ad ad

समाज


दैनिक हजारौँलाई सेल्फी–भिडिओ खिचाउँदै महाकालीको ‘भाइरल रोड’

दैनिक हजारौँलाई सेल्फी–भिडिओ खिचाउँदै महाकालीको ‘भाइरल रोड’

गोकुल जोशी
भदौ ७, २०७८ सोमबार १३:५१, काठमाडौँ

महेन्द्रनगर। कैलालीको गोदावरी नगरपालिका–१० का तेज भट्ट आइतबार कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ ऐरी–ओदालीस्थित महाकाली नदी किनारको सडकमा पुगे। खल्तीबाट मोबाइल झिके अनि खोले अहिलेको चर्चित एप ‘टिकटक’। 

भट्टले एकपछि अर्को गरी फोटो र भिडिओ खिचे। उनीसँगै आएका उनका साथीहरु पनि पालैपालो सेल्फी, फोटो र भिडिओ लिन व्यस्त भए। उनीहरु मिलेर सडकमै देउडा नृत्यको भिडिओ बनाए। 

उनीहरु त्यहाँ टिकटक बनाउनकै लागि पुगेका थिए। 

महाकाली नदीमाथि अहिले चार लेनको पक्की पुल बनिरहेको छ। त्यसैको पहुँच मार्ग छ लेन सडक अहिले ‘भाइरल रोड’ले चर्चित बन्दै छ। 

यसरी यहाँ आएर रमाइलो गर्ने, भिडिओ बनाउने र टिकटकमा हालेर भाइरल हुने उनीमात्र होइनन्, दैनिक ४÷५ हजारकै हाराहारीमा भीड लाग्नथालेको छ। 

‘यो सडकमा धेरैले टिकटक बनाएको देखेको थिएँ। एकपटक मलाई पनि यहाँ पुगेर टिकटक बनाउने इच्छा थियो’, उनले भने, ‘त्यो इच्छा आज पूरा भएको छ।’

कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ की बिमला थापा पनि छ लेन सडकमा टिकटक बनाउनमै झुम्मिएकी थिइन्। 

उनलाई टिकटकमा भाइरल हुने मन छ। यो सडकमा टिकटक बनायो भने भाइरल भइन्छ कि भनेर घुमघाममा आएकोे उनी बताउँछिन्।

‘यो सडकको सिनले टिकटकमा राम्रो भ्युज र लाइक पाइरहेको देखेकी थिएँ। टिकटकमा सडक भाइरल नै थियो’, उनले भनिन्, ‘त्यसैले मलाई पनि टिकटकमा लाइक बढाउने चाहना थियो। टिकटक पनि बनाइयो र घुमघाम पनि भयो।’

समुद्री तटको अनुभूति !
बर्दियाको ठाकुरबाबा नगरपालिकाका हरिप्रसाद श्रेष्ठ पनि सपरिवार घुमघामका लागि महाकाली किनार पुगेका थिए। त्यहाँ उनीहरु पनि फोटो खिचिरहेका थिए।

समुद्री तटमा पुगेजस्तो अनुभव हुने गरेको उनी सुनाउँछन्। 

‘नजिकै महाकाली नदी छ, चिसो हावा चलिरहेको छ। अनि नदी किनारैकिनार सडक। सुन्दर दृश्य छ’, उनले भने, ‘यहाँ घुम्नेलाई बिचमा गएजस्तै अनुभव हुन्छ।’

उनीहरु मात्रै होइन अहिले सेल्फी लिने, फोटो खिच्ने, टिकटक बनाउनेको महाकाली छ लेन सडकमा घुइँचो लाग्ने गरेको छ। त्यहाँ चिल्लो कालोपत्रे सडक छ। सडकको बीचमा क्रमैसँग विद्युतका पोलहरु जडान गरिएका छन्। 

मनोरम प्राकृतिक सौन्दर्य 
सडकको एकापट्टी महाकाली नदी बगिरहेको हुन्छ अनि अर्कोपट्टी मानवबस्ती छ। मौसम सफा भएको दिन उत्तरतर्फका चुरे पर्वतको मनोरम दृश्य पनि देख्न सकिन्छ र दक्षिणतर्फ निर्माणाधीन चार लेनको पक्की पुल छ।

महाकाली नदी र बस्तीको बीचको त्यही सडक अहिले सामाजिक सञ्जाल (फेसबुक) र टिकटक प्रयोगकर्ताबीच प्रख्यात छ। अहिले यो सडक ‘भाइरल रोड’का नामले चिनिन्छ। 

दैनिक हजारौँको संख्यामा आन्तरिक पर्यटक सडक घुमघामका लागि आउने गर्दछन्। 

‘दिउँसो तीन बजेदेखि बेलुका ७÷८ बजेसम्म भीडभाड हुन्छ। शनिबार र सार्वजनिक विदाको दिन त झनै भीड हुन्छ’, स्थानीय शंकर भट्टले भने, ‘हिजो रक्षाबन्धनको दिन सबैभन्दा बढी भीड थियो, १५÷२० हजार मानिस होलान् हिजो त!’

उनका अनुसार कञ्चनपुर, कैलाली, बाँके, बर्दिया, डडेल्धुरा, बैतडी तथा सीमावर्ती भारतीय बस्तीका मानिस पनि सडक घुमघामका लागि आउने गरेका छन्। 

सडक कालोपत्रे भएसँगै पर्यटकको रोजाइमा परेको भीमदत्त नगरपालिका–१२ का वडाध्यक्ष कृष्णसिंह देउपाले बताए। 

‘पहुँचमार्गमा भीडभाड धेरै हुनथालेको छ। रक्षाबन्धनको दिन त भीडले खुट्टा राख्नलाई नै ठाउँ थिएन’, उनले भने, ‘भीड व्यवस्थापनका लागि छलफल भइरहेकोले केही दिनमा ठोस निर्णय लिइन्छ।’

कोरोनाको जोखिम पनि भएकाले भीडभाडलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भनेर प्रशासनसँग समन्वय भइरहेको उनको भनाइ छ। 

‘पार्किङ्ग क्षेत्र, पसल व्यापारको लागि अलग्गै क्षेत्र राख्नुपर्छ। सबै एकै ठाउँमा हुनाले अव्यवस्थित भएको छ’, उनले भने।

कमाइको स्रोत
भीमदत्त नगरपालिका–११ का ६० वर्षीय वृद्ध राम बहादुर कामीसँग केही रोजगारी थिएन। घरमै बसेर दिन बिताउँथे। तर उनले छ लेन सडकले गर्दा अहिले रोजगारी पाएका छन्। 

सडकमा मानिसको चहलपहल बढेपछि उनले सानो पसल राखेका छन्। त्यहीँ पसलमा चाउचाउ, बिस्कुट, पानी बेचेर अहिले उनले जीविकोपार्जन गर्ने गरेका छन्।

दैनिक दुई हजार÷तीन हजारको बिक्री हुने गरेको उनले बताए। 

‘सडक हेर्न आउनेको भीडभाड हुन थालेपछि सानो पसल राखेको थिएँ। एक दिन ल्याएको सामान एकै दिनमा सकिन्छ’, उनले भने, ‘यसैले अहिले घरखर्च चलेको छ।’

उनीजस्तै अहिले धेरै स्थानीयले छ लेन सडकमा सामान बेचेर पेट पाल्ने गरेका छन्। दिउँसो २÷३ बजेतिर सडकमा त्रिपाल राखेर सामान राख्छन्। बेलुका अबेरसम्म भीड हुने भएकाले सामान पूरै बिक्री हुने गरेको उनीहरु बताउँछन्। 

कोरोनाको जोखिम
दिनहुँ कोरोना संक्रमण बढिरहेको छ। तेस्रो लहरको कोरोना संक्रमणको जोखिम कायमै छ। त्यसैले प्रशासनले भीडभाड हुने कार्यक्रम, सभा, जुलुस नगर्न भनेको छ। 

तर छ लेन सडकमा भीडभाड हुन थालेपछि कोरोना संक्रमणको जोखिम पनि बढेको छ। भीडभाडमा स्वास्थ्य सुरक्षा मापदण्ड नअपाउने गरेकोले कोरोना संक्रमणको जोखिम बढेको स्थानीय दीपा भट्ट बताउँछिन्। 

‘कोरोना फैलिन्छ भनेर विद्यालय बन्द छन्। बेलुका ६ बजेपछि बजार बन्द गरिन्छ। तर यहाँ यस्तो भीडभाड छ’, उनले भनिन्, ‘न मास्कको प्रयोग भएको छ, न त सामाजिक दूरी नै कायम भएको छ। यसले कोरोना फैलिने जोखिम बढेको छ।’

भीड व्यवस्थापन गर्न प्रहरीलाई चुनौती 
निर्माणाधीन छ लेन सडकको भीड व्यवस्थापनमा प्रहरीलाई चुनौती थपिएको छ। 

प्रहरीका अनुसार दैनिक ४/५ हजार मानिस सडक अवलोकनका लागि आउने गर्दछन्। 

सडकमा भीडभाड बढ्न थालेपछि सुरक्षालाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले सुरक्षाकर्मी परिचालन गर्ने गरेको छ। प्रहरी परिचालन गरेर दैनिक चेकजाँच गर्ने गरेको तर भीड धेरै हुनाले व्यवस्थापनमा चुनौती रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी उमाप्रसाद चतुर्वेदीले बताए।

‘दैनिक प्रहरीले गाडी चेकजाँच त गरिरहेका छन्। तर भीड व्यवस्थापन गर्न गाह्रो छ। सुख्खा बन्दरगाह निर्माणपश्चात् त्यहाँ चौकी राख्न प्रस्ताव भएको छ’, उनले भने, ‘अहिले सडक पनि निर्माणकै अवस्थामा छ। त्यसैले भीड कसरी व्यवस्थापन गर्न सकिन्छ भनेर ठेकेदार, जनप्रतिनिधिसँग छलफल भइरहेको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .