गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापाले गठबन्धन सरकारमा मुख्यमन्त्री र अर्थमन्त्री एउटै दलको नहुँदा पश्चाताप भएको बताएका छन्।
नेपाल प्रेस युनियन कास्कीले बिहीवार गरेको पत्रकार सम्मेलनमा मन्त्री थापाले बजेट निर्माणमा मुख्यमन्त्री र अर्थमन्त्रीबीच कुरा नमिल्दा सोचेअनुरुप काम हुन नसकेको समेत स्वीकारे।
गण्डकी सरकारले बजेटको बेला सवारी, मालपोत लगायत क्षेत्रमा गरेको कर वृद्धि निर्वाचन मिति घोषणापछि सच्याएको समेत मन्त्री थापाले बताए।
उनले बजेट निर्माणका क्रममा आफूले कुनै भुमिका नपाएको बताउँदै आफ्नो मन्त्रालयको बजेटसमेत कटौती गरेको गुनासो गरे।
उनले पार्टीले टिकट दिए फेरि पनि कास्की क्षेत्र नम्बर २ बाटै चुनाव लड्ने इच्छा व्यक्त गरेका छन्।
‘संघीयतापछि पहिलो प्रदेश सरकार भएको कारण केही कमीकमजोरी भएका हुन सक्छन्, तिनलाई सुधारेर आगामी दिनमा अगाडि बढ्ने छौँ’, उनले भने।
मन्त्री थापाले प्रदेशसभा सदस्यमा निर्वाचित भएदेखि हालसम्म खाइपाइ आएको सेवासुविधा विकास निर्माण र सामाजिक कार्यमा खर्चिने गरेकोमा हालसम्मको रकम सार्वजनिक गरे।
वि.सं.२०७४ सालमा निर्वाचित भएदेखि २०७८ चैत्रसम्म विकास निर्माण र सामाजिक कार्यमा आफूले ५८ लाख २९ हजार रुपैयाँ खर्च गरेको थापाले बताए।
उनले प्रदेशसभाको पहिलो वर्ष १० लाख ५४ हजार, दोस्रो वर्ष ९ लाख ३ हजार, तेस्रो वर्ष १२ लाख, ४७ हजार र चौथो वर्ष ११ लाख ३६ हजार रुपैयाँ सामाजिक कार्यमा खर्च भएको बताए।
थापाले सार्वजनिक गरेको विवरणअनुसार वि.सं. २०७४ सालदेखि हालसम्म उनको बैंक खातामा ४० लाख ७१ हजार रुपैयाँ छ।
जुन रकम बैठक भत्तादेखि मासिक पारिश्रमिक र अन्य सेवा सुविधा समेतको भएको मन्त्री थापाले बताएका छन्।
मन्त्री थापाले सांसद निर्वाचित हुनुअघि नै राज्यबाट पाउने सेवा सुविधा सामाजिक सेवामा खर्च गर्ने प्रतिवद्धता जनाएका थिए।
Shares
प्रतिक्रिया