ad ad

समाज


९१ वर्षीय पाण्डेय नयाँ पुस्तालाई सिकाउँदैछन् प्राचीन युद्धकला झल्काउने ‘भुवा-भस्सो’

९१ वर्षीय पाण्डेय नयाँ पुस्तालाई सिकाउँदैछन् प्राचीन युद्धकला झल्काउने ‘भुवा-भस्सो’

गोकुल जोशी
पुस १८, २०७८ आइतबार २१:२७, काठमाडौँ

कञ्चनपुरको भीमदत्त नगरपालिका-७ हल्दुखालका स्थानीय ‘भुवा भस्सो’ नाचमा झुमेका छन्। जनसेवा माध्यमिक विद्यालय दमाहाको ध्वनीले गुञ्जायमान छ। 

विद्यालयमा प्राचीन युद्धको झल्को दिने दृश्य देख्न सकिन्छ। वृद्ध तथा युवाहरुले एक हातमा तरबार र अर्को हातमा ढाल समातेका छन्। र, दमाहाको तालमा लहरै भएर नाच्दैछन्। त्यही लहरमा ९१ वर्षीय वृद्ध डम्बर पाण्डेय पनि छन्। उनी युवाहरुलाई तरबार र ढाल भिराएर नचाउन सिकाउँदै छन्। 

पाण्डेय हल्दुखालका भुवा नाचका ‘नायक’ हुन्। दशकपछि भुवा नाच खेल्न पाउँदा उनी प्रफुल्लित छन्। लोपोन्मुख भुवा नाच बारे युवाहरुलाई जानकारी गराउन पाउँदा पाण्डेय झनै खुसी देखिन्छन्। 

बझाङबाट पाण्डेय वि.सं. २०५८ सालमा तराई झरे। पहाड हुँदा भुवा भस्सो पर्व मनाउने उनी तराईमा पनि मनाउँथे। तर, पहाडको जस्तो रौनकता थिएन। विस्तारै भुवा नाच्ने प्रचलन हराउँदै गएको छ। 

नयाँ पुस्ता मौलिक संस्कृतबाट विमुख भएर मौलिकता ओझेलमा परिरहेकोमा पाण्डेय चिन्तित बने। उनी अहिलेको पिढीलाई यस बारे सिकाउन चाहन्थे। पाण्डेयको सपनालाई देउडा गायक तथा पूर्व अन्तर्राष्ट्रिय कबड्डी खेलाडी लक्ष्मण अधिकारीले यस वर्ष साकार गरे।

भीमदत्त नगरपालिका–७ हल्दुखालमा झण्डै चार दशक पछि सिद्ध सामुदायिक सेवा समितिले भुवा भस्सो पर्व मनाउने कार्यक्रम तय गर्यो। ​अधिकारी समितिका अध्यक्ष हुन्। उनले भुवा खेल्न गाउँका युवाहरुको जमघट गराएका थिए।

आइतबारदेखि सुदूरपश्चिममा भुवा भस्सो पर्व सुरु भएको छ। कञ्चनपुरको हल्दुखालमा पनि भुवा भस्सो मनाउन थालिएको छ। यस अवसरमा पाण्डेयले नयाँ पिढीलाई भुवा भस्सोको बारेमा जानकारी दिइरहेका छन्।

जीवनको उत्तरार्धमा आएर मौलिक संस्कृति नयाँ पिढीलाई सिकाउन पाउँदा खुसी अनुभुत भएको पाण्डेय बताउँछन्। 

‘आजभोलि भुवा भस्सो कोही खेल्दैनन्। अहिलेका युवाहरुलाई यसबारे केही जानकारी नै छैन,’ उनले भने, ‘मौलिक संस्कृति, पहिचान हराउँदै गएको छ।’

मौलिक संस्कृति संरक्षणका साथै नयाँ पुस्तालाई यस पर्वबारे ज्ञान दिन अभियानकै रूपमा सुरु गरिएको सिद्ध सामुदायिक सेवा समितिका अध्यक्ष लक्ष्मण अधिकारी बताउँछन्।

‘भुवा प्राचीन संस्कृति हो। प्राचीनकालीन युद्धको भाका हो। कौशलको प्रदर्शनी हो,’ उनले भने, ‘जसको आफ्नै मौलिक विशेषता छ, हाम्रो पहिचान हो। त्यसैले यसको संरक्षणमा जुट्नु पर्छ।’

भुवा पर्व सुदूरपश्चिमको बझाङ, बाजुरा, अछाम, डोटी तथा कर्णाली प्रदेशका केही जिल्लामा मनाइन्छ। पहाडबाट बसाइँ सरेर कैलाली–कञ्चनपुर झरेका मानिसले यहाँ पनि पर्व मनाउँदै आएका छन्। 

पर्वमा प्राचीन युद्ध कौशलको झल्को दिने गरी भुवा नाच प्रदर्शन गरिन्छ। दमाहाको तालसँगै एक हातमा तरबार र अर्को हातमा ढाल नचाइने दृश्य सहितको भुवा नाच्ने गरिन्छ। 

जनाउको रूपमा भुवा पुस महिनाको पूर्णिमाको राति भुवाखाडोमा आगो बालेर प्रारम्भ गरिन्छ। यद्यपी पुसे औंसीमा ५ पाण्डवहरुको पुजापाठ गरेर पर्व सुरु हुने भुवा ‘नायक’ डम्बर पाण्डेय बताउँछन्। 

भुवाको ऐतिहासिकता
लोपोन्मुख अवस्थामा रहेको भुवा पर्वको ऐतिहासिक, सांस्कृतिक महत्व रहेको छ। यो पर्व द्वापर युगमा पाण्डवहरुले सुरु गरेको जनश्रुति छ। भुवा महाभारतको पाण्डव र कौरवबीचको युद्धदेखि यो पर्व आरम्भ भएको जनविश्वास रहँदै आएको छ।

सोही लडाइँको सम्झना तथा पाण्डवहरूको जीतको खुसीयालीमा पर्व मनाउन थालिएको पाण्डेय बताउँछन्। उनका अनुसार असत्यमाथि सत्यको विजयोत्सवका रुपमा पर्वलाई मनाइने गरिन्छ। 

पाण्डेय भन्छन्, ‘द्वापर युगमा कौरवहरूको कपटी पासामा पाण्डवले राज्य हारे। पाण्डव वनबास बसेका बेला जीविकोपार्जन गर्न गाउँ गाउँमा गएर युद्ध कला सिकाउँथे। त्यहीबाट भुवा भस्सो पर्व सुरु भएको विश्वास छ।’ 

महाभारत युद्धका लागि आफ्ना सेनालाई निपुर्ण बनाउन पाण्डवहरुले तरबार र ढाल चलाउन सिकाएको र त्यहीँबाट भुवा पर्व मनाउन थालिएको जनविश्वास छ।

यसरी मनाइन्छ
पर्वमा ढाल र तरबारसहित चाली खेल्ने प्रचलन रहँदै आएको छ। जसको सुरुवातदेखि समाप्तिसम्म आफ्नै विधि प्रक्रिया रहेको भीमदत्त नगरपालिका–७ हल्दुखालका हिरालाल खड्का बताउँछन्। 

उनका अनुसार पुसे औंसीको राति भुवा खडोमा आगो बालिन्छ। आगो तापेर नुवाइधुवाई सरसफाई गरेर मीठो–मसिनो खाना खाने प्रचलन छ। आफ्ना हतियारहरू ढाल तरबारलाई चम्किलो बनाउने काम गरिन्छ। ढाल कालोले पोतिन्छ भने तरबारलाई धारिलो र चम्किलो बनाइन्छ।

यसरी चम्किलो बनाइएको तरबारहरू चाली खेल्दा घाममा टलक्क टल्किन्छन्। औंसीको भोलिपल्ट लुगाकपडा धोएर हातहतियार सजाउने, टल्काउने काम हुन्छ अनि द्वितीया तिथिको दिनमा विशेष ढंगले प्रदर्शन गरिन्छ। भुवा खेलको पहिरन पनि विशेष प्रकारको हुन्छ। भुवा खेल्ने पुरुषहरूले सेतो भोटोसहित जामा, पछाडि कुमदेखि खुट्टासम्म पुग्ने गरी पिठ्युँमा एउटा सेतो चादर जस्तो पहिरनुपर्छ। टाउकोमा पगरी बाँध्नुपर्छ। 

दिउँसोको समयमा भुवाखाडोमा गएपछि भुवाको रौनक सुरु हुन्छ। बाजागाजाका साथ दमाहाले पनि अनेक धुन बजाउँछन्, बाजागाजा लस्कर हुँदै औंसी र प्रतिपदाका दिन चम्काएका ढाल तरबार बाजागाजा भुवाको लयमा चम्कन सुरु हुन्छ।

बायाँ हातमा ढाल, दायाँ हातमा तरबार लिई बाजाको तालसँगै गुरुको निर्देशनअनुसार सुस्तगतिबाट भुवा खेल खेल्ने गरिन्छ। खेलमा २० भन्दा वटा चाली र ६३ कवच हुन्छ।

यस्तै स्थानीयले आ–आफ्नो घरमा मीठामीठा परिकारहरू पकाउँछन् र आपसमा बाँडेर खान्छन्। यस पर्वमा वर्षदिनसम्म भेटघाट नै नभएका ईष्टमित्र, दाजुभाइबीचको सम्बन्ध प्रगाढ हुने जनविश्वास उत्तिकै छ। 

हातमा तरबार र ढाल लिई सामूहिक रूपमा बाजागाजासहित घरघरमा गई भस्सो खेल्दा घरमा श्रीसम्पत्ति भित्रिने र खेलको माध्यमबाट सामाजिक सद्भाव कायम रहने जनविश्वास  छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .