ad ad

समाज


अफगानिस्तानबाट फर्किएका नेपाली भन्छन्– हामी त सकुशल आयौँ, बाहिर काम गर्नेको बिजोग छ

अफगानिस्तानबाट फर्किएका नेपाली भन्छन्– हामी त सकुशल आयौँ, बाहिर काम गर्नेको बिजोग छ

उजिर कार्की
भदौ १, २०७८ मंगलबार १३:२२, काठमाडौँ

अफगानिस्तानमा अमेरिकी क्याम्पमा काम गर्ने ११८ जना नेपाली काठमाडौं आइपुगेका छन्। 

उनीहरुलाई अमेरिकी सेनाले नै काठमाडौंसम्म आउने व्यवस्था गरेको हो। 

काबुलबाट दोहा लगिएका उनीहरुमध्ये कतिपयलाई दोहाबाट फेरि कुवेत पु¥याएर काठमाडौं ल्याइएको हो। 

नेपालीसँगै नेपालीमूलका ९ जना भारतीय पनि काठमाडौं आएका छन्। अहिले उनीहरुलाई नेपाली सेनाले सञ्चालन गरेको सामाखुसीको आइसोलेसन सेन्टरमा लगिएको छ। 

त्यहाँ एन्टिजेन परीक्षण गरेर रिपोर्ट नेगेटिभ आउनेलाई स्वास्थ्य मापदण्ड पालना गरेर घर पठाइने सेनाले जनाएको छ। 

अफगानिस्तानमा दुई वर्ष काम गरेर फर्किएका प्युठानका लालबहादुर पुन मगरले त्यहाँका नियोगहरुमा काम गर्ने नेपालीलाई भने खासै समस्या नहुने बताए। 

विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले भने, ‘त्यहाँको अहिलेको अवस्था नाजुक नै छ। हामी त अमेरिकन मिसनमा काम गर्ने भएकाले हामीलाई खासै केही समस्या भएन। जति पनि नेपाली थियौँ, हामीलाई केही समस्या परेन। अरु दूतावासमा काम गर्नेलाई पनि समस्या नपर्ला, उहाँहरु पनि सकुशल नै आउनुहोला। तर बाहिर सिभिलमा जसले काम गर्नुहुन्छ, उहाँहरुको अवस्थाचाहिँ नाजुक नै छ।’

मंगलबार बिहान काठमाडौं फर्किएकाहरुलाई अमेरिकी सेनाले कुवेतमा जम्मा गरेर चार्टर्ड विमानमार्फत पठाएको हो। केहीलाई सुरुमै कुवेत लगिएको थियो। कोहीलाई भने कतारबाट युएसफोर्सकै विमानबाट कुवेत लगेर जजिरा एयरमार्फत काठमाडौं पठाएको फर्किएका नेपालीले बताएका छन्। 

लालबहादुरले भने, ‘नियोगहरुमा काम गर्नेलाई नियोगहरुले नै उद्धार गरिरहेका छन्। बाहिर फिल्डमा काम गर्नेहरु, खासगरी अवैधानिक रुपमा गएकाहरुलाई अहिले अप्ठ्यारो परेको छ। त्यसको लागि सरकारले ध्यान पु¥याउनुपर्छ।’

आफू सकुशल नेपाल आउनु पाएको खुसी व्यक्त गर्दै उनले अब अफगानिस्तान रोजगारीका लागि नजाने बताए। 

‘युद्ध भूमिमा त्रास त हुने नै भयो। आज यहाँ आइपुगेका छौँ, एकदमै खुसी छौँ। अब फेरि त्यहाँ जाने सम्भावना छैन। हामीलाई पहिलेदेखि नै अमेरिकन दूतावासले केही अप्ठ्यारो पर्दैन, केही परे हामी छौँ भनिरहेको थियो। त्यही भएर नेपाल आउन पाउँछौं भन्ने लागिरहेकै थियो’, पुनले भने। 

पुन काबुलबाट केही टाढा काम गर्थे। त्यहाँबाट हेलिकोप्टरमा काबुल विमानस्थल आएर विमानमार्फत उनी दोहा पुगेका थिए। त्यहाँको दूतावासमा करिब ५ सय नेपाली कार्यरत रहेको उनले बताए।

नियोगहरुमा कार्यरत नेपालीलाई फर्काइदिन सरकारले पनि आग्रह गरेको छ। 

बाहिर बिचल्लीमा परेका नेपालीलाई अनलाइनमार्फत विवरण दर्ता गर्न आग्रह गरेको छ। सोमबार साँझसम्म १३४ जनाले विवरण दर्ता गरेका छन्। 

दर्ता भएका नेपालीको अवस्था बुझ्ने काम पनि अहिले अनलाइनबाटै भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। उनीहरुलाई उद्धार गर्न विमान पठाउने सरकारको तयारी छ। 

यस्तै नयाँ दिल्लीस्थित नेपाली दूतावासले पनि त्यहाँ रहेको नेपालीसँग कुरा गरिरहेको र उद्धारका लागि समन्वय भइरहेको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले बताइन्। 

सरकारले अफगानिस्तानमा रहेका नेपालीको उद्धार तथा समन्वय गर्न परराष्ट्र मन्त्रालयका सहसचिव हरिश्चन्द्र घिमिरेको संयोजकत्वमा कार्यदल बनाएको छ।

यो पनि–

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .