लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोलाई पराजित गर्दै सर्लाही क्षेत्र नं. २ बाट महिन्द्र राय यादव निर्वाचित भएका छन्।
माओवादी केन्द्रको चुनाव चिन्हबाट लडेका यादवले लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोलाई पराजित गरेका हुन्।
यादवले २३ हजार ५२९ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्दी लोसपाका महतोले २१ हजार ५१८ मत ल्याए। यस्तै, नेकपा एमालेका राज नारायण साहले १४ हजार ८१९ मत ल्याए।
राजेन्द्र लोसपामा छन्।
महिन्द्र माओवादीसँग एकताको चरणमा रहेको डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीमा छन्। यी दुबै दल लोकतान्त्रिक वामगठबन्धनमा आवद्ध छन्।
यहीकारण सर्लाही– २ माथि दुबै नेताको दावी रह्यो। माओवादी केन्द्रको भागमा परेको र पूर्व विजेतापनि रहेकाले लोकतान्त्रिक वामगठबन्धनले यहाँ आफ्नो उम्मेदवार यादवलाई तोक्यो।
गठबन्धनको उम्मेदवार यादव हुने भएपनि महतोले यसपटक यो क्षेत्र छाड्न चाहेनन्। त्यसैले उनको उम्मेदवारीलाई ‘मित्रवत प्रतिस्पर्धा’ को रुपमा गठबन्धनले परिभाषित गर्यो।
Shares
प्रतिक्रिया