ad ad

समाज


जथाभावी सडक खन्दा गाउँकै उठिबास, ९७ परिवारको जंगलमा बास

जथाभावी सडक खन्दा गाउँकै उठिबास, ९७ परिवारको जंगलमा बास

गोकुल जोशी
साउन १४, २०७८ बिहिबार १५:५९,

बाजुरा सदरमुकाम मार्तडीबाट करिब ७५ किलोमिटर उत्तर–पूर्वी दिशामा पर्छ, हिमाली गाउँपालिका। भौगोलिक रुपले विकट सो गाउँपालिकाको वडा नम्बर ५ मा क्युडी भन्ने गाउँ छ। 

गाउँपालिकाको केन्द्रबाट झण्डै एक दिन पैदल हिँडेर पुगिने क्युडीमा ९७ परिवारको बसोबास छ। तर अहिले पहिरोका कारण उनीहरु त्यहाँबाट विस्थापित भएका छन्।

प्रत्येक वर्ष आउने पहिरोका कारण गाउँमा जोखिम बढेपछि क्युडीबासीको उठीबास भएको हो। असारको पहिलो साता क्युडीमा पहिरोले अधिकांशका घरमा क्षति पुर्‍याएको थियो भने केहीका घर त पुरै बगायो। 

स्थानीयका अनुसार बाली उब्जाउ हुने खेत पनि पहिरोले तहसनहस गरेको छ। अव्यवस्थित रुपमा जंगल फडानी गरेर बस्ती बस्दा र बस्तीको तलबाट सडक विस्तार गर्दा गाउँ पहिरोको जोखिममा परेको हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द बहादुर मल्ल बताउँछन्।

‘सुरुमा बस्ती थोरै थियो। आजभोलि जंगल फडानी गरेर बस्ती बसाइएको छ। र गाउँ नजिकैबाट सडक बनाएकाले बाढी पहिरोको जोखिम बढेको छ’ उनले भने, ‘त्यसैले गाउँमा बस्न नमिल्ने भएपछि उहाँहरुलाई अन्यत्र बस्न लगाइएको छ।’

उनका अनुसार अहिले गाउँ चिराचिरा परेर भासिएको छ। र कसैका घर भत्किएका छन् भने कसैका घर बांगाटिंगा भएका छन्।

यस्तै जमीन भासिएर कमजोर भएपछि गाउँको बीच भाग भएर बग्ने खहरे खोलाले पनि कटान गर्न थालेपछि जोखिम बढेको स्थानीय बताउँछन्।

क्युडी सडक सञ्जालसँग जोडिएको थिएन। सुदूरपश्चिम प्रदेश सरकारले गाउँकै मुनि तिरबाट सडक (रुगिन–बिच्छ्या पहुँच) मार्ग बनाएको छ। जसले गर्दा गाउँ नै भासिएर त्यहाँका बासिन्दाले विस्थापित हुनु परेको छ। 

सडक सञ्जाल पुगेपछि आवतजावतमा सहज हुने भन्दै खुसी भएका गाउँले सोही सडकका कारण विस्थापित हुनु परेको हो। वातावरणीय प्रभाव मूल्याङ्कन नगरी सडक विस्तार गर्न डोजर प्रयोग भएपछि गाउँ भासिएको गाउँपालिकाका एक कर्मचारीले बताए। 

‘गत वर्ष बर्खाको बाढीले गाउँ क्षतविक्षत भएको थियो। त्यसैमा यो वर्ष अन्धाधुन्ध रुपमा डोजर चलाइयो’ उनले भने, ‘त्यसैले जमिन भासिएर गाउँमा जोखिम बढे पछि गाउँलेले बसाइसराइ गर्नु परेको छ।’

उनका अनुसार ९७ परिवार नै बसाई सरेर गाउँ नजिकैको जंगलमा बसेका छन्। 

जंगलमा न उनीहरुका लागि राम्रो बास छ न त गास नै। पहिरोले विस्थापित क्युडीबासीले घरभित्रका अन्नबाली, लत्ताकपडा बगाएपछि जंगलमा दयनीय जीवन बिताइरहेका छन्।

‘ओढ्ने–ओछ्याउने छैन। ओत लाग्ने पाल छ। तर सबैलाई पुगेको छैन। पानी पर्‍याे भने झनै समस्या हुन्छ’ ती कर्मचारीले भने, ‘३/४ परिवार एउटै त्रिपालमा कोचाकोच गरेर बसेका छन्।’

अहिले क्युडीबासीलाई गाउँपालिकाले बस्नको लागि त्रिपाल तथा खाद्यान्न वितरण गरेका गाउँपालिकाका अध्यक्ष मल्लले बताए। उनका अनुसार खानेपानीको व्यवस्था र अस्थायी शौचालय पनि निर्माण गरिएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .