ad ad

समाज


मुकुल पाण्डेय मृत्यु प्रकरण : होटल कर्मचारी र साथी अनुसन्धानको घेरामा

मुकुल पाण्डेय मृत्यु प्रकरण : होटल कर्मचारी र साथी अनुसन्धानको घेरामा

गोकुल जोशी
बैशाख २१, २०७९ बुधबार १६:५४, महेन्द्रनगर

कञ्चनपुरको महेन्द्रनगरस्थित होटल ‘नाइन इलेभन’ मा युवक मृत भेटिएको घटनाको प्रहरीले अनुसन्धान थालेको छ।

 प्रहरीले होटल सञ्चालक कोमल बहादुर सिंहसहित कर्मचारी र मृतकका साथीलाई नियन्त्रणमा लिएको छ।

घटनाको सोधपुछका लागि होटलमा १८/२० जना कर्मचारीसहित मृतकका साथीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी श्यामसिंह चौधरीले जानकारी दिए।

‘होटलमा के भएको हो? के देख्नु भएको छ? भनेर बुझ्न प्रारम्भिक अनुसन्धानका क्रममा सामान्य सोधपुछ गरिरहेका छौँ,’ उनले भने, ‘घटनाअघि भेट भएका साथीहरुसँग पनि सोधपुछ गरिरहेका छौँ।’

भीमदत्त नगरपालिका–१५ निम्बुखेडाका २१ वर्षीय मुकुल पाण्डेय बुधबार बिहान होटलको चौथो तलामा रहेको कोठा नम्बर ४०३ मा मृत भेटिएका थिए।

मृतकको शरीरमा कुनै चोटपटक नरहेको एसपी चौधरी बताउँछन्। 

‘सुतेको ठाउँमै मृत भेटिएका छन्। शरीरमा कुनै त्यस्तो चोटपटक छैन,’ उनले भने।

मृतक पुरानो लागूपदार्थ सेवनकर्ता रहेको प्रहरीको अनुसन्धानबाट खुलेको छ। उनी धनगढीको सुधार केन्द्रमा तीन/चार महिना बसेर डिस्चार्ज भएका थिए।

‘घटनास्थलमा सीसीसहित ५ वटा तयार अवस्थामा राखिएका सुई पनि भेटिएका छन्,’ एसपी चौधरीले भने, ‘त्यसैले मृतक पुनः लतमा फसेको देखिन्छ।’

लगूपदार्थको ओभरडोजले मुकुलको मृत्यु भएको हुनसक्ने प्रहरीको आशंका छ। अहिले शव पोष्टमार्टमका लागि महाकाली अस्पतालमा राखिएको छ। 

‘पोष्टमार्टम रिपोर्टले पनि केही कुरा अवश्य खोल्ने छ,’ एसपी चौधरी भन्छन्, ‘हामी होटलका सीसीटीभी फुटेज विश्लेषण गरिरहेका छौँ।’

मृतक मुकुल पढाइका लागि विदेश जाने तयारीमा रहेको थिए। यही वैशाख २२ गते जापान उड्ने तयारीमा रहेका उनी त्यसअघि साथीहरुलाई पार्टी दिन होटलमा गएको खुलेको छ।

घटनाको अनुसन्धानका लागि प्रहरीले मृतकका साथी आशिष चन्दलाई नियन्त्रणमा लिएको छ। चन्द राति मुकुलसँगै कोठामा सुतेको खुलेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .