ad ad

समाज


झारफुकका क्रममा महिलाको मृत्यु: ‘भूत भगाउने भन्दै तातो रडले कुट्ने रहेछन्’

‘मरेको मान्छेलाई पनि ज्युँदाे बनाउने धामी हुँ भन्दै शव राखेका थिए’
झारफुकका क्रममा महिलाको मृत्यु: ‘भूत भगाउने भन्दै तातो रडले कुट्ने रहेछन्’

मारिएकी महिला


गोकुल जोशी
बैशाख ३, २०७९ शनिबार १९:१५, महेन्द्रनगर

कञ्चनपुरको बेदकोट नगरपालिका–६, मुसेपानीकी ४३ वर्षीया रञ्चुला साउदका केही वर्षअघि श्रीमान् बिते। परिवारको अभिभावक गुमाएपछि दुई सन्तान हुर्काउने जिम्मेवारी उनकै काँधमा थियो। रञ्चुलाका दुई छोरी छन्।

विपन्न परिवारकी रञ्चुला दैनिक ज्यालामजदुरी गरेर घरखर्च चलाउँथिन्। केही दिन अगाडिदेखि उनले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत गाउँमा निर्माण भइरहेको सार्वजनिक बाटोमा मजदुरको काम पाएकी थिइन्। 

यस क्रममा उनी चैत २७ गते पनि बिहान खाना खाएर काममा गइन्। साँझ घर फर्किंदा उनलाई टाउको, पेट दुख्ने समस्या भयो। 

छिमेकी कमला साउदको घरमा धामीझाँक्री आएका थिए। त्यसको जानकारी पाएपछि रञ्चुला पनि उनको घर पुगिन्। ‘धामीले रञ्चुलाको हात हेरेपछि’ भूतले समातेको भन्दै उनीहरूले मन्त्र पढ्नुपर्छ भन्दै रञ्चुलालाई कोठामा राखेका थिए।

‘धामीले आमालाई चौधरी भूत लागेको छ। मन्त्र पढेर हटाउनुपर्छ भनेर एउटा कोठामा राखेका थिए’, छोरी सरिताले भनिन्, ‘त्यहाँ हामी कसैलाई जान दिँदैन थिए।’

धामीकहाँ झारफुक गराउन गएकी रञ्चुलालाई छोरीहरूले भेट्न पाएका थिएनन्। उनीहरूलाई आमाको बारेमा केही थाहा थिएन।

धामीले आमाको बारेमा गाउँमा केही नभन्न र भने आमाकै जस्तो हालत हुने धम्की दिएको छोरी सरिता सुनाउँछिन्।

‘आमालाई राखेको कोठामा किन हामीहरूलाई जान नदिएको, गाउँलेलाई भन्छु भन्दा तँलाई पनि यस्तै गर्ने भन्दै धम्क्याए’, उनले भनिन्, ‘त्यसको डरले केही भन्न सकेन।’

छोरीहरूले हिजो शुक्रबार आमाको मृत्यु भएको खबर पाए। 

‘दुई/तीन दिनअगाडि नै मृत्यु भएको रहेछ। कोठाभित्रै शव लुकाएर राखेका थिए’, उनले भनिन्, ‘हामीले २ गते (शुक्रबार) मात्रै थाहा पायौं।’

धामीको कुटपिटबाट आमाको मृत्यु भएको दाबी सरिता गर्छिन्। ‘भूत भगाउने भन्दै तातो रडले कुट्ने रहेछन्। शरीरभरि निलडाम थिए, मुखबाट रगत आइरहेको थियो’, उनले भनिन्।

मृत्यु भइसकेपछि ‘धामीले मरेको मान्छेलाई पनि ज्युँदो फर्काउँछौं’ भनेर शव कुरेर बसेका थिए। ‘मृत्यु भइसकेपछि पनि धामीहरू काम्दै तेरो आमा ज्युँदै छ। मरेको मान्छेलाई पनि ज्युँदाे बनाउने धामी हुँ भन्दै शव राखेका थिए’, उनले भनिन्, ‘आज ८ बजेसम्म ज्युँदाे हुन्छन् भनेका थिए।’

घटनाबारे गाउँमा हल्लाखल्ला भएपछि शनिबार स्थानीयले प्रहरीलाई खबर गरेका थिए। कोठामा बन्दी बनाएर कुटपिट गरेर महिलाको हत्या भएको स्थानीय सुरेन्द्र साउद बताउँछन्।

‘शव सडेको थियो। चौधरी बोक्सी भगाउने भन्दै तातो रडले पिट्ने रहेछन्’, उनले भने, ‘जिब्रो पूरै जलेको थियो। १२/१३ वडा रडहरू पाइएका छन्।’

घटनाको सत्यतथ्य छानबिन गरेर दोषीलाई कारबाहीको दायरामा ल्याउनपर्ने स्थानीयको माग छ। उता प्रहरीले घटनाको अनुसन्धान थालेको छ।

प्रहरीले घटनाको अनुसन्धानका लागि भीमदत्त नगरपालिका–७ हल्दुखाल बस्ने धामीझाँक्री धर्मानन्द भट्ट, भीमदत्त–१ बाराकुण्डा बस्ने नारायणदत्त भट्ट लगायत ७ जनालाई नियन्त्रणमा लिएको छ। 

‘अनुसन्धानका लागि ७ जनालाई नियन्त्रणमा लिएका छौं’, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी चक्रबहादुर शाहले भने, ‘महिलाको शरीरमा छाला निस्केजस्तो देखिन्छ। घटनास्थलमा फलामका रडहरू पनि भेटिएका छन्। हामी अनुसन्धान गर्दै छौं।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .