ad ad

समाज


तुइनसँगै चुँडियो परिवारको आशाको त्यान्द्रो

श्रीमतीलाई नाबालक सन्तानको चिन्ता
तुइनसँगै चुँडियो परिवारको आशाको त्यान्द्रो

गोकुल जोशी
साउन १७, २०७८ आइतबार १५:३०, महेन्द्रनगर

दार्चुलाको व्याँस गाउँपालिका–२ मालगाउँका ३३ वर्षीय जयसिंह धामीको चार जनाको परिवार छ। उनको घरमा श्रीमती राजन्ती, सात वर्षीय छोरा र डेढ वर्षीया छोरी छन्। 

परिवारका एक मात्रै भरोसा जयसिंह रोजगारीका लागि विदेश जाने तयारीमा थिए  । त्यसकै लागि उनी शुक्रवार बिहान सदरमुकाम खलंगा आए। स्थानीयका अनुसार मालगाउँँबाट नेपालको बाटो हुदै खलंगा आउँदा झण्डै दुई दिन लाग्छ। तर भारतीय बाटो प्रयोग गरे दुई घण्टामै पुगिन्छ। 

भारततिरको बाटोमा गाडीको सुविधा भएकाले नेपालीहरु त्यहीँबाट खलंगा आवातजावत गर्दछन्। खलंगा जान शुक्रवार बिहान जयसिंहसँग गाउँकै ६-७ जना मानिस आएका थिए।

माल घाटबाट तुइनको सहयोगले भारततर्फ जाने गर्छन्, उनीहरु। यद्यपि विदेश जाने योजनासहित काठमाडौँ हिँडेका उनी गन्तव्यमा पुग्न सकेनन्। भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले उनी चढेको तुइन काटिदिँदा महाकाली खसेर बेपत्ता भएका थिए। 

सानो र सुखी जीवन बिताइरहेको यो परिवार अहिले शोकमा डुबेको छ। महाकाली नदीमा बेपत्ता भएका घरमूली जयसिंहको अवस्था अझै अज्ञात छ। 

कमाउने मूल व्यक्ति गुमाएपछि परिवारको बिचल्ली भएको जयसिंहका भाइ नरेन्द्र बताउँछन्। ‘केटाकेटी स–सना छन्। घरमा कमाउने दाइ मात्रै हुनुहुन्थ्यो। तर भारतीय एसएसबीका कारण हामीले उहाँलाई गुमाउनु पर्यो,’ उनले नेपालखबर भने, ‘भाउजू, भतिजा–भतिजी बिचल्लीमा परेका छन्।’

उनका अनुसार जयसिंहका परिवारको आर्थिक अवस्था कमजोर छ। उब्जाउ हुने अन्न बालीले मात्रै खान पुग्दैन। खाद्यान्न किनेर खानुपर्ने अवस्था छ।

त्यसैले पैसा कमाउन घर छाड्नै पर्ने बाध्यता थियो उनलाई। जयसिंहले करिब ७ वर्ष नेपाली सेनामा काम गरे। त्यसले परिवारको आर्थिक अवस्था उकास्न नसकिने भएपछि कतार गए। त्यहाँ उनले दुई वर्ष सेक्युरिटी गार्डका रुपमा काम गरे। 

त्यसपछि गाउँ फर्केका उनले घर बनाए। जयसिंहका चार दाजुभाइ छन्। ४ वर्षअघि उनी छुट्टिएर अलगै बसेका थिए। घर बनाउँदा लागेको ऋण तिर्न दुई वर्षअघि फेरि कतारतिर हानिए उनी। तर उनी यसपल्ट विदेशमै अलपत्र गरे।

‘दाजुलाई दलालले विदेशमा अलपत्र परे। त्यसैबेला लकडाउन भयो। अनि यताबाट पैसा पठाएर उहाँलाई घर ल्याएका थियौँ,’ नरेन्द्रले भने, ‘विदेश जान उनले ३-४ महिना काठमाडौँमा पनि बिताए थिए।’

घर बनाउँदा लागेको ऋण तिर्न र परिवार पाल्ने खर्च जुटाउन विदेश हानिएका धामीमाथि अझै ऋणको भार थपियो। विदेशमा अलपत्र परेपछि घरबाट खर्च जुटाएर घर आएका उनी बेरोजगार बसेका थिए।

एकातिर विदेश जाँदा लागेको ऋण तिर्नुपर्ने र अर्कातिर परिवार चलाउनुपर्ने बाध्यता थियो उनलाई। यसकै लागि उनले फेरि रोजे विदेश यात्रालाई।

शुक्रवार साइतको टीका लगाएर घरबाट हिँड्ने बेला जयसिंहले विदेश जान सम्भव नभए गौरामा छोराछोरीका लागि नयाँ लुगा ल्याएर फर्किने आश्वासन दिएका थिए। 

काठमाडौँ जान सदरमुकाम खलंगा आउँदै गर्दा महाकाली तर्ने क्रममा भारतीय सीमा सुरक्षाबल एसएसबीले तुइन काटेर उनका सबै सपना उर्लेको महाकालीमा मिलाइदिए।

डेढ वर्षकी छोरी र सात वर्षका छोराको लालन–पालन र शिक्षा–दीक्षाको जिम्मेवारी अब श्रीमती राजन्तीको काँधमा आएको छ ।

‘अभिभावक गुमाउँदा परिवारलाई ठूलो बज्रपात परेको छ। कसरी घर चलाउने भन्ने समस्या भएको छ,’ स्थानीय हरकसिंह कार्कीले भने, ‘शिक्षा, दीक्षा र लालनपालनका लागि सरकारले परिवारलाई राहत उपलब्ध गराउनुपर्छ।’
जयसिंह बेपत्ता भएको सुनेदेखि श्रीमती राजन्ती र आमा–बुवा विक्षिप्त छन्। उनीहरु बेहोस हुँदै होसमा फर्किँदै जयसिंहलाई सम्झिरहेका छन्।

गाउँलेले उनीहरुलाई ढाडस दिँदै सम्झाइरहेका छन्। बेपत्ता जयसिंहको खोजतलासमा स्थानीय, प्रहरी, शसस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान आयोगको टोली लागेको दार्चुला प्रशासनले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .