दार्चुलाको व्याँस गाउँपालिका भारतसँगै जोडिएको छ। भारत र व्याँस गाउँपालिकाको सिमाना महाकाली नदीले छुट्याउँछ। नदीको पश्चिममा भारतको पिथौरागढ र पूर्वमा व्याँस गाउँपालिका पर्दछ।
व्याँस र पिथौरागढको भेषभुषा, रहनसहन, संस्कृति मिल्दोजुल्दो छ। व्याँसवासी र पिथौरागढवासीको बिहेवारी समेत हुन्छ। तर, उनीहरुको सम्बन्धमा सधैँ तगारो बन्छ– भारतीय सीमा सुरक्षा बल (एसएसबी)।
एसएसबीको अत्याचार सहँदा सहँदा व्याँसबासी दिक्क भएका छन्। भारतीय बाटो हुँदै तुइन तरेर जीविका चलाउनुको विकल्प छैन। दशकौँदेखि यही पीडा उनीहरुले भोगिरहेका छन्। तर, सरकारले अहिलेसम्म उनीहरुको दुःखमा मल्हम लगाउने प्रयास गरेको छैन। उनीहरुको प्रश्न छ– नेपालमा सरकार छ कि छैन? छ भने हामीलाई किन हेर्दैन?
सदरमुकाम खलंगाबाट व्याँस पुुग्न महाकाली नदी तर्नुपर्छ, तुइनबाट। वडा नम्बर ५ र ६ को बीचमा एउटा मात्रै झोलुंगे पुल छ। अरु वडाका बासिन्दा तुइन तरेरै आफ्नो गाउँ पुग्छन्, भारतीय भूमि हुँदै। गाउँपालिकामा १० वटा जति अस्थायी तुइन सञ्चालनमा छन्।
‘महाकाली नदीमा पुल छैन, आफ्नै ठाउँमा पुग्न भारतको बाटो प्रयोग गर्नु पर्छ,’ व्याँसका बासिन्दा विनोद बुढाथोकी भन्छन्, ‘तुइनकै प्रयोग गर्न बाध्य छौँ।’
उनका अनुसार महाकाली नदीमा पुल नहुँदा दुवै देशका मानिसले तुइनकै सहायताले ओहोरदोहोर गर्नुपरेको छ। व्याँस गाउँपालिका–१ का छाङरु, तिंकरसम्म पुग्न भारतको बाटो प्रयोग गर्नुपर्छ। जसका लागि एसएसबीले प्रशासनको अनुमति माग्ने गरेको स्थानीयको भनाइ छ।
भारतको बाटो समान लिएर आउँदा र तुइनको प्रयोग गर्दा एसएसबीले दुःख दिने गरेको स्थानीय वीरेन्द्र बुढाथोकीले बताए।
‘एसएसबीले तुइन लगाउन पनि दिँदैन। लगायो भने काटिहाल्छ,’ उनले भने, ‘उनीहरुको बाटो हिँड्दा बिनाकारण निहुँ खोजेर कुट्ने, दुःख दिने काम गर्छन्।’
शुक्रबार व्याँस गाउँपालिका–२ मालगाउँका ३३ वर्षीय जयसिंह धामी तुइन तरिरहँदा एसएसबीले डोरी काटिदिएको थियो। नदीमा खसेका धामी बेपत्ता छन्।
भारतीय भूमि प्रयोग गर्नुपर्ने भएकाले एसएसबीले विभिन्न बहाना झिकेर दुःख दिने गरेको व्याँसबासीको गुनासो छ।
‘एसएसबीको दादागिरी सहेर बस्नु परेको छ। रासन लिन, बिरामी अस्पताल लैजान अथवा केही गर्न जाँदा पनि उनीहरुकोे हप्कीदप्की सुन्नु पर्छ,’ नरेन्द्रसिंह धामीले भने, ‘जति सरकार फेरिए पनि हाम्रो पीडा कसैले सुन्दैन। हाम्रा दिन उस्तै हुन्।’
स्थानीयले जति दुःख पाए पनि सरकारले नसुनेको उनीहरुको गुनासो छ।
‘कहिलेकाहीँ त एसएसबीले हामीले ल्याएको रासन समेत नदीमा फाल्छ,’ धामीले भने, ‘स्थानीय प्रशासनलाई गुहार्दा पनि समस्या समाधान हुँदैन।’
एसएसबीको अत्याचार रोक्न नेपाल सरकारले पहल गर्नुपर्ने उनी बताउँछन्।
‘एसएसबीको ज्यादती कहिलेसम्म सहनु? यो त अत्ति नै भयो,’ उनले भने, ‘यो समस्या पुरानै हो, यसलाई रोक्न सरकारी निकायबाट नै पहल हुनुपर्छ।’
नेपालकै बाटो भएर खलंगादेखि व्याँस गाउँपालिकाका क्षेत्रसम्म सहज बाटो नभएको स्थानीय सुरेन्द्र बुढाथोकीले बताए।
‘खलंगादेखि व्याँस गाउँपालिकामा पुग्न जोखिमपूर्ण यात्रा गर्नुपर्छ,’ उनले भने, ‘त्यहाँबाट यहाँसम्म आइपुग्न २-३ दिनसम्म लाग्छ।’
सरकारले नेपाली भूमिमै सहज बाटो निर्माण गर्नुपर्ने उनको भनाइ छ।
‘व्याँसवासीले सरकार भएको अनुभूति गरेका छैनन्,’ उनले भने, ‘सरकारले व्याँसवासीलाई न्याय दिने हो भने बाटो बनाउनु पर्छ।’
नेपाली भूमिमा बाटो निर्माण गर्न नसकिए महाकाली नदीमा पुल निर्माण गर्नुपर्ने उनको भनाइ थियो।
‘तत्काल यहाँसम्म बाटो पुग्ने सम्भावना कम छ,’ उनले भने, ‘अहिले सरकारले महाकाली नदीमा पुल निर्माण गरिदिए हामीलाई धेरै सुविधा हुन्छ।’
प्रदेश र संघ सरकारले विकास बजेट बढाएर गाउँपालिकाको भारतमाथिको परनिर्भरता हटाउनु पर्ने त्यहाँका जनप्रतिनिधिको माग छ।
Shares
प्रतिक्रिया