पर्वतमा पहिरोमा परि १० जनाको मृत्यु भएको छ भने एकजना बेपत्ता भएका छन्। मृत्यु हुनेमा एकै परिवारका ५ जना भएको स्थानीय विरोधविक्रम गुरुङले जानकारी दिए। उनका अनुसार शुक्रबार कुश्मा नगरपालिका–३ दुर्लुङको पहिरोले माधव शर्माको घर पुरिँदा परिवारकै ५ जनाको मृत्यु भएको हो।
पहिरोमा उनकी ७५ वर्षकी आमा कौशिला पौडेल, श्रीमती ३५ वर्षकी भगवती, दुई छोरीहरु १६ वर्षकी बिमला र ११ वर्षकी विनिता र ९ वर्षीय छोरा विनोदको मृत्यु भएको हो।
उता, कुश्मा–११ सिल्मीमा मनिलाल पौडेलको घर पहिरोले पुर्दा पर्वतकै मोदी गाउँपालिका–७ की ३८ वर्षीया दुर्गा पौडेल र उनका ६ वर्षीय छोरा गणेशको पनि मृत्यु भएको छ। उनीहरु पाहुनाको रुपमा सो घरमा आएका थिए।
त्यस्तै, कुश्मा–११ पकुवा ताल्चेमा शुक्रबार बिहान ९ बजेतिर आएको पहिरोले घर पुर्दा ४० वर्षीया मायाकुमारी पौडेल र उनका ३ वर्षका छोरा प्रयुशको मृत्यु भएको छ भने मायाकुमारीकी सासू ७० वर्षकी डल्ली पाध्या पौडेल वेपत्ता छन्।
उता पर्वतकै मोदी गाउँपालिका–५ आम्बोटमा घरमाथिबाट आएको पहिरोले पुरिएर ५० वर्षकी फूलमाया थापाको मृत्यु भएको छ।
गतवर्ष पनि दुर्लुङ ढकालबारीमा पहिरो जाँदा ९ जनाको मृत्यु भएको थियो। सो पहिरोको घाउ बिसेक नहुँदै यो घटना घटेको हो।
विपद व्यवस्थापन समितिको आकस्मिक बैठक
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पछिल्ला दिनमा कास्की, पर्वतसहितका जिल्लामा बाढी पहिरोले बढी क्षति पुगेकामा उद्धार र राहतमा कुनै कसर बाँकी नराखी काम गर्न जिल्ला र स्थानीय तहका विपद व्यवस्थापन समितिलाई निर्देशन दिएका छन्।
प्रदेश विपद व्यवस्थापन कार्यकारी समितिको आकश्मिक बैठक शुक्रबार डाकेर उनले सुरक्षा निकायका प्रमुख, मन्त्रालयका सचिव र मातहतका सबै निकायलाई समेत निर्देशन गरेका हुन्। विपद व्यवस्थापनको काम ३ तहकै सरकारको समन्वयमा हुने भएकाले पीडितले महसुस गर्ने गरी काम गर्न उनले आग्रह गरे।
प्रदेश सरकारले विपदमा निधन भएका परिवारलाई प्रतिव्यक्ति १ लाख रुपैयाँ, बेपत्ताका परिवारलाई पनि १ लाख रुपैयाँ दिने गरी कार्यविधि बनाएको छ। यसैगरी खाद्यान्नका लागि १५ हजार, अस्थायी आवासका लागि २५ हजार र उपचार खर्च ५० हजार रुपैयाँसम्म प्रदेशले बेहोर्छ। सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाटै राहत वितरणको काम हुने र त्यसका लागि रकम समेत गइसकेको छ।
बाढी पहिरोमा परेर बिहीबार र शुक्रबार मात्रै कास्की र पर्वतमा ११ जनाको मृत्यु भएको छ। असार यता मात्रै बाढी पहिरोमा गण्डकीमा २७ जनाले ज्यान गुमाएका छन् भने ८ जना बेपत्ता भएका छन्।
Shares
प्रतिक्रिया