ad ad

समाज


बेरोजगारीको पीडा : लालाबाला च्यापेर भारत जानेको लर्को!

बेरोजगारीको पीडा : लालाबाला च्यापेर भारत जानेको लर्को!

गोकुल जोशी
साउन २२, २०७८ शुक्रबार १८:४०, महेन्द्रनगर

अछामको चौरपाटी गाउँपालिका–७ मार्कुका हर्क बहादुर बोकटी झोली–झिम्टा बोकेर शुक्रवार दिउँसो कञ्चनपुरको गौरीफन्टा नाकामा पुगे। 

उनीसँग श्रीमती, ८ वर्षीय छोरा र ४ वर्षीया छोरी पनि सँगै थिए। हर्क बहादुरसँग भारत जानका लागि गाउँकै अरु १० जना पनि आएका थिए। 

नाकामा हर्क बहादुर छोराको हात समातेर भारत जानेहरूको लाइनमा नाम दर्ताका लागि पालो पर्खिरहेका थिए। पछाडी उनकी श्रीमती छोरीलाई काखमा च्यापेर दिउँसोको टन्टलापुर घाममा भारत जानेको लाइनमा थिइन्। 

भारतमा कोरोना संक्रमणको दोस्रो लहर तीव्र रुपमा फैलिए पछि बैङ्लोरबाट काम छोडेर हर्क बहादुर तीन महिना अगाडि घर फर्किएका थिए। घरखर्च चलाउन केही पैसा पनि कमाएका थिए। 

लकडाउनमा घरमै बस्दा कमाएको रकम सकियो। त्यसपछि पेट पाल्नै गाह्रो भयो। अहिले फेरि हर्क बहादुर गुजारा चलाउनका लागि लालाबाला लिएर कामको खोजीमा भारत हानिएका छन्।

‘कमाएको पैसा पनि सकियो। लकडाउनले गाउँमा पनि केही काम पाइएन’ उनले भने, ‘बिहान बेलुकाको गास जोड्नै समस्या हुन थालेकोले कामको खोजीमा भारततिर जादैछौँ।’

बझाङको छबिसपाथीभराका विवेक रोकाया एक वर्ष अगाडि कोरोना कारण भारतबाट घर फर्किए। उनले फेरि भारत नजाने र स्वदेशमै रोजगारी गर्ने योजना पनि बनाए। तर जीविकोपार्जनका लागि स्वदेशमा केही काम पाएनन्। 

बरु एक वर्षभन्दा बढी घरमा बस्दा ऋण निकाल्नु प¥यो। घरखर्च चलाउन र त्यही ऋण तिर फेरि उनले विदेशिनु परेको छ। 

‘अब त गाउँमै केही काम गर्छु भनेर फर्किएको थिएँ’ उनले भने, ‘तर केही काम पाइएन। बरु एक वर्ष गाउँमा बस्दा ऋण मात्रै लाग्यो।’

उनीहरू उदाहरण मात्रै हुन्। लकडाउन खुकुलो भएसँगै कामको खोजीमा भारततर्फ जानेको सुदूरपश्चिमका नाकामा लर्को नै लागेको छ। 

‘भोकले मर्नुभन्दा त रोगले मर्नु नै बेस’ भन्दै भारतबाट फर्किएकाहरू सुदूरपश्चिम र कर्णाली प्रदेशका मानिसहरू पुनः कामको खोजीमा आफ्ना लालाबाला बोकेर त्यतै लाग्न थालेका हुन्। प्रहरीको तथ्याङ्क अनुसार कञ्चनपुरको गौरीफन्टा र गड्डाचौकी नाकाबाट दैनिक तीनदेखि चार हजारको संख्यामा मानिस रोजगारीको लागि भारत जाने गरेका छन्।

‘६ महिना घरमै बसेँ, केही काम नै पाइन। मजदुरी पनि पाइएन’, शुक्लाफाँटा नगरपालिकाका स्थानीय भोजराज जोशीले भने, ‘त्यसैले कामको खोजीमा बैङलोर जाँदै छौँ।’ 

रोगभन्दा भोकले मर्ने अवस्था सिर्जना भएपछि कामको खोजीमा भारत जानुपरेको नवराज जोशी बताउँछन्।

‘रोगभन्दा भोकले मर्ने अवस्था आयो। केही काम नपाउँदा घरखर्च चलाउनै मुस्किल छ’, उनले भने, ‘सरकारले पनि हामीलाई हेरेन। अब रोगको केही डर छैन, काम गर्न भारत नजाने हो भने त खाना नपाएर भोकभोकै मर्नुपर्छ।’

कोरोनाको जोखिम कायम अझै कायमै छ। महामारीकै बीच भारत जानु बाध्यता रहेको शुक्लाफाँटा नगरपालिका–३ का मुकेश जोशीले गुनासो गरे। 

‘महामारीकै बीचमा पनि परिवार पाल्न भारत जानैपर्ने बाध्यता छ। यस्तो अवस्थामा परदेशिनु हाम्रो रहन होइन बाध्यता हो। हाम्रो यो पीडा सरकारले सुन्दैन’, उनले भने, ‘स्वदेशमै रोजगारी दिए हामी यहीँबाटै फर्किन तयार छौँ।’
तीनै तहका सरकारले रोजगारीका कार्यक्रम ल्याए पनि त्यसमा आफ्नै मान्छे, नातेदारलाई राख्ने गरेको गुनासो गर्छन्, उनी। 

ऋण काढेर भारत जानु परेको अर्का युवा महेश रावतको गुनासो छ। ‘घरमा बालबच्चा पाल्नु प¥यो, आफूहरूले पढ्न नपाए पनि उनीहरूलाई शिक्षा–दीक्षा दिनु प¥यो। चाडवाड नजिकै छन्, लत्ताकपडा छैनन्’ उनले भने, ‘घर खर्च चलाउन ऋण काढेर भारत जानु परेको छ। सरकारले हाम्रो बाध्यता कहिल्यै बुझेन।’

जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरको तथ्याङ्क अनुसार १५ दिन अवधिमा करिब ४० हजार जना मानिसले नेपाल छाडेका छन्। असार महिनाको अन्तिम १५ दिनको अवधिमा गौरीफन्टा र गड्डाचौकी नाकाबाट ३८ हजार ७ सय ३४ जना नेपाली नागरिक रोजगारीका लागि भारत गएका थिए।

यो अवधिमा सबैभन्दा बढि गौरीफन्टा नाकाबाट भारत गएका छन्। यो नाकाबाट  ३४ हजार ४१ जना भारत पसेका छन् भने गड्डाचौकीबाट ४ हजार ६ सय ९३ जना भारततिर गएको तथ्याङ्क छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .