केही वर्ष अघिसम्म पनि छठ तराईमा त्यो पनि मधेसी समुदाय र हिन्दु धर्मावलम्बीमा सीमित थियो। तर, पछिल्लो समय विभिन्न धर्म, समुदाय, जातजातिका मानिसहरुले सँगै बसेर मनाउन थालेपछि नदीनाला तालतलैयामा छठका बेला थामिनसक्नु भीड हुन्छ।
यससँगै छठ पहाडतिर पनि मनाउन थालिएको सिद्धार्थ इन्टरनेसनल क्याम्पसकी प्राचार्य डा.सुष्मा तिवारी बताउँछिन्।
‘पहिले पनि तराईमा छठ एकदमै लोकप्रिय थियो। पहिले हिन्दु धर्मालम्बीले मात्रै एक ठाउँमा गएर गर्थे। अहिले भने हरेक समुदाय, हिन्दु, मुस्लिम महिलाहरुले छठ मनाएको देख्छु। उहाँहरु सम्मानका साथ हेर्न पनि आउनुहुन्छ,’ उनले भनिन्, ‘अहिले बिस्तारै पहाडतिर पनि मनाउन थालिएको छ।’
छठ मूलतः सूर्यको उपासना हो। डा. तिवारीका अनुसार ऋग्वेद, रामायण, महाभारत जस्ता ग्रन्थहरुमा समेत सूर्यको प्रार्थनाबारे उल्लेख छ। सोहीकारण यो पौराणिक पर्व भएको उनी बताउँछिन्।
कुनै एक देवीदेउताको पूजा नगरी प्रकृतिको उपासना हुने भएकाले पनि अन्य धर्मालम्बी छठप्रति आकर्षित भएको तिवारी बताउँछिन्।
‘सकारात्मक कुरा के छ भने हरेक धर्मालम्बीका मानिसहरु एक ठाउँमा जम्मा भएर मनाइरहेका छन्, अझ नयाँ पुस्ता पनि छठको घाट बनाउने, शृंगार गर्ने, व्रतालुहरुलाई सहयोग गर्ने कार्यहरुमा संग्लन हुँदा एकदमै सामाजिक सहिष्णुता देख्न पाइन्छ,’ तिवारी भन्छिन्।
पत्रकार तथा लेखक चन्द्रकिशोरका अनुसार छठपर्वका अवसरमा पहिले राष्ट्रपति, प्रधानमन्त्री तथा दलका नेताहरुले समेत शुभकामना दिँदैनथे। तर, यो चाडले व्यापकता पाएसँगै छुट्टी दिन थालिएको र सबैले शुभकामना पनि दिने गरेका छन्।
‘सञ्चार बढ्दै गयो। एक क्षेत्रबाट अर्को क्षेत्रमा आवागमन बढ्दै गयो। यस पर्वको समानता, समावेशीको सन्देशले अन्य वर्ग, समुदायका मानिसहरुलाई आकर्षित गर्यो। आस्था बढायो,’ चन्द्रकिशोर भन्छन्, ‘पारम्परिक रुपमा जहाँका मानिसहरु यो पर्व मनाउँथे, त्यहाँका मानिसहरु रोजगारी, अध्ययनका सिलसिलामा विश्वभर छरिए। उनीहरुसँग सम्पर्कमा आएकाहरु पनि यो पर्वबाट प्रभावित भए र मनाउन थाले।’
कसरी मनाइन्छ छठ?
व्रतालुले कात्तिक शुक्ल तृतीयाका दिन ‘अरबा–अरबाइन’ विधिसँगै छठ प्रारम्भ गर्छन्। सामान्यतया कात्तिक शुक्ल चौथीका दिन ‘नहाय–खाय’ विधिबाट पर्व सुुरु हुन्छ। व्रतालुले पर्व सुरु हुनु एक दिनपूर्व नै उसिना चामल, कोदो, माछा–मासु, मुसुरोसहितका धार्मिक अनुष्ठानका लागि अशुुद्ध मानिएका खाद्यवस्तु खान छाड्छन्। यो विधिलाई अरबा–अरबाइन भनिन्छ।
कात्तिक शुक्ल तृतीयाबाट अरबा–अरबाइन गरेका व्रतालुले चौथी तिथिमा नहाय–खा’ (पवित्र स्नान गरेर शुुद्ध खानेकुरा खाइने), पञ्चमी तिथिका दिन राति एक छाक मात्र खानेकुरा खाएर ‘खरना’ विधि सम्पन्न गर्छन्। पर्वको मुख्य दिन षष्ठी तिथिमा निराहार व्रत बसेर साँझपख पवित्र जलाशयमा गई अस्ताउँदो सूर्यलाई अर्घ्य दिइन्छ। यो अर्घ्यलाई मैथिल परम्पराको बोलीचालीमा ‘सझुका अरख’ र ‘सझिँया–घाट’ पनि भनिन्छ।
सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यो पर्व समापन गरिने परम्परा छ। बिहानको यो अर्घ्यलाई ‘भोरका अरख’ भनिन्छ। सामान्यतया हिन्दु परम्परामा पाञ्चायन (पञ्च देवता गणेश, विष्णु, शिव, सूर्य र काली) पुज्दा उदाउँदा सूर्यको सम्झना गरेर उपासना गरिने परम्परा भए पनि छठमा भने अस्ताउँदो सूर्यलाई अग्र (पहिलो) अर्घ्य दिइन्छ।
षष्ठी तिथिका दिन साँझ सझुका अरख दिइएसँगै सप्तमीका दिन बिहान भोरका अरख दिउञ्जेल व्रतालुले सूर्यको महत्ता र ‘छठी माई’को पुकारा गर्दै गीत गाएर यो पर्व मनाउने गरेका छन्। उपासकको इच्छित माग पूर्ति गर्ने भगवान् सूर्यको उपासनाले सन्तान सुुुख र रोगव्याधि नलाग्ने हिन्दु–मैथिल जनविश्वास छ। यस पर्वमा सूर्यसँगै माताका रूपमा आराधना गरिने षष्ठी तिथिको महत्ता गाइने हुनाले पर्वको नाम नै ‘छठ’ भनिएको मानिँदै आएको छ।
खासमा ‘षष्ठी’ तिथिकै स्मरण मैथिल जनजिब्रोले ‘छठी’ गर्न थालेकाले सूर्यकी पत्नी मानिने षष्ठीको आराधना सूर्यसँगै गरिएको भनाइ छ। सूर्यकै उपासना व्रतको अभिष्ट भए पनि षष्ठी (छठी)को पुकारा गर्दा सूर्य चाँडै प्रसन्न हुने विश्वासले पर्वमा गाइने गीतमा छठी माईको प्रसङ्ग हुनेगर्छ।
यसैगरी पर्वबारे द्वापरकालीन जनश्रुति पनि चर्चा हुने गर्छ। मैथिल परम्पराका ज्ञाता पण्डित महेशकुमार झाका अनुसार द्वापर युगमा भगवान् श्रीकृष्णका छोरा साम्बलाई कुष्ठरोग हुँदा पिता श्रीकृष्णको प्रेरणाले सूर्यको उपासनाबाट रोग निको भएपछि यो व्रतको परम्परा सुुरु भएको विश्वास गरिन्छ।
पर्वमा श्रद्धा र निष्ठाको निकै ख्याल गरिन्छ। अर्घ्य दिने पूजा सामग्रीमा बनाइने ठकुवा, भुसुवासहितका मिष्ठान्न परिकार ढिकी–जाँतोमा कुटिएको, पिसिएको पिठोबाटै तयार गरिन्छ। पर्वमा अर्घ्य दिने पवित्र जलाशय किनारमा चित्ताकर्षक घाट बनाइने र सरसफाइ गरिने कामलाई महत्वका साथ लिने गरिएको छ।
कम्तीमा दुई दिन विदा
चार दिनसम्म महिलाहरु कठोर व्रत बसेर पर्व मनाउने भएपनि सरकारले भने एक दिन मात्रै विदा दिने गरेको छ। त्यसप्रति डा. तिवारीको गुनासो छ।
‘चार दिन मनाइने छठ कठोर व्रत हो। खाने, बस्ने, सुत्ने कुरामा अनुसासनको पालना गरिन्छ,’ उनले भनिन्, ‘सरकारले एक दिन मात्रै विदा दिन्छ। दसैंमा १० दिनसम्म विदा पाइने तर छठमा एक दिन मात्रै विदा दिने उचित भएन। ३६ घण्टाको व्रत बसेर एक दिन मात्रै विदामा बसेर म अफिस जान सक्दिनँ। त्यही भएर कम्तीमा दुई दिन छुट्टी दिनुपर्छ भन्ने मेरो मान्यता छ।’
Shares
प्रतिक्रिया