कुनै बेला बन्द आह्वान नै नभईकन छुस्स हल्ला मात्र भए पनि सडक तथा बजार सुनसान हुन्थ्यो। अझ विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले गरेको बन्द भनेपछि मानिसहरू तर्सिन्थे।
तर आज मंगलबार उसले आह्वान गरेको बन्दको प्रभाव रुपन्देहीको बुटवलमा सामान्य मात्र देखिएको छ। अस्पताललाइनमा पार्किङ गरेर राखिएका गाडीको लस्कर छ। सडकमा पनि उत्तिकै गुडिरहेका छन्। बुटवलमा सार्वजनिक गाडी नचले पनि निजी गाडी निर्वाध चलिरहेका छन्।
अस्पताललाइन, मिलनचोक, राजमार्ग चौराहलगायतका ठाउँमा निजी सवारीसाधन मजाले चलिरहेका हुन्।
तर सार्वजनिक गाडी नचल्दा बुटवल बसपार्क सुनसान छ। बसपार्कमा भारतबाट आएका यात्रु अलपत्र परेर बसेका छन्। दिल्लीबाट आएर पाल्पा जान पूर्णबहादुर विक बिहानैदेखी बस पर्खेर बसेका छन्।
‘बिहानै बुटवल आएको हो घर जान गाडी नै पाइएन। कतिखेर गाडी पाइन्छ भनेर सोधेको, खै थाह छैन भन्छन्’, उनले भने, ‘दुःख पाइयो कतिबेर पर्खनुपर्ने हो?’
पूर्णसहित १२ जनाजति बुटवल बसपार्कमा गाडी कुरेर बसेका छन्।
दार्जलिङबाट काकडभित्ता हुँदै बुटवल आएकी शिला ठकुरी दुई बच्चासहित बसपार्कमा छिन्।
‘माइत (दार्जलिङ) बाट आएको। महेन्द्रनगर घर हिँडेको। उता जाने गाडी छुटिसकेछ, यहाँसम्मको गाडी भेटियो र आएको’, उनले नेपालखबरसँग भनिन्, ‘श्रीमान गाडी बुझ्न जानुभएको छ। आज जान पाइने हो कि होइन थाहा छैन।’
बुटवलका सडकमा बन्दकर्ताहरू भने देखिएका छैनन्। चोकचोकमा प्रहरी र सशस्त्र प्रहरी खटिएका छन्। मुख्य सडकका व्यवसाय बन्द छन् भने भित्री सडकका पसल कुनै कुनै खुलेका छन्।
लामा दूरीका गाडी नचलेका कारण लुम्बिनी प्रदेशको राजमार्ग भने सुनसान छ। निजी गाडी पनि स्थानियस्तरमा मात्र चलेका छन्। बजार क्षेत्रका सडकमा सामान्य चहलपहल रहेको र राजमार्गमा लामो दूरीका गाडी नचलेको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय डीएसपी डिल्लीनारायण पाण्डेले बताए।
Shares
प्रतिक्रिया