नेपाल प्रहरीको एआईजीमा बढुवा गर्न तीन डीआईजीको नाम सिफारिस गरिएको छ। मंगलबार साँझ गृह मन्त्रालयमा बसेको बढुवा समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत डीआईजी वसन्तकुमार पन्तलाई पहिलो नम्बरमा बढुवा गर्न सिफारिस गरेको छ।
दोश्रो र तेश्रो नम्बरमा क्रमशः केन्द्रीय अनुसन्धान ब्युरोमा कार्यरत धिरजप्रताप सिंह र कार्य निर्देशनालयमा कार्यरत रवीन्द्रबहादुर धानुक सिफारिस भएका छन्।
यसपटक एआईजी सिफारिस गर्दा पनि सरकारले वरीयता र कार्यक्षमता नहेरी आफन्त नै माथि ल्याएको छ। धिरजप्रताप सिंह मात्रै कार्यक्षमताका आधारमा अगाडि थिए।
तर पन्तलाई देउवा र धानुकलाई अर्थमन्त्रीको कोटाबाट एआईजी बनाइएको हो। उनीहरुको बढुवाले संगठनभित्र असन्तुष्टि बढेको छ। अर्थ मन्त्रालयबाट एआईजीको दरबन्दी थप गर्न सहमति लिँदै अर्थमन्त्री शर्माको कोटाबाट धानुकलाई एआईजी बनाउने सहमति भइसकेको थियो।
आकांक्षीको दबाबमा सरकारले तीनै एआईजी अघिल्लो ब्याचबाट गर्ने वा पछिल्लो ब्याचबाट धिरजप्रताप सिंहलाई मात्रै बढुवा गर्ने तयारी गरेको थियो। तर, अर्थमन्त्री शर्माले रवीन्द्रबहादुर धानुकलाई पूर्वसहमति अनुसार कुनै पनि हालतमा बढुवा गर्नु पर्ने अडान लिएपछि अघिल्लो ब्याचबाट पन्त मात्रै परेका हुन्।
पन्त डडेलधुराकै भएकाले पनि देउवाको राजाइमा परे। पन्तलाई एआईजी बनाउन जिल्लाको नेताबाट पनि देउवालाई दबाब थियो। चुनाव नजिकिएकाले पनि देउवा जिल्लाका नेताको मन राख्न पन्तलाई डेढ महिने एआईजी बनाउन तयार भए।
डडेलधुराकै गणेशबहादुर ऐरको पनि चर्चा थियो। तर उनी डीआईजीबाटै पछि परेकाले देउवाको रोजाइमा ऐरभन्दा पन्त परे। पन्त आगामी वैशाख १९ गते अनिवार्य अवकाशमा जाँदैछन्।
उनलाई प्रहरी किताब खानाले अवकाशको पत्र बुझाइ सकेको श्रोतले जानकारी दियो। तर अवकाशको पत्र गोजीमा बोकेका पन्तले जिल्लाको प्रधानमन्त्री भएको फाइदामा एआईजी पद उपहार पाए।
२०४९ वैशाख १९ गते भर्ना हुँदा पन्त १४ औँ नम्बरमा थिए। डीएसपीमा बढुवा हुँदा ब्याचका सबै डीआईजी भन्दा अन्तिममा १५ औँ स्थानमा बढुवा भएका थिए। २०५८ सालमा डीएसपी भएका पन्त २०६७ सालमा एसपी हुँदा पनि १३ औँ स्थानमा मात्रै परे। एसएसपीमा पनि उनी घनश्याम अर्याल, गणेशबहादुर ऐर, पुरुषोत्तम कँडेल, प्रकाशजंग कार्कीभन्दा पछि नै थिए।
२०७६ चैतमा डीआईजीमा बढुवा हुँदा पनि घनश्याम अर्याल र प्रकाशजंग कार्कीभन्दा पछि नै रहेका पन्तले एआईजीमा भने देउवाको आशीर्वाद पाए।
यो ब्याचबाट शैलेश थापा क्षेत्री आईजीपी छन् भने हरि पाल, निरज शाही र प्रद्युम्न कार्की एआईजी छन्। अन्य डीआईजीमै अवकाश हुँदा पन्तले भने अन्तिम समयमा बाजी मारेका हुन्।
पन्तसँगै एआईजी बढुवाको सिफारिसमा परेका धिरजप्रताप सिंह र रवीन्द्रबहादुर धानुकका लागि भने भावी आईजीपीको बाटो पनि खुलेको छ। नेपाल प्रहरीमा वैशाख १९ गतेबाट नयाँ आईजीपी नियुक्त हुनेछन्। प्रहरी नियमावलीमा एआईजीबाटै आईजीपी बनाउन सक्ने व्यवस्था रहेकाले सिंह र धानुकलाई पनि सरकारले चाहे आईजीपी बनाउने बाटो खुलेको छ।
एआईजीको दरबन्दी थप नै भावी आईजीपी बनाउनका लागि गरिएको प्रहरीभित्रैका कतिपयको बुझाइ छ। विश्वराज पोख्रेल र सहकुल थापालाई अघिल्लो सरकारले एआईजी बनाएकाले उनीहरुलाई आईजीपी नबनाएर सिंहलाई आईजीपी बनाउन सक्ने आकलन समेत गरिएको छ।
एक वर्षपहिले नै एआईजी भएका विश्वराज पोख्रेल भने हालको एआईजी बढुवासँगै तनावमा छन्। सहकुल थापालाई पनि पोख्रेलको विकल्पमा आईजीपीका लागि अघि सारिएको बुझाइ थियो। उनीहरु दुवै जना फरक समयमा एकल बढुवा भएका हुन्।
धिरज सिंह आफ्नो ब्याचबाट हरेक पटक पहिलो नम्बरमा बढुवा हुँदै आएका थिए। धानुक ब्याचमा पछाडी परेका भए पनि अन्तिममा जनार्दन शर्माले च्याप्दा एक्कासि अगाडि आएका हुन्।
एआईजी बढुवाले नेपाल प्रहरीका आकांक्षी डीआईजीहरु भने असन्तुष्ट छन्। बढुवा समितिको सिफारिसअनुसार सरकारले एआईजीमा नियुक्त गर्ने निर्णयपछि मात्रै उनीहरु एआईजीमा पदोन्नति हुनेछन्।
Shares
प्रतिक्रिया