जनकपुरबाट ७ महिने बच्चा चोरी गर्ने दुई महिलासहित तीनजना प्रहरीको फन्दामा परेका छन्।
पक्राउ पर्नेमा धनुषाको गणेशमान चारनाथ नगरपालिका–१० बस्ने ३५ वर्षीया मनिषा देवी मुखिया, औरही गाउँपालिका–१ पौडेश्वर घर भई हाल जनकपुरधाम उपमहानगरपालिका–८ बस्ने २० वर्षीया किरण राम र महोत्तरीको लोहारपट्टी नगरपालिका–४ घर भई जनकपुरधाम उपमहानगरपालिका–७ बस्ने २२ वर्षीय कृष्ण कुमार यादव छन्।
तीनै जनालाई बिहीबार धनुषा प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो।
छोराको मोहका कारण बच्चा चोरी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
बुधबार साँझ करिब ६ बजे जनकपुरधाम–६ स्थित महाराज सागर पोखरी छेउबाट मोहम्द अमिर राइनका ७ महिने शिशु अख्तर राइनलाई मनिषाले लिएर भागेकी थिइन्।
मोहमद आमिर राइनकी ६ वर्षीया छोरी एलिजा खातुन भाइसँग खेलिरहेको समय रातो साडी लगाएर आएकी मनिषाले एलिजालाई ५० रुपैयाँ दिएर कुरकुरे किन्न पठाई बच्चालाई लिएर भागेकी थिइन्।
बच्चा लिएर भाग्दै गरेकी मनिषालाई प्रहरीले खोजतलास गर्ने क्रममा बिहीबार बिहान साढे ८ बजे जनकपुरधाम–१९ बेंगा शिवपुर पिपराढी स्थित हाँस तथा भैँसी फारमको पछाडि खेतबाट पक्राउ गरेको धनुषाका प्रहरी नायव उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिए।
प्रहरीका अनुसार घटनाको समयमा मनीषासँगै रहेको आफ्नो बच्चा भनिएकी २ वर्षीय नन्दनी मुखियालाई अर्को पक्राउ परेकी महिला किरण रामसँगै पठाएर ७ महिने शिशुलाई लिएर भागेकी थिइन्।
मनिषालाई छोरा नभएकाले जसरी पनि छोरा चाहियो भनेर बच्चा चोरी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
पक्राउ परेका कृष्ण कुमारले मनीषासँग १३ हजार रुपैयाँ लिएर बच्चा उपलब्ध गराउने सर्त वाचा गरेका थिए भने रामले बच्चा चोरीमा सघाएकी थिइन्।
पक्राउ परेकाहरुमाथि अपहरण सम्बन्धी मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान सुरु गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
Shares
प्रतिक्रिया