अर्बपति इलोन मस्कले आर्टिफिसियल इन्टेलिजेन्सको विकासले अन्ततः कुनै पनि मानिसले काम गर्नुपर्ने अवस्था ल्याउने बताएका छन्। एक सम्मेलनमा बेलायती प्रधानमन्त्री ऋषि सुनकसँग संवाद गर्दै मस्कले यस्तो बताएका हुन्।
५० मिनेट लामो अन्तर्वार्तामा मस्कले प्रविधिले ज्याला/तलबमा गरिने कामलाई अनावश्यक बनाउने भविष्यवाणी गरे।
उनीहरुले रोबोटले मानिसको रोजगारी खोस्नसक्ने विषयमा पनि चर्चा गरे।
‘सुरक्षाको चिन्ता छ, खासगरी मानव स्वरुपको रोबोटलाई लिएर। कमसेकम कारले चाहिँ भवनभित्र र रुख माथिसम्म तपाईंलाई लखेट्दैन,’ मस्कले भने।
मस्कले एआई कम्पनीहरुमा लगानी गरेका छन्। उनको चालकरहित टेस्ला कारमा पनि यो प्रविधि प्रयोग गरिएको छ।
एआईको फाइदाबारे मस्कले भने, ‘मेरो एक छोरालाई साथी बनाउन समस्या छ। उसका लागि एआई साथी गज्जब हुने थियो।’
त्यस्तै एआई गतिलो शिक्षक हुने पनि उनीहरुले बताए।
तर, चाँडै यसको बेफाइदाबारे कुरा सुरु भयो।
‘हामी इतिहासको सबैभन्दा विघटनकारी शक्ति देखिरहेका छौँ,’ मस्कले भने, ‘एउटा यस्तो विन्दु आउनेछ, जहाँ कुनै काम आवश्यक पर्नेछैन। तपाईं आत्मसन्तुष्टिका लागि काम गर्न चाहनुहुन्छ भने गर्न सक्नुहुन्छ। तर, सबथोक एआईले गर्नेछ। यो राम्रो र नराम्रो दुवै हो। भविष्यको एउटा चुनौती भनेको जिन्दगीको अर्थ भेट्टाउनु हुनेछ।’
पहिले सिलिकन भ्याली अवस्थित क्यालिफोर्नियामै बसेका सुनक अन्तर्वार्ताकारको भूमिकामा रमाएका देखिए।
सेन्ट्रल लन्डनको विशाल ल्यान्कास्टर हाउसमा प्रविधि उद्योगका आमन्त्रित पाहुनाहरुमाझ सो कार्यक्रम राखिएको थियो। टीभी क्यामराहरुलाई भित्र जान दिइएको थिएन। पछि प्रधानमन्त्री कार्यालयले आफैँले भिडिओ रिलिज गरेको थियो। केही पत्रकारलाई प्रवेश दिइए पनि प्रश्न सोध्न अनुमति थिएन। एजेन्सी
Shares
प्रतिक्रिया