आफ्नै श्रीमतीलाई भारतमा लगेर बेचेको अभियोगमा दुई जना पक्राउ परेका छन्। नुवाकोटकी एक महिलालाई भारतको कोठीमा पुर्याउने नुवाकोट दुप्चेश्वर गाउँपालिका १ का पासाङ तामाङ र ती महिलाका पहिलो पति पक्राउ परेका हुन्।
१९ वर्षपहिले ती महिलाको प्रेम विवाह भएको थियो। सुरुमा उनीहरुको सम्बन्ध राम्रो थियो।
उनीहरुका ५ जना सन्तान पनि भए। कान्छो छोरो ४ वर्षको भएपछि उनीहरुको सम्बन्ध बिग्रिन थाल्यो। श्रीमानले घरको हेरचाह गर्न छाडे। उनी श्रीमानसँग दिक्क भइसकेकी थिइन्।
महिलाले एक दिन सुनिन्, उनका श्रीमान् फोनमा कसैसँग भन्दै थिए, ‘मसँग एउटी कन्या केटी छ। बिहे गर्ने हो भने कुरा मिलाउँछु।’
त्यतिबेला उनले कोसँग कुरा गरे र कन्या केटी को हो भन्ने थाहा पाइनन्।
२०७१ सालको मंसिरमा नुवाकोटको दुप्चेश्वर मन्दिरमा मेला थियो। मेलामा गएको बेला ती महिलालाई पासाङ तामाङले फोन गरेर भने, ‘दाइले सबै कुरा गरिसके तपाईं र म भेटौँ।’
पासाङले भनेका दाइ ती महिलाकै श्रीमान् थिए।
ती महिला पासाङलाई भेट्न गइन्। त्यसपछि उनले थाहा पाइन्, श्रीमानले भनेको कन्या त उनी आफैँ रहिछिन्।
पासाङले उनीसँग विवाहको प्रस्ताव गरे। फकाए। उनले आफू ५ सन्तानको आमा भएको बताइन्।
‘तिमी चिन्ता नलेऊ, जे भएपनि तिमी मलाई मन पर्यो,’ पासाङले भने, ‘तिम्रो पहिलेको श्रीमानलाई जारी खर्च दिन परेछ भने पनि दिउँला।’
दुःख हुँदैन, सुखैसुखमा राख्छु भनेपछि उनले विश्वास गरिन्। पहिलेका श्रीमानसँग सम्बन्ध बिग्रिएको थियो। त्यही भएर उनी दोस्रो विवाह गर्न राजी भइन्।
भेटेकै दिन ती महिलाले पासाङसँग गइन्। उनी त्यही दिन पासाङको घर घ्याङफेदी पुगिन्। तीन दिनपछि उनीहरुको विवाह भयो। विवाह गरेको तीन दिनपछि पासाङ ती महिलालाई छाडेर काठमाडौँ आए। उनी ट्रेकिङको काम गर्थे।
त्यसको एक महिनापछि पहिलेका श्रीमान् जारी उठाउन घ्याङफेदी पुगे। पासाङ घर फर्किए र १ लाख ६० हजार रुपैयाँ जारी तिरे। जारी बुझाएर पासाङ काठमाडौं फर्किए। पासाङसँग विवाह गरेपछि उनी खुसी थिइन्। खुसीसाथ ८ महिना बिताइन्।
पासाङले एक दिन भने, ‘हाम्रो आर्थिक अवस्था कमजोर छ। अब तिमी पनि काठमाडौं आएर काम गर।’
तर, काठमाडौँ आएलगत्तै पासाङले उनलाई विभिन्न व्यक्तिको सहयोगमा भारत पुर्याए।
२०७२ भदौमा उनी काठमाडौं आइन्। बालाजु बसपार्कमा पासाङ उनलाई लिन पुगे। तर, उनले श्रीमतीलाई आफ्नो कोठामा लगेनन्। बालाजुको एउटा होटलमा राखे।
‘तिमी अब उहाँ दिदीसँगै बस्दै गर’ भनेर एक महिलासँग भेट गराए। उनी भने एकछिनमा आउँछु भनेर गएका थिए। तर, तीन दिनसम्म पनि आएनन्। मोबाइल बन्द गरे।
ती महिलाले एक व्यक्तिको घरमा काम लगाइदिने बताइन्। महिनाको १० हजार रुपैयाँ कमाइ हुन्छ भनेकी थिइन्। काम गर्न राजी भएपछि एक घण्टामै एक जना पुरुष लिन होटलमा पुगे। तीन दिन उनी ती पुरुषकै परिवारमा बसिन्।
तिनै पुरुषले यस्तो काम गर्ने मान्छेले गहना लगाउनु हुँदैन भनेर उनलाई गहना फुकाल्न लगाए। राखिदिने भनेपछि उनले गहना जिम्मा लगाइन्। केही दिनमै ती पुरुषले उनलाई नयाँ काम खोजिदिने भन्दै अर्को व्यक्तिको जिम्मा लगाए।
काममा लगाउने भनेर लिएर गएका ती व्यक्तिले उनलाई सुनौली नाका हुँदै भारत लगे। तर, उनलाई के कामका लागि कहाँ लगिँदैछ भन्ने थाहा थिएन। उनले सोध्दा ‘आधी बाटो आइसक्यौ, अब हिँड ६/७ महिना काम गर्नुपर्छ, मन परेन भने अनि घर फर्किनु’ भने।
उनलाई ती व्यक्तिले नयाँ दिल्ली पु¥याएछन्। त्यहाँ म्हेन्दो तामाङको घरमा पुर्याएर ती व्यक्तिले भने ‘अब तिमिलाई उहाँ दिदीले काममा लगाइदिनुहुन्छ।’
पछि आउँछु भनेर बिदा भएका ती व्यक्ति फर्किएनन्। म्हेन्दोले उनलाई एक पुरुषको जिम्मा लगाएर पठाइन्। उनले आगरा पुर्याए। त्यसपछि मात्रै उनले आफू कोठीमा बेचिएको थाहा पाइन्।
शरीर बेच्न नमानेको दिन उनलाई खाना दिइँदैनथ्यो। दिनमा १५ देखि २५ जनासँग यौनसम्पर्क राख्नु पथ्र्यो। एक जनासँग यौनसम्पर्क राखे वापत ३५० भारतीय रुपैयाँ साहुले पाउँथे। उनलाई भने खान बस्न बाहेक केही दिइँदैनथ्यो। यसैगरी उनको दैनिकी चलिरहेको थियो।
गत जुन १ मा भारतीय प्रहरी र क्याटलिस्ट नामक संस्था उनी बस्ने घरमा पुग्यो। उनीहरुले छापा मारेर त्यहाँ कार्यरत महिलाको उद्धार गरे।
दिल्लीस्थित नेपाली दूतावास र शक्ति समूहको पहलमा २०२१ जुन १४ मा ती महिला नेपाल फर्किन सफल भइन्।
नेपाल फर्किएपछि ती महिलाले पहिलो र दोस्रो श्रीमानविरुद्ध जाहेरी दिइन्। सोही आधारमा दुवै जनालाई मानव बेचबिखन अनुसन्धान ब्युरोले पक्राउ गरेको छ।
उनका श्रीमान् र नुवाकोट दुप्चेश्वर गाउँपालिका १ बस्ने पासाङ तामाङलाई गत बुधबार प्रहरीले पक्राउ गरेको छ।
उनीहरूउपर काठमाडौं जिल्ला अदालतबाट म्याद लिई अनुसन्धान गरिरहेको र अन्य फरार व्यक्तिको खोजी भइरहेको ब्युरोले जनाएको छ।
Shares
प्रतिक्रिया