ad ad

समाज


नेपालीले अफगानिस्तान छाड्न थाले, केहीलाई अमेरिकी सेनाले पुर्‍यायो दोहा

नेपालीले अफगानिस्तान छाड्न थाले, केहीलाई अमेरिकी सेनाले पुर्‍यायो दोहा

काबुलबाट अमेरिकी सेनाले नेपालीसहितलाई दोहा लैजाँदै (तस्बिर-सन्तोष बजगाईं)


उजिर कार्की
साउन ३१, २०७८ आइतबार २०:६, काठमाडौँ

रोजगारीका लागि पुगेका नेपाली श्रमिकले अफगानिस्तान छाड्न थालेका छन्। राजधानी काबुल प्रवेश गर्न थालेका तालिबान लडाकुले देश छाड्न चेतावनी दिएपछि कोही आफ्नै प्रयासमा र कतिपय नियोगहरुको सहयोगमा अफगानिस्तानबाट बाहिरिन थालेका हुन्। 

आइतबार दिउँसो नेपालीसहित ३०० जना काबुलबाट दोहा पुगेका छन्। फर्किनेमा नेपालसहित विभिन्न देशका नागरिक रहेको दोहा पुगेका मोरङका सन्तोष बजगाईंले जानकारी दिए। 

‘हामी केही बेरअघि मात्रै दोहा आइपुग्यौं, ३०० जना आएकोमा विभिन्न देशका छन्। कतिपय साथीहरु आउने क्रममा छन्, हाम्रो क्याम्प ७२ घण्टाभित्रमा खाली गर्न अल्टिमेटम दिएको छ,’ बजगाईंले दोहा उत्रिएपछि नेपालखबरसँग भने। 

तालिबानले अहिले नै आप्रवासीहरुलाई निसाना नबनाएको भए पनि उनीहरुको विश्वास गर्न नसकेर काबुल छाडेको बजगाईंले बताए। त्यहाँका आप्रवासी श्रमिकहरुलाई आफू कार्यरत नियोग र कम्पनीहरुले नै फर्काइरहेको उनले जानकारी दिए।

बजगाईंसहितका नेपालीलाई पनि अमेरिकी सेनाले दोहा ल्याएको हो। 

‘हामीलाई २४ घण्टाभित्रमा निस्कनु भन्ने आदेश आइसकेको थियो। अहिले अमेरिकी सेनाको क्याम्पमा ल्याएको छ र अहिले पीसीआर गरिसकेको छ। अब सहज तरिकाले नेपाल पठाउँछ,’ बजगाईंले भने।

पहिले बग्राममा बसेका उनी पछिल्लो ५५ महिनादेखि काबुलमा कार्यरत थिए। 

‘अहिले तालिबान कावुल प्रवेश गरिरहेका छन्। हामी नागरिकमाथि आक्रमण गर्दैनौँ तर जतिसक्दो छिटो देश छाडेको राम्रो भन्ने सन्देश आएपछि हामीलाई तत्काल उद्धार गरेको हो,’ उनले भने।

अहिले सेक्युरिटी गार्डका रुपमा कार्यरत आप्रवासीलाई ७२ घण्टाभित्र देश छाडिसक्न अल्टिमेटम दिइएको उनले बताए। सो काममा ४ सय बढी नेपाली रहेको र उनीहरुलाई अमेरिकी सेनाले आफ्नै विमानमार्फत उद्धार गरिरहेको बजगाईंले बताए। 

नियोगहरुमा कार्यरत श्रमिकलाई उनीहरुले नै उद्धार गर्ने भए पनि बाहिर काम गर्नेलाई अप्ठेरो पर्न सक्ने भएकाले सरकारले तत्काल उद्धार गर्नु पर्ने उनले बताए। 

यस्तै कतिपय नेपालीलाई भने कम्पनीले फर्काइरहेको वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजित श्रेष्ठले बताए।

अफगानिस्तानको फोर्स सेक्युरिटी कम्पनीले दुई पटकमा ३५६ जना नेपालीलाई फर्काएको छ। गत साता यही कम्पनीले १५० जना फर्काएको महासचिव श्रेष्ठले बताए। 

अफगानिस्तानको बगराममा कार्यरत बाग्लुङका तारा छन्त्याल अहिले दुबई पुगेका छन्। आफू केही दिन पहिले नै दुबई पुगेको र अरु पनि नेपाली त्यतिबेला फर्किएको जानकारी दिए।

‘म त अलिक पहिले नै यहाँ आइपुगेँ, त्यहाँ रहेका साथीहरुलाई पनि अहिले तत्काल अफगानिस्तान छाड्न भनिएको रहेछ, कोही साथीहरु टर्की पुगेका छन्, कोही दोहामा आजै पुगेछन्। कोही साथीहरु आउने क्रममा छन्,’ छन्त्यालले भने। 

इगल कम्पनीले पनि त्यहाँ कार्यरत १२० जना नेपालीलाई फर्काइसकेको छ। उनीहरुमध्ये कोही दुबई र कोही टर्की पुगेका छन्। संघका अनुसार अवैध रुपमा त्यहाँ पुगेका नेपाली बढी अप्ठेरोमा छन्। अन्यको हकमा भने खासै समस्या नरहेको सरकार र म्यानपावर कम्पनीको भनाइ छ।

अहिलेसम्म अफगानिस्तानबाट उद्धारका लागि ३६१ जना नेपालीले अनुरोध गरेका छन्। तीमध्ये ३५ जना चार महिनापहिले मात्रै त्यहाँ पुगेका थिए। 

यस्तै सरकारले उद्धार गर्नु पर्नेलाई सम्पर्कमा आउन आग्रह गर्ने भएको छ। श्रम र परराष्ट्र मन्त्रालयले अफगानिस्तान हेर्ने दूतावासमा नेपालीलाई सम्पर्क गर्न आग्रह गर्ने र सोही अनुसार निर्णय गर्दै जाने निर्णय गरेको हो। 

व्यक्तिगत रुपमा पुगेर त्यहाँ अप्ठेरोमा परेका नेपालीको तथ्यांक समेत नभएकाले सार्वजनिक सूचनामार्फत आग्रह गर्ने निर्णय भएको हो। कतिपय नेपाली अवैध बाटो हुँदै पनि अफगानिस्तान पुगेकाले त्यहाँ रहेका नागरिकको एकिन तथ्यांक छैन। 

परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले अहिले तथ्यांक संकलनको काम भइरहेको बताइन्। 

यस्तै, संस्थागत रुपमा त्यहाँ पुगेका नेपालीको उद्धारमा भने सम्बन्धित संस्थालाई नै जवाफदेही बनाइने भएको छ। वैदेशिक रोजगार विभागले त्यहाँ श्रमिक पठाएका म्यानपावर कम्पनीलाई आइतबार फोन गरेर सबै विवरणसहित सोमबार आउन निर्देशन दिएको हो।

युनिभर्सल कनेक्सन म्यानपावर कम्पनीले विभागको फोन आएको र सोही अनुसार विवरण संकलन गरिरहेको बताएको छ। पछिल्लो डेढ वर्षमा अफगानिस्तान श्रमिक पठाउने अर्को म्यानपावर एफआईएस हो। यो म्यानपावरसँग पनि सरकारले श्रमिकको विवरण र अहिलेको अवस्थाबारे जानकारी माग गरेको छ। 

म्यानपावर कम्पनीलाई टेलिफोन गरेर सोमबार सबै श्रमिकको विवरण बुझाउन निर्देशन दिएको विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीले बताए। 

‘जुन संस्थाले अफगानिस्तानमा श्रमिक पठाएका छन् ती संस्थालाई आज टेलिफोन गरेर आफूले पठाएका श्रमिक कति छन्? उनीहरुको अवस्था के छ? उद्धारको योजना के छ? त्यो सबै विवरण लिएर भोलि बेलुकासम्ममा आइपुग्नु भनेर फोन गरेका छौं,’ महानिर्देशक दवाडीले नेपालखबरसँग भने। 

२०७७ सालमा ८५१ जना र यो वर्ष ३३० जना वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर रोजगारीका लागि अफगानिस्तानपुगेका छन्।

त्यसअघि गएका र अझै नफर्किएका श्रमिक भए त्यो पनि विवरण बुझाउन विभागले भनेको छ। 

अफगानिस्तानमा विद्रोही समूह तालिबानले राजधानीबाहेक सबै प्रमुख सहर कब्जा गरेपछि त्यहाँ रहेका नेपालीको उद्धार गर्न सरकारले चासो दिएको हो। कतिपय देशले आफ्ना नागरिक उद्धार गर्न थाले पनि नेपालले भने अझै पहल नगरेको भन्दै चौतर्फी विरोध भइरहेको छ। 

त्यहाँ रहेका करिब १५ सय नेपालीलाई फर्काउनु पर्ने सरकारको अनुमान छ। यसका लागि नेपालस्थित नियोगहरुसँग सहयोगका लागि परराष्ट्र मन्त्रालयले आग्रह गरेको छ।

‘हामीले अमेरिका, बेलायत र युरोपियन युनियनका यहाँ रहेका नियोगसँग छलफल गरिरहेका छौँ। तपाईंहरुका नागरिक फर्काउँदा हाम्रा नागरिकको पनि उद्धार गरिदिनु पर्यो भनिरहेका छौं,’ प्रवक्ता लम्सालले आइतबार नेपालखबरसँग भनिन्।

यस्तै परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलले अफगानिस्तानमा रहेका आफ्ना नागरिकको उद्धारका लागि सहसचिवको नेतृत्वमा समिति बनाएको बताएका छन्। आइतबार संसदको अन्तर्राष्ट्रि सम्बन्ध तथा श्रम समितिमा पौडेलले यस्तो जानकारी गराएका हुन्। भारतस्थित नेपाली दूतावासले त्यहाँ कार्यरत नेपालीका बारेमा जानकारी लिइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

अफगानिस्तानमा विद्रोही समूह तालिवानले काबुलबाहेक सबै मुख्यसहर कब्जा गरिसकेको छ। राष्ट्रपति असरफ गानी मुलुक छाडेर भागिसकेका छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .