ad ad

समाज


व्याँसबासीलाई तुइनकै भर, जोखिमसँगै एसएसबीको डर

व्याँसबासीलाई तुइनकै भर, जोखिमसँगै एसएसबीको डर

फाइल फाेटाे


गोकुल जोशी
साउन १८, २०७८ सोमबार २०:१२, महेन्द्रनगर

दार्चुलाको दुर्गम क्षेत्र हो, व्याँस गाउँपालिका। यो गाउँपालिकाको उत्तरतर्फ चीन र पश्चिमतर्फ भारत पर्दछ। भारतले कब्जा गरेको नेपाली भूमि लिपुलेक, लिम्पियाधुरा पनि यही क्षेत्रमा पर्छ।

भौगोलिक हिसाबले विकट व्याँसबासीले सहज रुपमा सडक सञ्जालसँग जोडिन पाएका छैनन्। सदरमुकाम खलंगाबाट व्याँस पुग्न गोरेटो बाटो भए पनि वर्षातमा त्यो बाटो पनि बिग्रिएर त्यहाँका जनता थप सास्ती खेप्न बाध्य हुन्छन्।

असारदेखि वर्षाले बाटो बिग्रिको छ र यात्रा जोखिमपूर्ण हुन्छ। त्यसैमा हिँडेर यात्रा गर्नु पर्ने भएकाले त्यहाँका मानिस भारतको बाटो प्रयोग गरेर सदरमुकाम आवातजावत गर्छन्।

महाकाली नदीको तिरै तिरको नेपाली बाटो प्रयोग गरे त्यहाँ पुग्न उनीहरुलाई दुईदेखि तीन दिन लाग्छ। भारततर्फको बाटो प्रयोग गर्दा दुई/तीन घण्टामा पुगिन्छ।

त्यसैले भारतको बाटो प्रयोग गरेर धार्चुला हुँदै त्यहाँका मानिस खलंगा आउने गर्दछन्। व्याँसबासीले भारतको बाटो प्रयोग गर्नका लागि महाकाली नदी तर्नु पर्छ। त्यसको लागि उनीहरुको एक मात्र माध्यम तुइन हो। त्यसैले व्याँसबासीको तुइनसँगको नाता पुरानो छ।

महाकाली नदीमा ज्यानको बाजी राखेर तुइन चढ्दै भारतको बाटो प्रयोग गर्न बाध्य छन्, उनीहरु। 

‘भारतको बाटो प्रयोग गर्नु रहन होइन, हाम्रो बाध्यता हो। नेपालतर्फको बाटो सहज छैन। सदरमुकाम पुग्न दुई/तीन दिन लाग्छ’ स्थानीय हरिश धामीले भने, ‘झोलुङ्गे पुल नहुँदा तुइनमै जोखिमपूर्ण यात्रा गर्न बाध्य छौँ।’

१० ठाउँमा अस्थायी तुइन
निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालमा देश तुइनमुक्त भएको घोषणा गरेका थिए। तर दार्चुलामा भने तुइन विस्थापित भएर झोलुङ्गे पुल निर्माण हुन सकेका छैनन्।

व्याँस गाउँपालिकाका प्रवक्ता वीरेन्द्र सिंह बुढाथोकीका अनुसार गाउँपालिकाभित्र मात्रै १० वटा अस्थायी तुइन छन्। झोलुङ्गे पुल नहुँदा महाकाली नदी तर्न स्थानीयले तुइनको सहायता लिने गरेको उनी बताउँछन्।

‘नदी तर्न स्थानीयले तुइन लगाउँछन्। अहिले १० ठाउँमा अस्थायी तुइन छन्’ प्रवक्ता बुढाथोकीले भने, ‘एसएसबीले अवैध भनेर बेलाबेलामा तुइन काट्छन्। त्यहीँ पनि नदी तर्न चोरी छिपेर तुइन लगाइन्छ।’

पुल निर्माण अलपत्र
व्याँस गाउँपालिकाकाभित्र दुई ठाउँमा तीन वर्षदेखि झोलुङ्गे पुल निर्माणको काम ठप्प छ। नेपाल र भारतको सहमति पश्चात् संघ सरकारको लगानीमा निर्माण भइरहेका झोलुङ्गे पुलको काम अलपत्र अवस्थामा छन्।

व्याँस गाउँपालिका–२ मालघाट र वडा नम्बर ४ मलघट्यास्थित महाकाली नदीमाथि झोलुङ्गे पुल निर्माण भइरहेको छ। दुवै पुलको तीन वर्ष अगाडि शिलान्यास गरिएको थियो। तर पछि पुल निर्माणको काम भने अगाडि बढ्न नसकेको प्रवक्ता बुढाथोकीको भनाई छ।

‘झोलुङ्गे पुल निर्माणमा ढिलासुस्ती भइरहेको छ। ठेकेदारले म्याद थपेको थप्यै छ। स्थानीय सरकारको अधिकार क्षेत्रभित्र नपर्ने हुनाले हामीले पनि केही गर्न सकेका छैनौँ’ उनले भने, ‘पुल नहुँदा तुइनले नदी तर्दा नेपाली नागरिकले एसएसबीको हप्की सुन्नु पर्छ। अस्ती त अनाहकमा ज्यान नै लियो।’

शुक्रवार तुइनमा महाकाली नदी तर्ने क्रममा एसएसबीले तुइन काट्दा व्याँस गाउँपालिका–२ मालगाउँका ३३ वर्षीय जयसिंह धामी नदीमा खसेर बेपत्ता भएका थिए। 

महाकाली तर्न एउटै पुल
गाउँपालिकामा महाकाली नदी तर्नका लागि वडा नम्बर ५ र ६ को बीचमा एउटा मात्रै झोलुङ्गे पुल छ। वि.स. २०७४ सालमा निर्माण सम्पन्न भएको पुलले हुती र धौलाकोटका स्थानीयलाई महाकाली नदी तर्न सहजता भएको छ।

व्याँस गाउँपालिकामा ६ वटा वडा छन्। निर्माणाधीन पुलसँगै थप दुई झोलुङ्गे पुल निर्माण भए तुइन चढ्नु पर्ने बाध्यता हट्ने स्थानीयको भनाई छ।

तुइनसँगै चुँडियो परिवारको आशाको त्यान्द्रो

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .