरले नै तिर्न सहमत भएको उनले बताए।
जानकी मन्दिरमा महिनाको लाखौं रुपैयाँ भेटी चढ्छ भने जानकी मन्दिर छेउका विवाह मण्डप ठेक्का लागेको आम्दानी आउने गर्छ। तर, मन्दिरले महसुल नतिर्दा जानकी मन्दिरको चर्को आलोचना हुँदै आएको छ।
महन्थ दासले चढेको भेटी र विवाह मण्डपबाट आएको आम्दानीले जानकी मन्दिरमा पूजासामग्री, दैनिक निःशुल्क भोजन, विभिन्न उत्सवसहित व्यवस्थापनमा खर्च गर्ने गरेको कारण विद्युत महसुल तिर्न नसकेको विद्युत महसुल तिर्न नसकेको बताए।
Shares
प्रतिक्रिया