माओवादी अध्यक्ष प्रचण्ड पोखरा आउँदा उनका बालसखा दुर्गादत्त भण्डारीले कानमै गएर फुस्फुसाए,‘मलाई न्याय गर्नुपर्यो।’
प्रचण्डले टाउको हल्लाए। चुनावताका प्रचण्ड टिकट बाँडफाटमा व्यस्त थिए। कास्की क्षेत्र नम्बर ३ को प्रतिनिधिसभातर्फको भाग माओवादीले पायो। प्रदेशमा पनि एक सिट पाउने भएपछि प्रचण्डले बालसखाललाई दिएको बचन सम्झे।
उनले गण्डकी इञ्चार्ज हितराज पाण्डेलाई त्यो कुुरा सम्झाए। दुर्गादत्तले कास्की क्षेत्र नम्बर ३ को प्रदेशतर्फ ‘क’को टिकट पाए। शिक्षण पेशामा लामो समय बिताएका भण्डारीले वैचारिक रुपले पार्टीलाई ठूलै योगदान पुर्याएका थिए। जनबर्गीय संगठनमा रहँदा उनले संगठन विस्तारमा पुर्याएको योगदान सम्झनेहरुले ‘न्याय’ भएको प्रतिक्रिया दिए।
माओवादीका स्थानीय कार्यकर्ताहरुले भने असहमति जनाए। अर्कै क्षेत्रको बासिन्दालाई उम्मेदवार बनाएको भन्दै माओवादी पार्टी कार्यालय घेराउ गरे। राजीनामा पत्र बुझाए। तर, सुप्रिमोको निर्णय फेरबदल भएन। माओवादी कास्की नेतृत्वले भण्डारी प्रदेश कमिटी सदस्य तथा अन्नपूर्ण गाउँपालिका इन्चार्ज भएको प्रष्टीकरणसहित कार्यकर्ता थुम्थुम्याए।
भण्डारी मैदानमा आए।
मैदान त आए तर अवस्था सहज थिएन। एमालेले सो क्षेत्रबाट पुराना नेता गणेशमान गुरुङलाई उम्मेदवार बनायो। गणेशमान र दुर्गादत्तबीच राम्रै हिमचिम थियो। प्रतिस्पर्धी भेट हुँदा गणेशमानले भने, ‘मलाई जिताउला भनेको त आफैं उम्मेदवार पो बनेछ।’
गणेशमान गुरुङ पर्यटन व्यवसायी हुन्। २०२६ सालदेखि नै उनी एमालेमा थिए। कास्कीको उत्तरी भूगोलमा काम गरेका र पार्टीलाई आइपर्दा राम्रै आर्थिक सहयोग गरेका गुरुङले विद्रोह नगरेको भए यसअघिको चुनावमै टिकट पाउँथे।
एमालेभित्र उनको सहयोग नपाउने नेताको कमी पनि थिएन। २०५६ सालको उनले टिकट पाउने चर्चा थियो तर पाएनन्।
२०६४ सालमा नाम प्रस्ताव भए पनि टिकट नपाएपछि उनको मन भरङ्ग भयो। उनले ७० सालमा एमाले छाडे।
त्यसपछि उनले जातीय पहिचानको मुद्दासहित संघीय समाजवादी पार्टी रोजे। मुद्दा र पार्टी नै आझेलमा परेपछि उनी केपी ओलीको हातबाट टीक लगाउँदै एमाले फर्किए। दलबलसहित एमाले आउँदा नै उनले यो चुनावमा टिकट पाउने पक्का थियो।
गणेशमानले टिकट पाउँदा एमालेभित्र विरोध भएन। जबकि, क्षेत्र नम्बर ३ मा दामोदर बैरागीले टिकट पाउँदा उनीविरुद्ध बागी उम्मेदवारी परेको थियो।
चुनावी मैदानमा गणेशमान अब्बल सावित भए। वाम गठबन्धनका दुर्गादत्तलाई उनले सहजै पराजित गरे । गणेशमानले १४ हजार ४७३ मत ल्याउँदा भण्डारीले जम्मा ९ हजार ६६१ मत प्राप्त गरे।
Shares
प्रतिक्रिया