ad ad

समाज


काम थालेको दुई दिनमै खबर आयो, ‘आजै अफगानिस्तान छाड्ने तयारी गर्नू’

काम थालेको दुई दिनमै खबर आयो, ‘आजै अफगानिस्तान छाड्ने तयारी गर्नू’

उजिर कार्की
भदौ २, २०७८ बुधबार ६:३६, काठमाडौँ

दुई महिना लामो बिदा मनाएर पोखराका तुलबहादुर थापा एक साता पहिले मात्रै अफगानिस्तान पुगेका थिए।

उनले त्यहाँ काम गर्न थालेको दोश्रो दिन नै क्याम्पमा सूचना गरियो, ‘अब हामीले क्याम्प छाड्नु पर्ने भयो, सबै खालि गरेर आफ्नै देश फर्किने हो। आजै अफगानिस्तान छाड्ने तयारी गर्नू।’

तुलबहादुरसहित क्याम्पका सबैले आफ्ना सामान प्याक गर्न थाले। यसअघि उनी दुई वर्ष अफगानिस्तानमा काम गरेर दुई महिना पहिले घर बिदामा आएका थिए।

एक साता अघि मात्रै अफगानिस्तान पुगेका उनले ड्युटी सुरु गरेको दुई दिन मात्रै भएको थियो।

तर त्यहाँ तालिवानले कब्जा गर्न थालेपछि अमेरिकी सेनाले अफगानिस्तान छाड्ने निर्णय लियो। त्यहाँ कार्यरत नेपाली पनि फर्किनु पर्ने भयो।

त्यही भएर तुलबहादुर पनि गएको एक सातामै घर फर्किन बाध्य भए।

नेपाली सेनामा कार्यरत तुलबहादुर अवकाश भएपछि अफगानिस्तान सुरक्षा गार्डमा गएका थिए। तर उनको अफगानिस्तान बसाइ सोचेजस्तो हुन सकेन।

मंगलबार अमेरिकी सेनाले घर ल्याइदियो।

चितवनका इन्द्रबहादुर मगर ७ महिना पहिले मात्रै अफगानिस्तान पुगेका हुन्। भारतीय सेनामा २२ वर्ष काम गरेर ३ वर्ष पहिले उनी अवकाश भए।

नेपाल फर्किएको २ वर्षपछि उनले पनि रोजगारीका लागि अफगानिस्तान जाने सुरसार कसे।

अफगानिस्तानमा रोजगारी राम्रो छ। महिनामा डेढलाख रुपैयाँसम्म कमाइ हुन्छ। सुरक्षित क्षेत्रमा जानका लागि सरकारले पनि अनुमति खुल्ला गरेको थियो। उनले पनि काबुलस्थित अमेरिकी दूतावासको मुख्य कार्यालयमै सुरक्षा गार्डको काम पाए।

तर स्थिति झनझन बिग्रँदै गयो। तालिवान मुख्य सहर काबुल केन्द्रीत नहुँदासम्म उनीहरुलाई चिन्ता थिएन। ‘जब अफगानिस्तानकै सेना प्रहरीले आत्मसमर्पण गर्न थाले त्यसपछि भने स्थिति ठिक छैन भन्ने हामीलाई लाग्न थाल्यो’, मंगलबार नेपाल आइपुगेका उनले सुनाए, ‘त्यसपछि अमेरिकी सेना पनि डिफेन्सिभ भयो, हामी पनि डिफेन्सिभ भएर बस्यौं।’

लगत्तै उनीहरुले पनि त्यो ठाउँ छाड्नु पर्ने कुरा सुन्न थाले। गत आइतबार भने उनले ड्यूटी गरिरहेकै बेला तीन घण्टापछि कतार जानका लागि तयारी गर्न खबर आयो। त्यहाँबाट कतार उडेका उनीहरुलाई दोहाबाट कुवेत लगियो र मंगलबार बिहान काठमाडौं ल्याइयो।

काठमाडौंको बुढानिलकण्ठका भिममणी राई १८ वर्ष नेपाली सेनामा काम गरेर अवकाश भएका हुन्। अवकाशपछि पनि उनले सुरक्षाकै काम खोजिरहेका थिए।

१३ वर्ष पहिले सुवेदारबाट अवकाश भएका राईले अमेरिकन दूतावासको सुरक्षा गार्डका लागि रोजगारीमा जान नाम निकाले। ६ वर्ष पहिले नै अफगानिस्तान पुगेका उनको ड्युटी विमानस्थलका नजिकै रहेको अमेरिकी नियोगको कार्यालयमा थियो।

तुलनात्मक रुपमा काबुल सुरक्षित भएपनि विस्तारै तालिवानले त्यहाँ निसाना बनाउँदै गएको उनीहरुलाई जानकारी हुन्थ्यो।

‘विभिन्न ठाउँमा हमला भएका धेरै घटना सुनिन्थ्यो। तर जब तालिवानले काबुललाई नै घेरा हालेको खबर आयो त्यसपछि भने बेग्लै खालको डर बढ्यो। अर्काको ठाउँमा के गर्ने कसो गर्ने भन्ने हुनेरहेछ’, मंगलबार उनले सुनाए।

गत आइतबार साँझ काबुल छाड्ने सूचना आयो। त्यस क्याम्पमा रहेका उनीसहित सबै नेपालीले सूचना आएको तीन घण्टा भित्रमा घर फर्किने तयारी गरे। त्यसै साँझ उनीहरु अमेरिकी सेनाको विमान मार्फत दोहा प्रस्थान गरे। युद्ध भूमि छाडेर परिवारसँग आइपुग्दा छुट्टै खुशी मिलेको उनले सुनाए।

अफगानिस्तानको सत्ता विद्रोही तालिवानले कब्जा गरेको छ। त्यससँगै त्यहाँ रहेको अमेरिकी सेना पनि फर्किरहेको छ। अमेरिकी सेना नियोग नै बन्द गरेर फर्किन थालेपछि ती नियोगमा कार्यरत प्रवासी श्रमिकलाई पनि स्वदेश फर्काउन थालिएको हो। 

अफगानिस्तानबाट पहिलो पटक मंगलबार बिहान ११८ जना नेपाली काठमाडौं आइपुगेका छन्। उनीहरुलाई यहाँसम्म ल्याउने व्यवस्था अमेरिकी सेनाले नै गरेको हो। थप ६९ जना नेपाली कुवेतबाट मंगलबार बेलुकी काठमाडौं उत्रिएका छन्। 

अरु पनि आउने तयारीमा छन्। दोहाबाट मंगलबार राति नै केहीलाई कुवेत लगेको त्यहाँ रहेका एक नेपालीले जानकारी दिए।

अफगानिस्तानमा रहेका आफ्ना नागरिक फर्काउन सरकारले विभिन्न कुटनीतिक नियोगहरूसँग समन्वय गरिरहेको छ।

यस्तै त्यहाँ बिचल्ली पर्ने अवस्थामा रहेका श्रमिकलाई पनि अनलाइनबाट विवरण दर्ता गर्न सरकारले भनेको छ। उनीहरुलाई भने सरकार आफैं उद्धार गर्न कार्यदल बनाएको छ।

मंगलबार साँझसम्म उद्धारका लागि २५६ जनाले विवरण दर्ता गरेका छन्। विभिन्न नियोगहरूमा कार्यरत नेपालीहरु भने फर्किन थालेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .