ad ad

समाज


अफगानिस्तानका नेपालीको उद्धार गर्न विदेशी नियोग गुहार्दै सरकार

परराष्ट्र भन्छ : त्यहाँको अवस्था नजिकबाट बुझ्दैछौँ
अफगानिस्तानका नेपालीको उद्धार गर्न विदेशी नियोग गुहार्दै सरकार

उजिर कार्की
साउन ३१, २०७८ आइतबार १२:५६, काठमाडौँ

चरमपन्थी तालिबानले आक्रमण तीव्र बनाएपछि अफगानिस्तानमा रहेका नेपालीको उद्धार गर्न सरकारले नेपालस्थित विभिन्न देशका नियोगहरुसँग छलफल थालेको छ।

 त्यहाँ रहेका करिब १५ सय नेपालीलाई फर्काउन विभिन्न नियोगहरुलाई पत्राचार गर्दै सहयोगका लागि आग्रह गरिरहेको परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले बताइन्। 

‘हामीले अमेरिका, बेलायत र युरोपियन युनियनका नियोगसँग छलफल गरिरहेका छौं। तपाईंहरुका नागरिक फर्काउँदा हाम्रा पनि नागरिकको पनि उद्धार गरिदिन भनिरहेका छौं’, प्रवक्ता लम्सालले आइतबार नेपालखबरसँग भनिन्।

परराष्ट्र मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार त्यहाँका विभिन्न दूतावास र संयुक्त राष्ट्र संघीय एजेन्सीहरुमा करिब १५ सय नेपाली कार्यरत छन्। 

‘अफगान मामिलामा हामी जानकार छौँ, त्यहाँको घटनाक्रम नजिकबाट हेरिरहेका छौं। दिल्लीस्थित हाम्रो दूतावासले त्यहाँका नेपालीसँग पछिल्लो अवस्थाबारे अपडेट गरिरहेको छ', उनले भनिन्, 'अहिलेसम्म सबै नेपाली सुरक्षित हुनुहुन्छ। उहाँहरुले पनि हामीलाई यहाँबाट निकालिदिनु पर्यो भन्नु भएको छ।'

सहसचिव लम्सालले अफगानिस्तानमा फसेका नेपालीका परिवारका सदस्य सम्पर्कमा आइनसकेको बताइन्। 'उहाँहरुको परिवार पनि सम्पर्कमा आएर सहयोग मागिसकेको अवस्था छैन’, लम्सालले भनिन्, ‘त्यही पनि भारतस्थित दूतावासले त्यहाँ कार्यरत नेपालीसँग सम्पर्क बढाएको छ।’

सरकारले त्यहाँ रहेका नेपालीको उद्धारबारेमा अहिलेसम्म कुनै निर्णय गरिसकेको छैन। परराष्ट्र मन्त्रालयले तथ्यांक संकलन गरेर उनीहरुको अवस्थाबारे जानकारी लिइरहेको जनाएको छ। 

अफगानिस्तानमा विद्रोही समूह तालिबानले काबुलबाहेक सबै मुख्य सहर कब्जा गरिसकेको छ। विद्रोहीले कब्जा गर्न थालेपछि विभिन्न देशले त्यहाँ रहेका आफ्ना नागरिक फर्काउन थालेका छन्।

यस्तोमा धेरै नेपाली रहेको राजधानी काबुलमा त्रास बढेको छ। काबुलमा तालिबानले जुनसुकै बेला आक्रमण गर्ने अवस्था भएपछि विदेशी नागरिकलाई धमाधम उद्धार थालिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .