ad ad

समाज


बाढीपीडित कुतियाकबरवासीको गुनासो: बरु भारतले सहयोग गर्छ, नेपालले फर्केर हेरेन

बाढीपीडित कुतियाकबरवासीको गुनासो: बरु भारतले सहयोग गर्छ, नेपालले फर्केर हेरेन

गोकुल जोशी
कात्तिक ९, २०७८ मंगलबार १२:१०, काठमाडौँ

बाढीप्रभावित दोधारा–चाँदनी नगरपालिका–१०, कुतियाकबरका बासिन्दा अझै सामान्य अवस्थामा फर्किन सकेका छैनन्। बर्सेनि प्राकृतिक विपत्तिको पीडा खेप्ने कुतियाकबरवासीलाई यसपटक झन् ठूलो बज्रपात प¥यो। 

महाकाली र जोगबुढा नदी गाउँ पसेपछि खेत तथा घर दुवै ठाउँका अन्नबाली, लत्ताकपडा, पशुचौपाया सबै क्षति भएका छन्। 

मनसुनपछिको भारी वर्षाका कारण कञ्चनपुरको सबैभन्दा प्रभावित ठाउँ हो– कुतियाकबर। यस गाउँलाई महाकाली नदी र जोगबूढा नदीले घेरेको छ।

यो भारतसँग जोडिएको सीमावर्ती नेपाली गाउँ हो। यहाँ ४ सयभन्दा बढी व्यक्तिको बसोबास छ। जो सीमामा देश रक्षक बनेर बसेका छन्। हतियार, बर्दीबिना मातृभूमिको रक्षा गरिरहेका छन्। तर सीमाका पहरेदार कुतियाकबरवासीको पीडामा मलम लगाउने कोही छैन। 

अहिलेसम्म त्यहाँ न कुनै राजनीतिक दलका नेता पुगेका छन्, न जनप्रतिनिधि। बाढीमा सर्वस्व गुमाएका उनीहरूले अहिलेसम्म कुनै किसिमको राहत पाएका छैनन्। पाएका छन् त केवल आश्वासन मात्रै। 

पीडाको अवस्थामा बरु छिमेकी मुलुक भारत नै कुतियाकबरवासीका लागि सहयोगी बनेको छ। विपत्तिमा रहेको कुतियाकबरवासीले देशमा सरकार छ कि छैन, महसुस गर्न पाएका छैनन्।

स्थानीय टेकबहादुर सुनार सीमावासीको पीडा सरकारले नसुनेको गुनासो गर्छन्। 

‘हाम्रो पीडा सरकारले कहिल्यै सुनेन। सुगम सुगम ठाउँमा नेताहरू निरीक्षण गर्छन्, तर अहिलेसम्म यो ठाउँमा कोही आएका छैनन्’, उनले भने, ‘जनप्रतिनिधि र नेताहरूलाई चुनावका बेला मात्रै यहाँ पनि मानिस बस्छन् भन्ने थाहा हुन्छ।’

प्रधानमन्त्री शेरबहादुर देउवा आएर आश्वासन मात्रै दिएर गएको उनको टिप्पणी छ। 

‘हाम्रो समस्या नै सुन्नु भएन। चर्का भाषण गरेर नेताहरू आश्वासन मात्रै दिन्छन्’, उनले भने, ‘तर अहिलेसम्म हाम्रा लागि कसैले केही गरेको छैन। सीमामा मातृभूमिको रक्षा गरेर बसेका हामीलाई जनता जस्तै ठानेका छैनन्।’

नेपाल सरकारभन्दा भारतले आफूहरूलाई सहयोग गरिरहेको उनको भनाइ छ। 

‘भारतका सरदारहरू आएर लत्ताकपडा दिएका छन्। बिहान–बेलुका खाना खुवाएका छन्’, उनले भने, ‘तर सरकार बेखबर छ। हाम्रो समस्या बुझेकै छैन।’

एक हप्ताअघि आएको बाढीका कारण गाउँ पूरै अस्तव्यस्त भएको छ। स्थानीय बासिन्दा भारी मनका साथ बाढीग्रस्त बस्तीलाई बस्न मिल्ने बनाउँदै छन्।

कोही बाढीले ल्याएका झारपात, ढुंगामुढा फाल्दै छन् त कोही घरभित्र बचेका सामान सफा गर्दै छन्। गाउँका धेरैजसो परिवार स्थानीय अम्बिका माध्यमिक विद्यालयमा आश्रय लिएर बसेका छन्।

बिहानदेखि बेलुकासम्म भने सबै जना बाढीग्रस्त गाउँमै घर कुर्न बस्छन्। जब रात पर्छ, तब धेरैजसो बास बस्न विद्यालय आउँछन्। कोही भने बाढीग्रस्त गाउँमै रात बिताउँछन्। 

बाढीले खेतीयोग्य जमीन बगरमा परिणत गरेको छ। 

‘परबल, बेसार खेती गरेर परिवार पालेका थियौँ। बाढीले सबै बगरमा परिणत भएको छ’, स्थानीय लालबहादुर खड्काले दुःखेसो पोखे, ‘अब खेती गर्न मिल्ने अवस्था नै छैन, के गरेर गुजारा चलाउने!’

कुतियाकबरवासीले परबल, बेसार तथा तरकारी खेती गर्ने गरेका थिए। त्यहाँ उत्पादित तरकारी महेन्द्रनगरदेखि भारतसम्म बजारमा बिक्री गर्ने गरिएको थियो। तर बाढीले कमाइको मुख्य स्रोत नै खोसेपछि स्थानीय बासिन्दा बिचल्लीमा परेका हुन्। 

बर्सेनि बाढीको समस्या भोग्नुपर्ने हुनाले यसको दीर्घकालिन समाधान खोजिनुपर्ने स्थानीय खड्के बुढा बताउँछन्। 

‘तटबन्ध हुँदाहुँदै पनि प्रत्येक वर्ष महाकाली गाउँ पस्छ। हामीले मचान घर बनाउन माग गरेका थियौँ। मचान घर भयो भने बाढीका बेला सुरक्षित रहन सकिन्थ्यो’, उनले भने, ‘हाम्रो बस्तीलाई स्थानान्तरण गर्नुपर्छ। नत्र कुन दिन बाढीले मरिन्छ, ठेगान छैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .