कास्कीको घान्द्रुक दुर्घटनामा ज्यान गुमाउने २४ वर्षीया सुजा बिएस्ससी नर्सिङ हुन् भने २० वर्षीया लिजा चौधरी बीडीएसकी विद्यार्थी। उनीहरु दुवैको साइनो यत्तिमै सीमित हुँदैन। दुवैजना एकैघरका दिदीबहिनी हुन्।
बिदामा घान्द्रुक घुम्न निस्केका दुवैले सोमबार जिप दुर्घटनामा ज्यान गुमाए। आमा पार्वती चौधरी क्यान्सरकी बिरामी! हुर्केका छोरी गुमाउँदाको पीडा कस्तो होला?
छोरीको शव राखिएको गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान अर्थात् गण्डकी अस्पताल आइपुगेकी उनी बेस्मारी भक्कानिइन्। भगवानसँग छोरीहरुको जीवन दान मागिन्। आफूलाई उपचार गर्ने दुई छोरी नै भएको बताइन्। सुजा र लिजामात्रै सन्तान हुन्।
यता, दुर्घटनामा परेकी गोंगबुकै २० वर्षीया देविका घिसिङ भने सामान्य घाइते भइन्। दुर्घटना हुँदा उछिट्टिएर भिरमा अड्केकी उनको बायाँ हात र नाकमा सामान्य चोट लागेको छ। उनलाई स्थानीयले उद्दार गरेका थिए।
उनी त बाँचिन तर सँगै यात्रामा रहेका जिनलव घिसिङ यो संसारमा छैनन्। भाइले सास छाडेको उनलाई पत्तो पनि छैन। आफन्तको रुवाबासीबीच उनी भाव विह्वलजस्तो देखिन्छिन्।
कास्कीको घान्द्रुक दुर्घटनामा परी मृत्यु हुनेहरु काठमाडौं गोंगबुका हुन्। उनीहरु पारिवारिक स्वीकृतिमै पोखरा हुँदै घान्द्रुक यात्रामा निस्केका थिए।
कास्कीको अन्नपूर्ण गाउँपालिका नयाँपुल पुगेपछि उनीहरुले ग १ज ६९०० नम्बरको बोलेरो जिप भाडामा लिए। घान्द्रुक जाने बाटो त्यति सजिलो छैन भला बाटो पिच हुने क्रममा छ।
उकालो भीरको यात्रा गरिरहँदा कलाभीरनेर बाटो ढलान हुँदै थियो। बिस्तारै उकालो लागेको गाडीले उकालो काट्न सकेन। गाडी पछाडि स¥यो, भिरबाट खस्यो र डरलाग्दो दुर्घटना हुन पुग्यो।
दुर्घटनामा जिप चालक कास्कीको अन्नपूर्ण गाउँपालिका ५ घर भइ हाल नयाँ पुल बस्ने ४२ वर्षीय खुसीमान क्षेत्रीसहित १८ वर्षीय जिनलव घिसिङ, २४ वर्षीया सुजा चौधरी, २० वर्षीया लिजा चौधरी,२० वर्षकै सुमन चौधरी,२२ को अछुतम काफ्ले, १८ वर्षीय आशिष आले, गोरखा घर भइ गोंगबु बस्ने २७ वर्षीय विनय क्षेत्रीको निधन भयो। उनीहरुको शव पोखराको गण्डकी अस्पतालमा पोस्टमार्टमपछि आफन्तको जिम्मा लगाइँदै छ।
Shares
प्रतिक्रिया