तनहुँको भानु नगरपालिका ७ की सोविता नेपाली तीन दिनदेखि प्रहरी वृत्त गौशालाको हिरासतमा छिन्। उनी चैत २७ गते नेपाल एयरलाइन्सको उडानबाट मलेसियाको क्वालालम्पुर हुँदै जापानको नारिता जान लागेकी थिइन्।
तीन वर्ष पहिले अध्ययनका लागि जापान पुगेकी सोविता एक महिनाको बिदामा आएर पुनः फर्किँदै थिइन्।
घरबाट बिदा भइसकेकी उनी विमानस्थलमा पनि आफन्तसँग छुटिसकेकी थिइन्। उनलाई विमानस्थलसम्म छाड्न पति सुरज पुगेका थिए। दुबईबाट फर्किएका दाइ सुवास पनि बहिनीलाई बिदा गरेर मात्रै घर जाने भनेर यतै थिए।
सुरज पनि रोजगारीका लागि कतार गएका थिए। उनी एक महिना पहिले मात्रै नेपाल फर्किएका हुन्।
तर विमानस्थलमा जाँचको क्रममा सोविताको झोलामा इन्सास राइफलको एउटा गोली फेला पर्यो।
‘सानो लेडिज ब्यागभित्र गोली फेला परेपछि उनलाई हामीले पक्राउ गरेका हौँ,’ विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी भीमप्रसाद ढकालले भने, ‘अहिले उनलाई अनुसन्धानका लागि गौशाला पठाएका छौँ।’
विमानस्थल सुरक्षा प्रहरीले पक्राउ गरेर सोवितालाई तत्कालै गौशाला वृत्तमा बुझायो। गौशाला वृत्तले जिल्ला अदालत काठमाडौँबाट ५ दिन म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको छ।
‘बहिनी जापान उड्ने भएपछि बहिनीलाई बिदा गरेर मात्रै आउँछु भनेको थियो। त्यो पनि अहिले उतै छ। ज्वाइँ पनि घर फर्किनु भएको छैन,’ सोविताकी आमा सीताले भनिन्, ‘हामीलाई दुश्मन लागे।’
प्रहरीले सोधपुछ गर्दा सोविताले केटाकेटीले भेटेर खेलाइरहेको अवस्थामा फेला पारेको बताएकी छन्। उनलाई हात हेराउँदा बुटी लगाउनु राम्रो हुन्छ भनेका थिए।
‘बुटी बनाउन काम लाग्छ भनेर पर्समा राखेकी रहिछन्। झिक्न बिर्सिछन्,’ उनका दाइले भने।
गोली फायरिङ भइसकेको तर नपड्किएको प्रहरी बताउँछ। त्यो गोली कसले फायर गरेको हो भनेर अहिले परीक्षणका लागि प्रयोगशालामा पठाइएको छ। केही दिनमा रिपोर्ट आएपछि गोलीको आधिकारिकताको बारेमा थाहा हुने प्रहरी स्रोतले बतायो।
यता सोविताविरुद्ध भने प्रहरीले खरखजनासम्बन्धी मुद्दामा अनुसन्धान अगाडि बढाएको छ।
आमा भन्छिन्ः हामीजस्ता गरिबलाई फसाउनेलाई धर्म हुँदैन
छोरी पक्राउ परेको खबर पुगेदेखि सोविताकी आमा सीताको होसहवास नै छैन। त्यसै पनि उनी अशक्त छिन्। एक वर्ष पहिले भिरबाट लडेकी उनको शरीर अझै ठाउँमा छैन।
‘खै कसले हो, फोन गरेर सोविताको झोलामा गोली भेटियो। सोवितालाई त प्रहरीले पक्रेको छ भनेका थिए। को हुन् फोन गर्ने मलाई थाहा छैन,’ सीताले बिहीबार नेपालखबरसँग भनिन्।
उनलाई थाहा छैन छोरीको झोलामा कसरी गोली फेला पर्यो। तर उनलाई छोरीले आफैँ गोली बोकिन् भन्ने विश्वास नै छैन।
‘मेरा छोराछोरीजस्ता सोझा कसका होलान् र? तर हामी गरिबलाई जसरी पनि फसाउँछन् क्या! गरिखानै दिँदैनन्,’ सीता भन्छिन्।
सीताले छोरीसँग कुरा गर्न पाएकी छैनन्। छोरा र ज्वाइँले पनि त्यसपछि उनलाई फोन गरेका छैनन्।
‘तीन दिन भइसक्यो थुनेको। अदालतमा लगेपछि मात्रै थाहा हुन्छ रे छुट्ने, नछुट्ने । तर हाम्रो मान्छेको दोष छैन,’ सोविताका श्रीमान सुरजले भने।
सोविताका बुबा बितिसकेका छन्। आमा लडेर गम्भीर अवस्थामा पुग्दा पनि उनले र दुबईमा भएका दाइले नै खर्च गरेर बचाए। सीता अस्पतालबाट डिस्चार्ज भएको पनि धेरै भएको छैन। उनी डिस्चार्ज भएपछि उनलाई भेट्नैका लागि सोविता जापानबाट आएकी हुन्।
एक महिनाको छुट्टीपछि उनी पुनः जापान फर्किएकी हुन्। पढ्दै गरेकाले उनको कमाइ पनि अहिले धेरै राम्रो छैन। अब एक वर्षमा पढाइ सकिने र त्यसपछि काममा लाग्ने बताएकी थिइन्।
‘हाम्रो त भविष्य बर्बादै भयो। हामीलाई यसो गर्नेलाई पनि धर्म त हुँदैन होला,’ सीता सोध्छिन्, ‘पुलिसले छोरी छाडिदियो भने फेरि जान त मिल्ला नि?’
यदि सोवितालाई प्रहरी रिपोर्ट आवश्यक पर्यो भने जान अप्ठेरो हुने प्रहरी बताउँछ।
‘अदालतबाट सफाइ मिल्यो र उताबाट प्रहरी रिपोर्ट खोजेन भने जान पनि सक्नुहोला,’ प्रहरी भन्छ।
एकातिर खर्च भयो। अर्कातिर छोरी हिरासतमा। सीताको निद्रा हराएको छ।
‘यस्तो त हामीले कहिल्यै नखेपेको। पहिले जाँदा राम्रो सँग गा’की थिई। आउँदा पनि केही भएन,’ सीता भन्छिन्, ‘यताबाट जाँदा के दुश्मनी भयो भयो!’
Shares
प्रतिक्रिया