ad ad

समाज


मसला भनेर तरकारीमा मुसा मार्ने विषादी, एकै परिवारका ५ जना बिरामी

मसला भनेर तरकारीमा मुसा मार्ने विषादी, एकै परिवारका ५ जना बिरामी

गोकुल जोशी
माघ ११, २०७८ मंगलबार २१:१३, काठमाडौँ

कञ्चनपुरको कृष्णपुर नगरपालिकामा विषादीयुक्त खाना खाँदा एकै परिवारका ५ जना बिरामी परेका छन्। 

मंगलबार कृष्णपुर नगरपालिका–६ मौरीफाँटामा विषादीयुक्त खाना खाँदा ६५ वर्षीया रमादेवी विष्टको परिवारका पाँच जना अस्पताल भर्ना भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी चक्रबहादुर शाहले जानकारी दिए।

प्रहरीका अनुसार रमादेवी विष्ट सहित उनकी बुहारी र नातिनातिना विषादीयुक्त खाना खाँदा बिरामी भएका हुन्। 

४५ वर्षीया कलावती विष्ट, १७ वर्षीया सरिता विष्ट, १४ वर्षीय समीर विष्ट र ८ वर्षीया समिक्षा विष्ट बिरामी परेको डीएसपी शाहले बताए। 

उनका अनुसार समीरले तरकारीमा मसला सम्झेर मुसा मार्ने औषधि हालेका थिए। सोही खाना खाँदा बिरामी परेका उनीहरु कैलालीको सेती प्रादेशिक अस्पताल भर्ना भएका छन्। 

‘समीरकी आमा रजश्वला हुनुभएको रहेछ, त्यसैले समीरले खाना बनाएका थिए,’ डीएसपी शाहले नेपालखबरसँग भने, ‘उनले नै तरकारीमा मसला भनेर मुसा मार्ने औषधि हालेको खुलेको छ। थप अनुसन्धान हुँदैछ।’

समीरले बनाएको खाना खाएर बिरामी परेका उनीहरुमध्ये समीरको अवस्था मध्यम छ। सेती प्रादेशिक अस्पतालमा उपचाररत अन्य चार जनाको अवस्था भने अहिले सामान्य रहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .