डेढ महिनाको अन्तरमा मेलम्ची नदीमा लेदोसहित आएको बाढीको स्रोत फरकफरक भएको अधिकारीहरुले बताएका छन्।
असार १ र २ गते तथा साउन १६ गते राति बगेको लेदोको स्रोत अलग–अलग रहेको राष्ट्रिय विपद् न्यूनीकरण प्राधिकरणका कार्यकारी निर्देशक अनिल पोखरेलले बताए।
‘असार र साउनमा लेदोसहित आएको बाढीको मूल छुट्टाछुट्टै छ। तर दुवै बाढीले दुवैतर्फका पहाड कपेर ल्याएका छन्। कतिपय स्थानमा नदीको पिँध समेत कपेको छ,’ पोखरेलले भने।
दुवै पटक मेलम्चीको बाढीले ठूलो क्षति पुर्याएको छ। पोखरेलसहितको विज्ञहरुको टोली आइतबार मेलम्चीको अध्ययन भ्रमणमा गएको थियो। तर, खराब मौसमका कारण टोली पहिरोको स्रोतसम्म पुग्न सकेको थिएन।
सुरुको स्रोत भेमाथाङ चौर र पछिल्लो गेगरनसहितको टार भएको उनले बताए।
‘त्यो टारलाई पनि भेमाथाङ नै भन्छन्,’ उनले भने। तामाङ भाषामा भेमाथाङ भनेको बालुवाको टार हो।
हेलिकोप्टरमा गएको हेलम्बु गाउँपालिकामा अध्यक्ष मिङ्मा ग्यालेन्ज शेर्पासहितको अर्को टोली भने पहिरोको स्रोतसम्म पुगेको थियो।
सो टोलीले खिचेको पहिरोको भिडिओ र फोटोहरु सार्वजनिक गरिएको छ। त्यसमा लेदोसहितको पानी बगेको देखिन्छ भने पहाडका दुवैतर्फबाट निरन्तर रुपमा सुख्खा पहिरो गइरहेको छ।
‘पछिल्लो पटक पहिरो गएको स्थानकै फोटो हेलम्बुको अध्यक्षसहितको टोलीले खिचेको हो,’ पोखरेलले भने, ‘तर हामीले अहिलेसम्म पहिरो गएको स्थानमा अध्ययन टोली पठाउन सकेका छैनौँ।’
अहिलेसम्म पहिरो सुरु भएको स्थानबाट, त्यसले कपेको स्थानबाट निरन्तर रुपमा पहिरो खसिरहेको छ।
‘यो सबै सोहोरिएर तल आएको हो,’ पोखरेलले भने, ‘१७ गते त्यो स्थान फुटेपछि अझै कति समयसम्म पहिरो खस्छ, माथिबाट सोहोरिएर आउने सम्भावना कति छ, त्यो कति घनमिटरको छ? सय भागमा एक भाग मात्रै आउने हो कि १० वा ५० भाग आउने हो, त्यस विषयमा अध्ययन सुरु गरेका छौँ।’
पोखरेलसहितको रेकी टोली मेलम्ची ध्याङसम्म पुगेर फर्किएको थियो। हेलम्बु क्षेत्रमा सबैभन्दा उच्च स्थानमा रहेको मानवबस्ती त्यही हो।
पुल्चोक इन्जिनियरिङ अध्ययन संस्थानस्थित जलस्रोत इन्जिनियरिङका विष्णु पाण्डे, खानी तथा भूगर्भ विभागबाट वरिष्ठ भूगर्भविद् शिव बाँस्कोटासहितको टोली त्यसतर्फ गएको थियो।
पोखरेलले पछिल्लो एक डेढ सय वर्षमा नेपालमा यस प्रकारको लेदोसहितको बाढी नआएको बताए।
‘सिन्धुपाल्चोकको जुरेको पहिराले गरेको विनाश हामीले देखेका हौँ। मानवीय क्षति त्यसमा धेरै भयो,’ पोखरेलले भने, ‘प्राकृतिक प्रकोपको तुलना गर्ने हो भने जुरेको पहिरो अञ्जुलीमा अट्ने माटो खन्याएजस्तो हो भने यो पहिरो ट्रकभरी माटो घोप्ट्याएजति हो।’
२०७१ साउन १७ राति सिन्धुपाल्चोकको जुरेमा पहिरो बस्ती पुर्दा १ सय ४५ जनाको मृत्यु भएको थियो।
अध्ययन टोलीका सदस्य तथा पुल्चोकस्थित इन्जिनियरिङ अध्ययन संस्थानका सहप्राध्यापक वसन्तराज अधिकारीले मौसम प्रतिकूल हुँदा अध्ययनमा कठिनाइ उत्पन्न भएको बताए।
‘मनसुनमा वेदर विन्डो एकदमै थोरै हुँदो रहेछ। मेलम्ची घ्याङभन्दा माथि हुस्सु लाग्ने रहेछ। जहाँबाट पहिरो सुरु भएको हो, त्यहाँसम्म जान सकेको देखिँदैन,’ अधिकारीले भने ‘तल्लो क्षेत्रमा सर्वे गर्ने, त्यसको ड्रोन म्यापिङ गर्ने काम भने भइरहेको रहेछ।’
पोखरेलले प्राविधिकहरुको टोली पठाउन अनुकूल मौसमको प्रतीक्षा गरिरहेको बताए।
‘त्यहाँ जाने १५ मिनेट बसेर फर्किने मात्रै होइन, अध्ययनका लागि प्राविधिकहरुको टोली ३–४ दिन बसेर अध्ययन गर्ने सक्ने गरी मौसमी अनुकूलका खोजिरहेका छौँ,’ पोखरेलले भने।
इन्द्रावतीको तीन वटा सहायक नदीमध्ये मेलम्ची एक हो। सोही नदीबाट काठमाडौं उपत्यकामा खानेपानी ल्याउने परियोजना भर्खरै निर्माणसम्पन्न भएको थियो। तर, लेदो बाढीले खानेपानी आयोजनालाई पुरेको छ।
‘थप अध्ययन नभई मेलम्चीको पहिरो कहिले थामिन्छ भन्न सक्ने अवस्था छैन,’ अधिकारीले भने।
Shares
प्रतिक्रिया