ad ad

समाज


निर्मला हत्या भएको ३ वर्ष पूरा, कहाँ पुग्यो अनुसन्धान?

निर्मला हत्या भएको ३ वर्ष पूरा, कहाँ पुग्यो अनुसन्धान?

निर्मला पन्त


गोकुल जोशी
साउन १०, २०७८ आइतबार ११:६,

कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको आज ३ वर्ष पूरा भएको छ। १० साउन २०७५ मा विद्यालयको गृहकार्य गर्न साथीको घर गएकी भीमदत्त नगरपालिका–२ की बालिका निर्मला भोलिपल्ट बलात्कारपछि हत्या गरिएको अवस्थामा स्थानीय उखुबारीमा भेटिएकी थिइन्। 

यस्तो जघन्य अपराध भएको ३ वर्ष बितिसक्दा पनि अपराधी पहिचान हुन सकेको छैन। निर्मलाको शव भेटिएको दिनदेखि नै अनुसन्धानमा जुटेको कञ्चनपुर प्रहरीले अहिलेसम्म ठोस तथ्य पत्ता लगाउन सकेको छैन।

अनुसन्धानमा संलग्न टोलीले घटनाबारे विभिन्न माध्यमबाट प्राप्त हुने सूचना पछ्याउँदै सूक्ष्म ढंगले अनुसन्धान गरिरहेको दाबी गरेका छन्।

यसबीच प्रहरीले डीएनए परीक्षण, शंकास्पद व्यक्तिसँग बयानलगायत सूक्ष्म अनुसन्धान गरिसकेको छ। तर पनि अपराधीको छेउछाउ पनि अनुसन्धान पुग्न सकेको देखिँदैन। अनुसन्धान आफैं कुहिरोको कागजस्तो बनेको छ। 

सुरुमै प्रहरीले गल्ती गरेका कारण अनुसन्धान झन्झटिलो बनेको र रहस्यमयीजस्तो बन्न पुगेको अनुसन्धान टोलीको दाबी छ। 

निर्मला हत्याकाण्डमा प्रहरी निकै आलोचित भयो। अनुसन्धानमा उच्च छवि बनाएको सीआईबीलाई समेत घटनाको प्रमाण लुकाउन खोजेको आरोप आइलाग्यो। प्रहरीको इतिहासमै पहिलोपटक सीआईबी पनि अनुसन्धानमा चुक्यो। 

यसले नेपाल प्रहरीको अनुसन्धान प्रक्रियामै प्रश्न खडा गरेको छ। प्रहरीप्रतिको जनविश्वास नै घट्दै गएको छ।

स्थानीय सरस्वती माध्यमिक विद्यालयमा कक्षा ९ मा पढ्ने पन्तको बलात्कारपछि हत्याको विरोधमा कञ्चनपुरसहित देशैभर प्रदर्शन भए। महेन्द्रनगरबाट सुरु विरोध प्रदर्शन बिस्तारै देशभर फैलिएको थियो।  

मुख्य अभियुक्त भनेर प्रहरीले मानिसिक अवस्था ठीक नभएका स्थानीय दिलीपसिंह विष्टलाई सार्वजनिक गरेपछि महेन्द्रनगरमा भइरहेको आन्दोलनले उग्र रूप लियो।

आन्दोलन चर्किएपछि प्रहरीले लाठी र अश्रुग्यास मात्र होइन, गोलीसमेत चलायो। गोली लागेर २४ जना आन्दोलनकारी घाइते भए भने स्थानीय युवक सन्नी खुनाको त ज्यानै गयो।

स्थानीयको दबाबपछि कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्टका छोरा किरण विष्ट र आयुश विष्ट तथा दिलीपसिंह विष्ट, प्रदीप रावल र विशाल चौधरीलगायत झण्डै ८० जनाको डीएनए परीक्षण गरियो। तर रिपोर्ट निर्मलाको भेजाइनल स्वाबसँग मिलेन। 

तीन वर्षसम्म पनि अपराधी पहिचान हुन नसक्दा अब त परिवारले न्याय पाउने आशा मारेको छ। 

‘दोषीलाई कारबाही गर्ने सबैले आश्वासन दिए। तर यत्तिका समय भइसक्दा पनि छोरीले न्याय पाउन सकिनन,’ आमा दुर्गादेवीले पन्तले नेपालखबरसँग भनिन्, ‘अब त न्याय पाउने आशा पनि कम हुँदै गयो।’

अनुसन्धान: जहाँको तहीँ, के गर्दै छ प्रहरी?
निर्मला बलात्कार तथा हत्या प्रकरणको अनुसन्धान प्रगति ‘शून्य’जस्तै छ। घटना भएको ३ वर्ष बितिसक्दा पनि अपराधी पहिचान हुन सकेको छैन। नेपाल प्रहरीको अनुसन्धान ‘कुहिरोको काग’जस्तै भएको छ।

५ सय २९ जनासँग बयान लिइएको छ भने ८० जनाको डीएनए परीक्षण गरिएको छ। तर दरिलो प्रमाण प्राप्त हुन सकेन। यसले गर्दा यो प्रकरण नेपाल प्रहरीकै लागि चुनौती बनेको छ।

उता कञ्चनपुर जिल्ला प्रहरी कार्यालयका एसपी उमाप्रसाद चतुर्वेदी भने घटनालाई पहिलो प्राथमिकता दिएर गहन रूपमा अनुसन्धान भइरहेको दाबी गर्छन्। 

‘यो घटनाको अनुसन्धानलाई हामीले प्रमुख प्राथमिकतामा राखेका छौं।  त्यसका लागि छुट्टै टिम सक्रिय छ,’ उनले नेपालखबरसँग भने, ‘तर निष्कर्षमा पुग्ने ठोस प्रमाण भेटाउन सकिएको छैन। दोषी पुष्टि गर्ने प्रमाण खोजीमा छौं।’

यो प्रकरण अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयको टोलीसँगै सीआईबीलगायत अनुसन्धान टोली सक्रिय छन्। परिणाम आउन ढिला भए पनि आफूहरूले वस्तुपरक तरिकारले अनुसन्धान गरिरहेको उनीहरूको दाबी छ। शंकास्पद मानिएका विषयको निरन्तर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

निर्मला प्रकरणमा अपराधीसम्म पुग्ने दरिलो आधार डीएनए परीक्षण मात्रै हो। पछिल्लो समय डीएनएमा पनि प्रश्न उठेको छ। राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका पूर्वनिर्देशक जीवन रिजालको संयोजकत्वमा गठित ३ सदस्यीय समितिले डीएनएलाई प्रमाणका रूपमा लिन नमिल्नेसमेत ठहर गरेको छ।

६ सीडिओ, ४ एसपी फेरिए
निर्मला बलात्कार तथा हत्या प्रकरणयता कञ्चनपुरमा ६ सीडीओ र ४ एसपी फेरिए। निर्मला हत्याका बेला कुमारबहादुर खड्का सीडीओ थिए।

२०७५ भदौमा उनी बिदा भए। त्यसपछि २०७५ भदौ ५ मा तारानाथ अधिकारी सीडीओ बनेर आए। उनी पनि ४ महिनामै फर्किए। यसपछि सहायक सीडीओ शंकरबहादुर विष्टले २ महिना जिल्लाको प्रशासनिक जिम्मेवारी सम्हाले।

पछि सीडीओ सुशील वैद्य आए। त्यसपछि नुरहरी खतिवडा र रामकुमार महतोले कञ्चनपुरमा प्रशासनिक नेतृत्व सम्हालेका थिए। अहिले रामप्रसाद पाण्डे सीडीओ छन्। 

प्रहरी प्रमुख एसपी फेरिने क्रम पनि यहाँ उत्तिकै छ। निर्मला हत्याका बखत प्रहरी प्रमुख एसपी डिल्लीराज विष्ट थिए। निर्मला प्रकरणका प्रमाण नष्ट गरेको भन्दै उनी बर्खास्तगीमा परे। 

तर प्रमाण नष्ट र यातना मुद्दा खेपेका एसपी विष्टसहित ८ प्रहरीले २०७७ साउन १५ गते कञ्चनपुर जिल्ला अदालतबाट सफाइ पाए। 

विष्टपछि निर्मला प्रकरणकाे आन्दोलन चर्केका बेला एसपी कुँवेर कडायतलाई जिम्मेवारी दिइयो। उनी ५ महिना मात्रै यहाँ बसे। त्यसपछि २०७५ फागुन १५ मा जिल्ला प्रहरी प्रमुखका रुपमा एसपी दिनेश आचार्य आए। 

उनी २०७६ पुस ९ गते सरुवा भए। त्यसपछि एसपी मुकुन्द मरासिनीले कञ्चनपुर प्रहरीको प्रमुखको जिम्मेवारी सम्हालेका थिए। अहिले कञ्चनपुर प्रहरीको प्रमुखमा एसपी उमाप्रसाद चतुर्वेदी छन्। 

नयाँ नेतृत्वले जगाएको आशा
निर्मला प्रकरणको ३ वर्षको अवधिमा नेपाल प्रहरीले ३ जना प्रहरी महानिरीक्षक (आईजीपी) पायो। तत्कालीन आईजीपी सर्वेन्द्र खनालको कार्यकालमा घटना भएको थियो।

प्रहरीको साखमा प्रश्न उठाएको प्रकरणको अनुसन्धानले तत्कालीन आईजीपी सर्वेन्द्र खनाल, ठाकुरप्रसाद ज्ञवालीको कार्यकालमा सफलता पाउन सकेन। अब यो प्रकरणको सफल अनुसन्धान गरेर प्रहरीको साख जाेगाउने जिम्मेवारी आईजीपी शैलेश थापाको काँधमा आएको छ। 

यस्तै कञ्चनपुर आएर यो प्रकरणको अनुसन्धान गरेका केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का एसपी उमाप्रसाद चतुर्वेदी अहिले कञ्चनपुर प्रहरी प्रमुख छन्।

उता नेपाली कांग्रेसको नेतृत्वमा नयाँ सरकार पनि बनेकाे छ। रामबहादुर थापा गृहमन्त्री रहेको बेला याे घटना भएकाे थियो। 

अहिले गृहमन्त्री नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण छन् भने सुदूरपश्चिमबाटै राष्ट्रिय राजनीतिमा प्रतिनिधित्व गर्ने कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री छन्।

निर्मलाको न्याय माग गर्दै कांग्रेसले पनि आन्दोलित भएको थियो। नयाँ नेतृत्व पाएसँगै आम नागरिकले निर्मला हत्याकाण्डको वास्तविकता बाहिरिने आशा गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .