एप्पल इन्कले बहुप्रतीक्षित उत्पादन आईफोन १३ र नयाँ आईप्याड मिनी सार्वजनिक गरेको छ।
धेरै महत्वसाथ हेरिएको सार्वजनिक कार्यक्रम मंगलबार सम्पन्न भयो। हरेक वर्ष आफ्ना नवीनतम प्रविधियुक्त उत्पादन सार्वजनिक गर्दै आएको एप्पलले यसपटक नयाँ उत्पादनमा पनि नवप्रवर्तनलाई विशेष जोड दिएको छ।
सार्वजनिक गरिएका उत्पादनमा द्रुतगतिको फाइभजी प्रविधि छ। यसमा द्रुतगतिका चिप्स जडान छन् भने फोनको मूल्य नबढाईकनै उसले क्यामेरालाई अझै उत्कृष्टता प्रदान गरेको छ।
के के विशेषता छन् त आईफोन १३ मा?
हिजोमात्र सार्वजनिक गरिएको आईफोन १३ मा कम्पनीले नयाँ ए१५ चिपको प्रयोग गरेको छ। यसले अक्षरहरु स्वतः अनुवाद गर्नसक्छ।
त्यस्तै यसमा डिस्प्लेलाई अझै परिष्कृत गरी राम्रो बनाइएको छ भने पहिलेभन्दा लामो समयसम्म टिक्ने ब्याट्री राखिएको छ।
यसबाहेक भिडिओ खिचिरहँदा स्वतः फोकस परिवर्तन हुने सिनेम्याटिक मोड राखिएको छ। एप्पलका अनुसार आईफोन १३ मा द्रुतगतिको लागि आवश्यक फाइभजी एन्टेना र रेडियो कम्पोनेन्टहरु छन्।
५ रंग, मूल्य कति?
यो आईफोन पाँच रंगहरुमा उपलब्ध हुने भएको छ।
यसको सुरुवाती बजार मूल्य ६ सय ९९ अमेरिकी डलर मात्र छ। वयरलेस क्यारियरयुक्त फोन खरिदकर्ताले भने ७ सय अमेरिकी डलर तिर्नुपर्ने हुन्छ।
त्यसैगरी आईफोन १३ प्रोको सुरुवाती मूल्य ९ सय ९९ अमेरिकी डलर छ भने प्रो म्याक्सको सुरुवाती मूल्य १ हजार ९९ अमेरिकी डलर छ।
यी तीनवटै मोडल सेप्टेम्बर २४ देखि अर्थात् अबको नौ दिनपछि बजारमा उपलब्ध हुनेछ।
नयाँ आईफोनको मूल्य गत वर्षअनुसारकै हो।
अपडेट भयो आईप्याड मिनी
यसैबीच, एप्पलले आईप्याड मिनीको अपडेट गर्दै फाइभजी कनेक्टिभिटी र डिजाइन परिष्कृत गरी सार्वजनिक गरेको छ। हेर्दा खेरि यो आईप्याड एयर र प्रोमोडलका जस्ता देखिन्छ। यसलाई ‘सरप्राइजिङ एनाउन्समेन्ट’ मानिएको छ।
फाइभजी कनेक्टिभिटीको कारण ग्राहकले यसलाई धेरै रुचाउनसक्ने मानिएको छ। तर यसको मूल्य भने बढेको छ। अब यसलाई किन्नेले एक सय अमेरिकी डलर बढी तिर्नुपर्ने हुन्छ।
मूल्यसँगै यसका फिचरहरु पनि बढेको छ। कम्पनीका अनुसार एप्पल पेन्सिल र द्रुतगतिको चिप, ठूलो स्क्रिनजस्ता फिचर थप गरेको छ।
यसमा बेस मोडल अपडेट गरी नयाँ क्यामेरा राखिएको छ। नयाँ आईप्याड मिनीको सुरुवाती मूल्य ३२९ अमेरिकी डलर र मिनीको ४ सय ९९ अमेरिकी डलर छ।
यी आईप्याड अर्को हप्तादेखि बजारमा उपलब्ध हुनेछन्।
Shares
प्रतिक्रिया