बुटवलको बीपी चोकमा सुन पसलमा लुटपाट गर्नेलाई प्रहरीले पक्राउ गरेको छ। यही वैशाख १३ गते राती बुटवल ६ बीपी चोकमा दिलबहादुर सुनारले सञ्चालन गरेको गुल्मेली मजुवा सुनचाँदी पसलबाट ३ करोड रुपैयाँभन्दा बढीको गहना चोरी भएको थियो।
चोरी र लुटपाटमा संलग्न आरोपमा प्रहरीले ३ जना भारतीय नागरिकलाई पक्राउ गरेको हो। भारत जौहरी मोहल्ला चौकका ३६ वर्षीय मोहसिन अब्दुल्ला खान, लखनउ गोमती बिहारका २५ वर्षीय मोहद जिसान खान र लखनउ निसात गञ्जका २२ वर्षीय मो. सारिकलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा मंगलबार सार्वजनिक गरिएको हो।
इलाका प्रहरी कार्यालय बुटवल र लुम्बिनीबाट खटिएको टोटीले खोजतलास गर्दा सोमबार साँझ उनीहरुलाई पक्राउ गरेको हो। लुम्बिनी सांस्कृतिक नगरपालिका ४ महुवारीस्थित खुनगाई कालीदह सडक खण्डमा सवारी साधन र पैदल यात्री रोकी चेकजाँच गर्ने क्रममा उत्तरदेखि दक्षिणतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट UP32LW 3151 Wagonr भएको गाडीमा उनीहरुलाई फेला पारिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
उनीहरुको साथबाट १० र १० ग्रामको सुनको बिस्कुट २ थान २० ग्रामको सुनको बिस्कुट १ थान, सुनको गरगहना गाली डल्लो बनाएको सुनको ढिक्का १ थान, सुनको पैसाको सिक्का आकारको गोलो १ थान, मोबाइल ३ थान, भारु १०० का नोट ६० वटा, आधार कार्ड बरामद गरिएको रुपन्देहीका प्रहरी प्रवक्ता डीएसपी नवरत्न पौडेलले बताए। लुटिएको थप गरगहना खोजीका लागि अनुसन्धान भइरहेको उनले बताए।
Shares
प्रतिक्रिया