ad ad

समाज


महाकालीको बाढीले २० परिवारको बिचल्ली, ‘४ दिनदेखि भोकभोकै’

महाकालीको बाढीले २० परिवारको बिचल्ली, ‘४ दिनदेखि भोकभोकै’

गोकुल जोशी
कात्तिक ४, २०७८ बिहिबार ९:३, काठमाडौँ

कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ स्थित महाकाली नदी किनारको ऐरी बस्ती जलमग्न छ। तीन दिनदेखि जारी वर्षा बुधबार बिहानैदेखि रोकिए पनि ऐरीको विष्णुटोल अझै ओभाएको छैन। 

बाढीले त्यहाँको जनजीवन अस्तव्यस्त पारेको छ। बस्तीका ससाना झुप्राभित्र पानी पसेको छ र बस्ती हिलाम्मे छ। 

बस्ती जोड्ने बाटोमा पानी नै पानी भएकाले स्थानीय बासिन्दा  ट्युबको सहायताले ओहोरदोहार गरिरहेका छन्। 

घरभित्रका राखिएका अन्न, लत्ताकपडा बाढीले बगाएको छ। वष्णुटोलवासी यतिबेला बाढीले क्षतिग्रस्त घर मर्मतसम्भारमा व्यस्त छन्। कोही घरभित्रको लेदो बाहिर निकाल्दै छन् त कोही अन्न, लत्ताकपडा खोजिरहेका छन्। 

बस्तीमा कोही आउनासाथ राहत पाउने आशामा उनीहरू काम छाडेर भेला हुन थाल्छन्। 

स्थानीय सुस्मिता केसी बाढीले घरभित्र ल्याएको लेदा सफा गरिरहेकी थिइन्। विष्णुटोलमा जस्ताले छाएको सानो घर छ, उनको। 

मजदुरी गरेर जीविकोपार्जन गर्छिन्। तीन/चार दिनदेखि उनले न राम्रोसँग खान पाएकी छन्, न सुत्न। बाढी घरभित्र पस्दा अन्नपात, लत्ताकपडा बर्बाद भएको उनले सुनाइन्। 

‘रासन, लत्ताकपडा, भाँडाकुडा बाढीले बगाएको छ। घरभित्र पूरै लेदो लेदा भरिएको छ’, उनले नेपालखबरसँग भनिन्, ‘३/४ दिनदेखि राम्रोसँग सुत्न र खान पाइएको छैन।’

बाढीले गर्दा आफूहरू बिचल्लीमा परेको उनले बताइन्। 

‘बाढीले हाम्रो बिचल्ली नै गरेको छ’, उनले दुखेसो पोखिन्, ‘अब कहाँ बस्ने, के खाने!’

६५ वर्षीया हेमादेवी केसी आफू बस्ने झुप्रो हेर्दै भक्कानिँदै थिइन्। उनको झुप्रो घर पानीले गलेर बाङ्गो भएको छ। हेमा २०/३० वर्षदेखि एक्लै त्यही झुप्रोमा बस्छिन्। 

उनको सहारा कोही छैन। छोरा भारतमा छन्। तर अहिलेसम्म हेमासँग उनी सम्पर्कमा छैनन्। बाढी गाउँमा पसेपछि प्रहरीले उनको उद्धार गरेको थियो।​

हेमा पानी रोकिएपछि बिहानैदेखि बस्तीमै छिन्। उनी दिनभर क्षतिग्रस्त झुप्रो हेर्छिन् र बेलुका सुत्न नजिकैको विद्यालयमा जान्छिन्।

‘मागेर चामल, पिठोको जोहो गरेको थिएँ, घरभित्र बाढी पस्दा सबै नष्ट भए’, उनले दुःख सुनाइन्, ‘घरभित्र बस्न सक्ने अवस्था छैन, अब के गर्नु, कहाँ जानु!’

बाढीले घरभित्रको सबै खाद्यान्न बगाएपछि भोकभोकै रात काट्नुपरेको उनले बताइन्। 

‘४ दिनदेखि भोकभोकै छु’, उनले भनिन्, ‘विद्यालयमा चाउचाउ, चिउरा दिएको थियो। त्यो चपाएर खानै सकिनँ।’ 

विष्णुटोलकै बासिन्दा ६० वर्षीय पुरन मल्लको ६ सदस्यीय परिवार छ।

उनका बुबा सुर्खेतबाट २०२२ सालमा यहाँ बसाइँ सरेका हुन्। 

उनी आइतबार राति परिवारसँग घरभित्र बसिरहेका थिए। अचानक महाकाली नदीको बाढी गाउँ पस्यो। भागेर ज्यान जोगाएको उनी बताउँछन्।  

‘भुजेला खोला र महाकालीको बाढी गाउँ पसेपछि ज्यान जोगाउनै मुस्किल परेको थियो’, उनले सुनाए, ‘घरभित्र सामान यस्तै छोडेर भागेर ज्यान जोगायौं।’

यस गाउँमा बसेदेखि अहिलेसम्म यस्तो बाढी नदेखेको उनले बताए। 

‘यहाँ बसेको ५६ वर्ष हुन थाल्यो। बाढी, डुबानको समस्या बर्सेनि झेल्दै आएका छौं’, उनले भने, ‘तर अहिलेसम्म यस्तो कहिल्यै देखेनौं।’

उनका अनुसार बाढीले खेती गर्ने जमिन पनि बगरमा परिणत भएको छ।

अनिता डगौंरा, पुरनकी छिमेकी हुन्। उनले कुखुरा पालन गरेकी थिइन्। तर बाढीले सबै कुखुरा बगाएको छ। 

‘भएभरको सम्पत्ति बाढीले बगायो। घर बालुवाले भरिएको छ’, उनले भनिन्, ‘नेताहरू निरीक्षणमा आए, आश्वासन दिए तर राहत केही दिएका छैनन्।’

बाढी प्रभावित महाकाली तटीय क्षेत्रको भीमदत्त नगरपालिका–१२ को विष्णुटोल प्रमुख बस्ती हो।

यहाँका २० परिवार अहिले पूर्णा माध्यमिक विद्यालयमा आश्रय लिइरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .