ad ad

समाज


कार्की परिवार हत्या : घरभित्रै भेटियो नगद र गहना

कार्की परिवार हत्या : घरभित्रै भेटियो नगद र गहना

उजिर कार्की
भदौ २२, २०७८ मंगलबार २२:७, काठमाडौँ

संखुवासभाको मादी नगरपालिका १ स्थित उम्लिङमा सामुहिक हत्या गरिएका कार्की परिवारको घरभित्रै नगद र गहना फेला परेका छन्। मंगलबार घर खानतलासी गर्नेक्रममा करिव ४ लाख रुपैयाँ नगद र केही गहना फेला परेको हो। 

‘घरभित्र रहेको बाकसमा चारलाख हाराहारी पैसा, नौगेडी, पोतेमा लगाएको सुनका गहनाहरु सुरक्षितसाथ देखिएको छ’, घटनास्थलमा रहेका अनुसन्धान अधिकृतले भने, ‘बाकसमा जसरी राखिएको थियो त्यस्तै देखिएको छ। तोडफोड केही देखिँदैन।’

झापामा जग्गा पास गर्ने तयारीमा रहेका कार्की परिवारको हत्या आर्थिक कारण गरिएको प्रहरीको प्रारम्भिक अनुमान थियो। तर घरमा नगद र गहना फेला परेपछि अन्य नै कारण हुनसक्ने तर्फ अनुसन्धान सोझिएको प्रहरी श्रोतले जनाएको छ।

अनुसन्धानका लागि संघीय प्रहरी इकाई धरानबाट एसपी भीम ढकालको नेतृत्वमा दुई वटा कुकुरसहितको टोली सोमबार नै पुगेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोबाट पनि डीएसपी रुगम कुँवरको नेतृत्वको टोली मंगलबार साँझ घटनास्थलमा पुगेको छ। जिल्ला प्रहरी प्रमुख लालध्वज सुवेदीको टोली पनि सुरुदेखि नै घटनास्थलमा छ। 

६ जनाकै शव मंगलबार पोष्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ। 

सबैजनाको टाउकोमा हथौडाले हानेर हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको डीएसपी सुवेदीले बताए। 

आइतबार राति परिवारका ८४ वर्षीया पार्वती कार्की, ५२ वर्षीय तेज बहादुर कार्की, ५२ वर्षीया कमला कार्की, ३२ वर्षीया रञ्जना कार्की, ११ वर्षीय दिपेन कार्की र ७ वर्षीया गोमा कार्कीको हत्या भएको थियो। 

घरमा भएका ९० वर्षीय वृद्ध बौद्धमान कार्की भने जोगिएका छन्। 

तेजबहादुरका दुवै छोरा विदेशमा छन्। जेठो रमेश मलेसियामा र कान्छो नरेश दुबईमा छन्। कान्छाका भने श्रीमती र छोरा पनि झापामै बस्छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .