आज (बिहीबार) बिहान बुद्ध एयरको एउटा जहाज नेपालगन्ज विमानस्थलमा अवतरण गर्न नसकेर पौने घण्टा आकाशमा घुम्दा बेहोस भएकी महिला यात्रुको होस खुलेको छ।
बाँके जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) मधुसूदन न्यौपानेले केही बेरअघि नेपालखबरलाई दिएको जानकारीअनुसार काठमाडौं असनकी ५२ वर्षीया जानुका थापा उपचारपछि ठीक भएकी हुन्।
‘उहाँलाई लिन आफन्तहरू आउँदै हुनुहुन्छ’, डीएसपी न्यौपानले भने, ‘अब केही बेरमा जानुहुन्छ होला।’
प्रहरीका अनुसार काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६९ जना यात्रु लिएर बिहीबार बिहान ७ बजेर ४४ मिनेटमा उडेको 9N–AJX को जहाज पौने घण्टा ढिलागरी ९ बजेर १८ मिनेटमा मात्र नेपालगन्ज विमानस्थलमा अवतरण भएको हो। जहाज बिहान ८ बजेर ४० मिनेटमै अवतरण हुनुपर्ने थियो।
तर मौसमका कारण जहाज समयमै अवतरण हुन नसकेको डीएसपी न्यौपानेले बताए। त्यही त्रासका कारण ती महिला यात्रु बेहोस भएकी हुन्।
विमानस्थलनजिकै राँझास्थित नेपाली सेनाको अस्पतालमा उपचारपछि उनको होस खुलेको र अवस्था सामान्य भएको उनले जानकारी दिए।
जहाजका अन्य यात्रुको अवस्था सामान्य रहेको जानकारी पनि उनले दिए।
यसअघि : बुद्ध एयरको जहाज अवतरण गर्न नसकेर आकाशमा घुमेको घुम्यै गरेपछि एक यात्रु बेहोस
Shares
प्रतिक्रिया