ad ad

समाज


जब नेता बोल्न थाल्थे, बाढीपीडित उनी मोबाइल निकाल्थिन् र भिडिओ खिच्थिन्

जब नेता बोल्न थाल्थे, बाढीपीडित उनी मोबाइल निकाल्थिन् र भिडिओ खिच्थिन्

मंगलबार महेन्द्रनगरमा आयोजित विपदसम्बन्धी कार्यक्रममा नेताले बोलेको कुरा मोबाइलमा भिडिओ खिच्दै भीमदत्त नगरपालिका–९, मसेट्टीकी ६५ वर्षीया दीर्घमती खड्का।


गोकुल जोशी
कात्तिक १०, २०७८ बुधबार १५:५५, काठमाडौँ

मंगलबार कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा विपदसम्बन्धी कार्यक्रम भइरहेको थियो। जसमा विभिन्न राजनीतिक दलका नेता, जनप्रतिनिधि र बाढीपीडित सहभागी थिए।

कार्यक्रममा भीमदत्त नगरपालिका–९, मसेट्टीकी ६५ वर्षीया दीर्घमती खड्का पनि थिइन्। जो गत साता आएको महाकाली बाढीबाट पीडितमध्ये एक हुन्। 

परम्परागत पहिरनमा सजिएकी उनमा सबैको ध्यान खिचिएको थियो। 

सांसद, मेयर तथा दलका नेता बोल्न थालेपछि उनी आफ्नो सानो झोलाबाट मोबाइल निकाल्थिन्। र, भिडिओ खिच्थिन्। ​

बाढीपीडितलाई जनप्रतिनिधि र नेताले दिएका आश्वासन भोलिका दिनमा देखाउन भिडिओ खिचेर राखेको उनले बताइन्। 

‘अहिले हामी यस्तो गर्छाैं,  उस्तो गर्छाैं भनेर भनेका छन्। भोलिका दिनमा ती कुरा पूरा हुन्छन् कि हुँदैनन् ठेगान छैन’, दीर्घमतीले नेपालखबरसँग भनिन्, ‘त्यसैले उनीहरूले गरेको वाचाको भिडिओ बनाइरहेकी छु।’

उनको छेउमै थिए– मसेट्टीकै ३५ वर्षीय लक्ष्मण सिंह नायक। विपदसम्बन्धी कार्यक्रम छ भन्ने जानकारी पाएपछि आफ्ना पीडा पोख्न मंगलबार मसेट्टीबाट ७ जना  महेन्द्रनगर झरेका थिए।

सोमबार बेलुका भीमदत्त नगरपालिका–९ का वडाध्यक्ष राम नाथले उनीहरूलाई कार्यक्रमबारे जानकारी गराउँदै त्यसमा सहभागी भएर आफ्ना समस्या राख्न सल्लाह दिएका थिए। 

मनसुनपछिको भारी वर्षाले उर्लिएको महाकाली नदीको बाढी गाउँ पस्दा मसेट्टीका ९ परिवार बिचल्लीमा परेका हुन्। 

घर, खेती गर्ने जमीन, खाद्यान्न, लत्ताकपडा सबै बाढीले बगायो। मसेट्टीवासीले ज्यान मात्रै जोगाउन सके। 

तराईको जिल्ला कञ्चनपुरको सबैभन्दा विकट ठाउँ हुन्– भीमदत्त नगरपालिका–९ मा पर्ने खल्ला, मसेट्टी र टुँडिखेल। यहाँको भौगोलिक बनावट ठ्याक्कै पहाडी भेगको जस्तै छ।

चुरे पर्वत शृंखलामा पर्ने महाकाली नदीकिनारका यी बस्ती बाढीको चपेटामा परे। त्यही पीडा मंगलबार महेन्द्रनगरमा आयोजित विपदसम्बन्धी कार्यक्रमा सुनाउँदै थिए, स्थानीय। 

बाढीले गाउँसम्म पुगेको बाटो बिगारेको छ। अहिले त्यहाँ गाडी जान सकेका छैनन्। यसैले त्यस दिन मसेट्टीका लक्ष्मणसिंह, दीर्घमतीसँगै धनबहादुर खड्का, देवसिंह खड्का, विमला बम, किसन चन्द र हरिश साउद ‘गाउँका गुनासा’ सुनाउन हिँडेरै ब्रह्मदेव बजार पुगे। 

‘बिहान खाना नखाएरै साढे ६ बजे घरबाट हिडेका हौं। तीन घण्टा हिँडेर ब्रह्मदेव पुग्यौं’, लक्ष्मणले भने, ‘त्यसपछि त्यहाँबाट अटो चढ्यौं र महेन्द्रनगर पुग्यौं।’

उनीहरू पुग्दा कार्यक्रम सुरु भइसकेको थियो। त्यसैले पछाडिको ढोकाबाट सुटुक्क कार्यक्रमस्थल छिरे। 

‘घर र खेती बाली सबै बाढीले बगाएको छ। बस्ने ठाउँ नै रहेन। दशकपछि पुगेको गाउँको बिजुली, टेलिफोन सेवा पनि बन्द हुँदा झनै समस्या भएको छ’, लक्ष्मणले भने, ‘नेता, जनप्रतिनिधि ठूला मान्छेलाई गुनासा राख्न आएका हौं। केही गर्छन कि भनेर, तर आश्वासन मात्रै दिएका छन्।’

बाढीले गर्दा भीमदत्त नगरपालिका–९ को खल्ला, मसेट्टी र टुँडिखेलको सडक र सञ्चार र सञ्जाल टुटेको छ। विद्युत् नहुँदा स्थानीय बासिन्दा अन्धकारमा बस्न बाध्य छन्।

‘नेताहरू गर्छौं त भन्छन्, तर अहिलेसम्म कसैले केही गरेका छैनन्। साँझ–बिहान दुईछाक टार्न समस्या भएको छ। इष्टमित्रको घरमा आश्रय लिएर बस्नुपरेको छ’, स्थानीय धनबहादुर खड्काले भने, ‘समस्याहरू सुनाएका छौं। यो कार्यक्रममा पनि आश्वासन मात्रै पायौं। अब रित्तो हात घर फर्किनुपर्छ।’

आश्वासन होइन, तत्काल समस्या समाधान गर्नुपर्ने उनले बताए। 

भीमदत्त नगरपालिकाको वडा नम्बर ९ बाढीले निकै प्रभावित भएकाले यसको दीर्घकालीन समाधान खोजिनुपर्ने वडाध्यक्ष राम नाथले बताए। बाँध बनाएर मात्रै बस्तीमा बाढीको जोखिम कम नहुने उनको भनाइ छ। 

‘बाँध निर्माणका लागि अर्बौं बजेट आवश्यक पर्छ। यसले पनि बस्ती जोखिममुक्त हुन सक्दैन’, वडाध्यक्ष नाथले भने, ‘बस्ती नै स्थानान्तरण गर्नुपर्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .