७८ वर्षका खुरहरी दाहाल झिसमिसेमै उठेर कपनबाट पशुपति आइपुग्छन्। पशुपति किनारमा उनलाई पर्खिरहेका हुन्छन् जजमान।
‘गुरु बा के के चाहिने हो? तपाईंले भने बमोजिम नै सामग्री पुग्योपुगेन, हेर्नु त?’ उनीहरू सोध्छन्।
उनी चाहिने कुराहरूको फेरिहस्त सुनाउँछन् र छुटेका सामग्री ल्याउन आग्रह गर्छन्। अनि किनारमा बसेर सुरु गर्छन् पूजापाठ।
‘अघिल्लो वर्ष आउनुभएका जजमान मलाई खोज्दै यो वर्ष पनि आउनुहुन्छ,’ पण्डित खुरहरी भन्छन्।
सोह्र श्राद्ध सुरु भएपछि उनी निकै व्यस्त छन्। बिहान ९ बजे उनी दिनको पहिलो श्राद्ध सकेर बसिरहेका थिए।
हामीले सोध्यौं, ‘दिनमा कति वटासम्म श्राद्ध गर्नुहुन्छ?’
उनी औँला भाँच्दै गन्न थाले, ‘एक, दुई, तीन...। एकपल्ट चाहिँ पाँच ओटासम्म भ्याएँ। नत्र त कहिले चार कहिले तीन ओटा जति भ्याउने रहेछु।’
१५ दिनको हुन्छ सोह्र श्राद्ध। यजमानहरूका अनुसार विधिपूर्वक पितृलाई भोजन गराउने र ब्राह्मणलाई दान दिने कार्य नै श्राद्ध हो।
यो अवधि कर्मकाण्ड गराउने पण्डितहरूको लागि व्यस्त समय हो। पशुपति किनारनजिक लहरै उनीहरू श्राद्ध गराइरहेका देखिन्थे। उनीहरु मन्त्रोच्चारण गरिरहेका थिए।
‘पन्ध्र दिनभरि त मजस्ता धेरैलाई यहाँ भ्याइनभ्याइ हुन्छ,’ खुरहरी भन्छन्।
खुरहरीका अनुसार पितृहरूलाई पनि खानुपर्ने हुन्छ।
‘हाम्रोको वर्ष दिन पितृहरूको एक दिन हुन्छ। यो एक दिन खाएपछि उनीहरु अर्को वर्ष मात्र खान्छन्,’ उनी भन्छन्।
नियमले दिनमा एउटा मात्र जजमानी गर्नुपर्ने खुरहरीको भनाइ छ।
‘तर, जजमानहरूलाई टार्न सकिन्न। भ्याएसम्म नगरी सुखै छैन,’ उनी भन्छन्।
श्राद्ध गरेर खुरहरीले दिनमा करिब चार हजार कमाउँदा रहेछन्। पैसा र मन दुवै हुनेले कहिलेकाहीँ एकै जनाले चार हजार पनि दिने गर्छन्।
सप्तमी तिथिको दिनसम्म उनले २५ ओटा भन्दा बढी श्राद्ध सम्पन्न गरिसकेका छन्।
‘म जजमानहरूलाई खुसी बनाएर पठाउँछु, त्यसकारण उहाँहरूको अर्को पटक पनि मलाई सम्झिनुहुन्छ,’ उनी सुनाउँछन्।
अघिल्लो वर्षको सोह्रश्राद्धमा उनले ६० भन्दा बढी श्राद्ध गरेका थिए।
खुरहरी १० वर्षअघि ओखलढुंगाबाट काठमाडौँ आएका हुन्। उनले १६ वर्षको उमेरदेखि जजमानी पेसा अंगाले।
‘बुबाले जजमानी पढाउनुभयो। सानैदेखि उहाँहरूले गरेको हेर्दै गएँ, पढ्दै गएँ। अनि यही पेसा अँगालेँ,’ उनी भन्छन्।
ओखलढंगामा उनका १ सय ६५ घर जति नियमित जजमान थिए। उनले आफ्नो वैँश पुरै गाउँमै जजमानी गरेर कटाए। १० वर्षअघि अचानक उनलाई हृदयाघात भयो। त्यसपछि काठमाडौं शिक्षण अस्पतालमा उपचार गराए। निको भएपछि काठमाडौँमै बस्न थाले।
गाउँका १ सय ६५ जजमानहरूले उनको अभाव महसुस गर्ने नै भए। यता उनी पनि यसै बस्न सकेनन्। बिरामीबाट तंग्रिएपछि आफ्नो पेसा अगाडि बढाउन थाले।
‘जजमानी पेसाबाहेक म ज्योतिषकर्म पनि गर्छु। वर्षभरि नै म व्यस्त भइरहेको हुन्छु,’ उनी भन्छन्।
काठमाडौँमा कति जजमानहरू उनलाई घरमै बोलाउँछन्। तर, वृद्ध उमेरका कारण उनी घर–घर जान सक्दैनन्।
‘बरु पशुपति आयो, उनीहरू यतै आउँछन्,’ उनी भन्छन्।
खुरहरीको यो रहरको कर्म हो। उमेरले आराम गर्नु भन्छ। रहरले कर्म गर्नु भन्छ। उनी रुचिको कर्म गर्न चाहन्छन्।
‘कामै नगरी पनि मलाई नपुग्दो त होइन, छोराहरू छन्। तर यो काम नगरी म खुसी हुन सक्दिनँ,’ खुरहरी सुनाउँछन्।
Shares
प्रतिक्रिया