सुदूरपश्चिम प्रदेशमा सत्तारुढ गठबन्धनका दलहरुबीच भागबन्डा टुंगो लागेसँगै शुक्रबार मन्त्रिपरिषद् विस्तार हुँदैछ।
प्रदेश सरकारको १०० दिनका उपलब्धि सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्री कमलबहादुर शाहले शुक्रबार सरकार विस्तार गरिने बताए।
शीर्ष तहमा भागबन्डा मिलेपछि प्रदेश सरकारमा विस्तार हुन लागेको हो।
संविधानको धारा १६८ को उपधारा ३ बमोजिम २६ माघमा शाह मुख्यमन्त्री नियुक्त भएका थिए। २१ फागुनमा उनले प्रदेश सभाबाट विश्वासको मत लिएका थिए।
मुख्यमन्त्री नियुक्त हुँदा कांग्रेसबाट प्रकाश देउवा र नेकपा एकीकृत समाजवादीबाट नरेश शाहीलाई मन्त्री नियुक्त गरेपछि अहिलेसम्म भागबन्डा नमिल्दा सरकार विस्तार हुन सकेको थिएन।
भागबन्डाअनुसार गठबन्धनमा आवद्ध दल नेकपा माओवादी केन्द्र दुई, नेपाली कांग्रेसले थप एक र नागरिक उन्मुक्ति पार्टीले एक मन्त्रालय पाउने सहमति भएको छ।
नेकपा माओवादी केन्द्र संसदीय दलका नेता खगराज भट्टका अनुसार अढाई वर्षपछि माओवादीले प्रदेश सरकारको नेतृत्व गर्ने पनि सहमति भएको छ।
यस्तै, कांग्रेस, माओवादी र नागरिक उन्मुक्ति पार्टीले एक-एकजना राज्यमन्त्री पनि पाउने गरी सहमति जुटेको छ।
माओवादीले सामाजिक विकास मन्त्रालय र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय पाएको छ।
माओवादीले सरकारमा पठाउने प्रदेशसभा सदस्यको नाम पनि टुंग्याएको छ। सांसदद्धय रमेश धामी र झपट साउदलाई मन्त्रीका लागि माओवादीले अघि सारेको छ।
यस्तै समानुपातिक सांसद गितादेवी माललाई राज्यमन्त्रीमा पठाउने माओवादीको तयारी छ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालय पाएको कांग्रेसले भने अझै सरकारमा जाने मन्त्रीको टुंगो लगाएको छैन। कांग्रेसमा शिवराज भट्ट र मेघराज खड्कालगायत मन्त्रीको आकांक्षी छन्।
नागरिक उन्मुक्तिको भागमा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय परेको छ।
तर नागरिक उन्मुक्तिले दुई मन्त्रालय दाबी गरेको थियो। त्यही अनुसार रामेश्वर चौधरी र लक्ष्मणकिशोर चौधरीलाई सरकारमा पठाउने तयारीमा नागरिक उन्मुक्ति थियो।
उन्मुक्तिले सामाजिक विकास मन्त्रालयमा पनि दाबी गरेको छ।
‘हाम्रो दुई मन्त्रालयमा दाबी हो, हेडक्वार्टरमा पनि यस्तै सम्झदारी भएको थियो,’ संसदीय दलका नेता घनश्याम चौधरीले नेपालखबरसँग भने, ‘सरकार विस्तारको कुरा सुनिएको छ, हामीले दुई मन्त्रालय पाउनुपर्छ।’
Shares
प्रतिक्रिया