ad ad

समाज


बिदा बसेर ‘झमेलाबाट जोगिएका’ सर्वोच्चका ४ न्यायाधीश कहिले फर्किन्छन्?

बिदा बसेर ‘झमेलाबाट जोगिएका’ सर्वोच्चका ४ न्यायाधीश कहिले फर्किन्छन्?

उजिर कार्की
कात्तिक १२, २०७८ शुक्रबार २१:१७, काठमाडौँ

दसैँदेखि नै बिदामा रहेका न्यायाधीश कुमार चुडाल काममा फर्किंदा सर्वोच्चका सबै न्यायाधीश प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध आन्दोलनमा थिए। हाजिर भएलगत्तै चुडाल पनि त्यही कित्तामा उभिए। 

उनी फर्किएसँगै प्रधानन्यायाधीशविरुद्धको आन्दोलनमा १५ न्यायाधीश भए। सर्वोच्चमा प्रधानन्यायाधीशबाहेक १९ न्यायाधीश छन्। यीमध्ये चार जना बिदामा छन्। 

उनीहरु फर्किंदा पनि सर्वोच्चको आन्दोलन रोकिने छाँट छैन। त्यही भएर न्यायालयभित्र चासो छ– बिदामा भएका न्यायाधीशहरु फर्किएपछि कता लाग्लान्?

न्यायाधीश ईश्वरप्रसाद खतिवडा, अनिलकुमार सिन्हा, सपना मल्ल प्रधान र तेजबहादुर केसी आन्दोलन सुरु हुनु पहिलेबाटै बिदामा थिए। नहकुल सुवेदी पनि अहिले बिदामा छन्। तर उनी यसअघि नै प्रधानन्यायाधीशविरुद्ध खुलिसकेका छन्। 

सुवेदी हाल आफन्तको उपचारका लागि दिल्लीमा छन्। अन्य चार न्यायाधीशमध्ये दुई जना आइतबारबाट सर्वोच्चमा उपस्थित हुने तय छ। सर्वोच्च अदालत प्रशासनका अनुसार न्यायाधीश सिन्हा र मल्लले शनिबारसम्म मात्रै बिदा लिएका छन्। 

आइतबार अदालत फर्किएपछि उनीहरुले सुनुवाइ गर्लान् कि इजलास बहिष्कारमा सामेल होलान्?

हाल बहिष्कार गरिरहेका न्यायाधीशहरुले पनि उनीहरुसँग आइतबार छलफल गर्ने बताएका छन्। त्यसपछि थप रणनीति बनाउने शुक्रबारको निष्कर्ष रहेको एक न्यायाधीशले जानकारी दिए। 

न्यायाधीश ईश्वरप्रसाद खतिवडा मंसिर १६ सम्मको बिदामा छन्। उनी त्यतिञ्जेलको बिदा स्वीकृत गराएर अमेरिका गएको सर्वोच्चले जनाएको छ। अर्का न्यायाधीश तेजबहादुर केसी पनि तत्काल फर्किने छैनन्। उनले पनि तिहारसम्मको बिदा लिएका छन्। सुरक्षा स्रोतका अनुसार उनी बुटवलमा छन्। तिहारपछि मात्रै सर्वोच्च हाजिर हुने उनको योजना छ। 

बिदामा भएका न्यायाधीशहरु यो झमेलाबाट अलग छन्। 

सर्वोच्चमा अहिले कुनै पनि रिटको सुनुवाइ भएको छैन। बुधबार आफ्नो एकल इजलासमा सुनुवाई गरेका प्रधानन्यायाधीशले पनि त्यसपछि मुद्दा हेर्न सकेका छैनन्। उनले शुक्रबार संयुक्त इजलास तोकेका थिए। तर, न्यायाधीश कुमार चुडाल इजलासमा गएनन्। त्यसकारण उनको पनि इजलास बस्न सकेन।

केही न्यायाधीश बन्दी प्रत्यक्षीकरणका रिट हेर्नुपर्ने पक्षमा
सर्वोच्च अदालतमा इजलास बहिष्कार गरिरहेका न्यायाधीशबीच बन्दीप्रत्यक्षीकरणका रिटको सुनुवाइ गर्ने कि भन्ने छलफल भएको छ। शुक्रबार छलफल भए पनि निर्णय भने भइसकेको छैन। 

अत्यावश्यक रिट भएकाले हेर्नु पर्ने पक्षमा केही न्यायाधीश छन्। तर, केही न्यायाधीश भने इजलास सुरु भए आन्दोलन कमजोर हुने भएकाले ठप्प पार्नु पर्ने पक्षमा उभिएका छन्। यस्तै केही प्राविधिक जटिलता पनि रहेकोले के गर्ने भन्ने विषयमा निर्णय हुन नसकेको एक न्यायाधीशले नेपालखबरलाई बताए।

उनीहरुले यो विषयमा पनि सिन्हा र मल्ल आएपछि मात्रै निर्णय लिने भएका छन्। 

बन्दी प्रत्यक्षीकरणको रिट नहेर्दा न्यायाधीशको आलोचना भइरहेको छ। यस्ता रिट दसैँ बिदामा पनि हेरिन्छ। कोरोना संक्रमणको जोखिमका कारण अन्य रिटको सुनुवाइ नहुँदा पनि यी रिटमा भने सुनुवाइ हुँदै आएको थियो। 

तर, अहिले न्यायाधीश इजलासमै नजाँदा कुनै पनि रिटमा सुनुवाइ भएको छैन। 

प्रधानन्यायाधीशलाई ५ दिनभित्रमा राजीनामा दिन अल्टिमेटम दिएको नेपाल बारले पनि बन्दी प्रत्यक्षीकरणको रिटको बारेमा भने केही बोलेको छैन। बारले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई इजलासमा नबस्न र कुनै रिटको सुनुवाइ नगर्न भनेको छ। 

चार दिनसम्म कालोपट्टी बाँधेर आन्दोलन गर्ने निर्णय गरेको बारले सर्वोच्च परिसरमै विरोध सभा समेत गर्ने भएको छ। आन्दोलन तथा प्रदर्शन गर्न यो निषेधित क्षेत्र हो। 

तिहार बिदापहिले पनि प्रधानन्यायाधीशले राजीनामा नदिए तिहारपछि थप आन्दोलन घोषणा गर्ने नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले बताए। 

रिटबाट पनि जोगिए
प्रधानन्यायाधीशको राजीनामा माग गर्दै इजलास बहिष्कार गरेका १५ न्यायाधीशविरुद्ध तीन वटा रिट शुक्रबार सर्वोच्चमा पेस भएका छन्। ती रिटमा पनि बिदामा भएका चार न्यायाधीशलाई भने विपक्षी बनाइएको छैन। 

बिदामा हुँदा उनीहरु जोगिएका छन्। तर बिदा सकेर आइतबार दुई जना न्यायाधीश हाजिर हुने सम्भावना छ। उनीहरुले अहिलेसम्म बिदा थप गरेका छैनन्।

यस्तै सर्वोच्चले पनि रिट दर्ता गर्ने कि नगर्ने भन्ने आइतबार मात्रै टुंगो लगाउँदैछ। रिट दर्ता भए पनि इजलास नै नचल्दा सुनुवाइ भने तत्काल हुने सम्भावना छैन। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .