ad ad

राजनीति


गृहमन्त्री लेखकले भने– कांग्रेस एमाले सहमति कार्यान्वयनमा शंका नगर्नुस्

संविधान संशोधनको विषयले नझस्कन आग्रह
गृहमन्त्री लेखकले भने– कांग्रेस एमाले सहमति कार्यान्वयनमा शंका नगर्नुस्

गोकुल जोशी
भदौ १९, २०८१ बुधबार १२:९, कञ्चनपुर

गृहमन्त्री रमेश लेखकले संविधान संशोधनको विषयलाई राजनीतिक रुपले शंकाको घेरामा राखेर अपव्याख्या गर्न नहुने बताएका छन्।

बुधबार कञ्चनपुरको महेन्द्रनगरमा प्रदेश प्रहरी कार्यालयको नवनिर्मित भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री लेखकले यस्तो बताएका हुन। 

संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी चरित्रलाई थप सुदृढ बनाउनेगरी  संविधान संशोधन गरिने भएकाले यसमा शंका नगर्न समेत उनले उल्लेख गरे। 

‘संविधान संशोधनको विषयलाई राजनीतिक रुपले शंकाको घेरामा राख्ने, यदाकदा अपव्याख्या गर्ने र यसैमा राजनीति गर्ने उद्देश्य नराख्न अनुरोध गर्दछु,’ नेपाली कांग्रेसका नेता समेत रहेका गृहमन्त्री लेखकले भने, ‘कतिपय साथीहरू र पार्टीहरू संशोधनको कुरा गर्दा झस्किनुहुन्छ, नझस्किनुस्, राज्यको समावेशी चरित्रलाई थप समावेशी बनाउने गरि संविधान संशोधन गरिनेछ।’

संविधानको भएको व्यवस्थाअनुसार संविधानको अभ्यासका क्रममा देखा परेका सबल र दुर्बल पक्षको समिक्षा गरेर संशोधन गरिने उनले बताए। 

राजनीतिक स्थिरतासँगै विसंगति, विकृति नियन्त्रणका लागि देशका दुई ठूला राजनीतिक दल नेपाली कांग्रेस र एमाले मिलेर सरकार गठन भएको लेखकले बताए। कम्युनिस्ट र कांग्रेस मिल्दा ऐतिहासिक काम गर्न सफल भएको उनले बताए।

‘कांग्रेस र कम्युनिस्ट मिल्दा पञ्चायत ढाल्न सफल भयौँ, हामी मिलेर सशस्त्र द्धन्द्धलाई शान्तिमा ल्यायौँ, माओवादीलाई शान्ति प्रक्रियामा ल्याएर संविधान निर्माण गर्‍यौँ,’ लेखकले भने। 

अहिले पनि विशिष्ट कार्यभार सम्पादन गर्न तालमेल गरिएको उनले बताए। कांग्रेस र एमालेबीच असार १७ मा भएको सात बु‘दे सहमति इमान्दार रुपमा कार्यान्वयन गर्न दुवै दल प्रतिबद्ध रहेको उनको जिकिर थियो।

यसको कार्यान्वयनमा कसैलाई पनि शंका नगर्न उनले आग्रह गरे। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले सहमतिलाई स्वीकारेर कार्यान्वयनमा दृढता व्यक्त गरेर उनले बताए। 

‘कांग्रेस र एमालेकाबीचमा भएको सम्झौतालाई हामी इमान्दारीपूर्वक कार्यान्वयन गर्छौँ, र यसको कार्यान्वयनमा कसैलाई पनि शंका नगर्न आग्रह गर्दछु,’ लेखकले भने, ‘नेपाली कांग्रेस पूर्ण प्रतिबद्ध छ। एमालेले पनि यो सहमतिको विकल्प नभएकाले कार्यान्वयनमा दृढता व्यक्त गरेको छ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .