ad ad

समाज


दार्चुला घटना छानबिन: आलटाल गर्दै अध्ययन टाेली

दार्चुला घटना छानबिन: आलटाल गर्दै अध्ययन टाेली

उजिर कार्की
साउन २८, २०७८ बिहिबार २१:११, काठमाडौँ

दार्चुलामा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइन खुस्काएर एक जना बेपत्ता बनाएको घटना छानबिनका लागि गठित समितिले काममा आलटाल गर्न थालेको छ।

१० दिनको समय पाएको समितिले म्याद सकिएको दुई दिन बित्दा पनि प्रतिवेदन लेखन सुरु गरेको छैन। समितिले तत्काल प्रतिवेदन बुझाउने सम्भावना छैन।

अहिले समितिका सदस्यहरु नै छुट्टिएका छन्। समितिका संयोजक गृह मन्त्रालयका सहसचिव जनार्दन गौतम बिहीबार काठमाडौं फर्किएका छन्। समितिका अन्य सदस्य पनि आ–आफ्नै कार्यक्षेत्रमा व्यस्त छन्। 

समितिकी सदस्य दार्चुलाकी सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट जोशी जिल्लामै छिन्। 

सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) पुरुषोत्तम कँडेल धनगढीमा छन्। राष्ट्रिय अनुसन्धान विभागका निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बलका प्रहरी वरिष्ठ उपरीक्षक सुरेशकुमार श्रेष्ठ पनि आफ्नै कार्यक्षेत्रमा छन्।

‘म आज काठमाडौं आइपुगेँ, अरु साथीहरु उतै हुनुहुन्छ। अहिले पनि हामी सूचना संकलन नै गरिरहेका छौँ। सबै साथीहरु काठमाडौं आएपछि प्रतिवेदन लेख्न थाल्छौं,’ समितिका संयोजक गौतमले नेपालखबरसँग भने। 

अरु सदस्य कहिले काठमाडौं आउँछन् भन्ने उनले खुलाएनन्। डीआईजी कँडेलले कहिले काठमाडौं आउनुहुन्छ? भन्ने प्रश्नमा जवाफ दिए, ‘संयोजकलाई सोध्नु न।’

गत साउन १५ गते एसएसबीले तुइन खुस्काइदिँदा दार्चुलाको व्याँस गाउँपालिकाका जयसिंह धामी महाकाली नदीमा खसेका थिए। उनी अझै बेपत्ता छन्। 

नेपाल सरकारले यसबारे अझै आधिकारिक धारणा सार्वजनिक गरेको छैन। संसदमा कुरा उठ्दा समेत छानबिन समितिको प्रतिवेदन आएपछि मात्रै बोल्ने जवाफ दिएको छ।

साउन २० गतेको संसद् बैठकमा सांसदहरुले दार्चुला घटनाको सत्यतथ्य तत्काल सार्वजनिक गर्न माग गरेका थिए। गृहमन्त्री बालकृष्ण खाणले छानबिन समिति गठन गरिएको र समितिको प्रतिवेदनपछि घटनाको सत्य तथ्य सार्वजनिक गर्ने जवाफ दिएका थिए। 

तर, घटना भएको दुई साता हुँदा समेत सरकार बोलेको छैन। प्रतिवेदन पनि तत्काल तयार हुने छाँट छैन। संयोजक गौतमका अनुसार प्रतिवेदन बुझाउने समय औपचारिक रुपमा थप भएको छैन। 

‘उपलब्ध भएसम्म सम्भाव्य सूचना संकलन गरेका छौँ, तथ्य संकलन पनि गरेका छौँ। अब त्यसलाई विश्लेषण गरेर हामी एउटा निष्कर्षमा पुग्नलाई अलिकति समय लाग्छ,’ गौतमले भने। 

सोधपुछ गर्न घटनाका तीन जना प्रत्यक्षदर्शीलाई सदरमुकाम ल्याइएको थियो। समितिले उनीहरुसँग सोधपुछ पनि गरेको थियो। उनीहरुले एसएसबीले तुइन खुस्काइदिएकै कारण धामी महाकालीमा खसेको बयान दिएका थिए। 

टोली भारततर्फको भाग र नेपालतर्फको भागमा गएर घटनास्थलको निरीक्षण गरेको थियो। यस्तै स्थानीयवासीसँग पनि सोधपुछ गरेको थियो। 

त्यसपछि समितिले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, आन्तरिक मामिलामन्त्री प्रकाशबहादुर शाह र प्रमुख सचिव मधुसुदन बुर्लाकोटीसँग भेटघाट गरेको थियो। बैतडी र कन्चनपुरका सुरक्षा निकायलाई पनि नदी तटीय क्षेत्रमा खोजतलास गर्न समितिले भनेको संयोजक गौतमले बताए।

अहिले प्रहरीले ड्रोनमार्फत महाकालीको नेपालतर्फको भागमा खोजिगरिरहेको छ। भारतीय प्रशासनले आफ्नो भूभागमा ड्रोन उडाउन अनुमति दिएको छैन। जिल्ला प्रशासन कार्यालय दार्चुलाले यसका लागि पत्राचार गरेपनि कुनै जवाफ नआएपछि भारततर्फको भागमा खोजी हुन सकेको छैन। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .