ad ad

राजनीति


सी बस्ने सोल्टी होटल पूरै खाली गरियो, ७ स्वीट र २८२ रुम सबै बुक

सी बस्ने सोल्टी होटल पूरै खाली गरियो, ७ स्वीट र २८२ रुम सबै बुक

मणि दाहाल
असोज २४, २०७६ शुक्रबार ११:१६,

चीनका राष्ट्रपति सी चिनफिङ एक रात बास बस्ने र काठमाडौंमा उनले सबै भेटवार्ता गर्ने तय भएको सोल्टी होटल चिनियाँ पक्षले पूरै रिजर्भ गरेको छ।

सोल्टीको व्यवस्थापन स्रोतले जनाएअनुसार होटलका सात वटा स्वीट रुम, २ सय ८२ वटा अन्य रुम र क्यासिनो समेत बुक गरिएको छ।

नेपालको दुई दिने राजकीय भ्रमणको क्रममा राष्ट्रपति सीले अधिकांश समय यही होटलमा बिताउने छन्। सीको पहिलो नेपाल भ्रमणमा आउने चिनियाँ प्रतिनिधिमण्डल ९० सदस्यीय हुने बताइएको छ।

‘होटलका स्वीटसहित सबै रुम बुक भएका छन् र क्यासिनो समेत तीन दिनका लागि चिनियाँ पक्षले भाडामा लिएको छ’, सोल्टी व्यवस्थापका एक अधिकारीले भने, ‘होटलमा भएका गेष्टहरूलाई अन्यत्र व्यवस्थापन गरेर चिनियाँ प्रतिनिधिमण्डलका लागि पूरै खाली गरिएको हो।’

शुक्रबारदेखि नै बन्द गरिएको क्यासिनो सी आउने दिन शनिबार र आइतबार पनि बन्द रहने छ। होटलभित्र रहेका सबै पसलहरु तीन दिन बन्द रहने छन्।

‘सोल्टी होटलमा करिब एक महिनादेखि नै चिनियाँ सुरक्षाकर्मी र अन्य सरकारी अधिकारी रहँदै आएका छन्’, नेपाल प्रहरीका एक अधिकारीले भने, ‘अहिले त सुरक्षाका कारण पनि होटल लगभग सिल गरिएको छ, चिनियाँ र नेपाली सरकारी अधिकारी बाहेक अन्यलाई सामान्यतः प्रवेश नै छैन।’

सोल्टीको रिगल स्वीट ग्रुपमा सात वटा रुम छन्– फेवा, रारा, गोसाइकुण्ड, रुपा, बेगनास, फोक्सुण्डो र तिलिचो। जसमा राष्ट्रपति सी सहित चिनियाँ प्रतिनिधिमण्डलका उच्च नेता र मन्त्रीहरू बस्नेछन्।
स्वीट रुममा किचेन, सुरक्षागार्ड, बैठक र मास्टर बेडरुम रहेका छन्।

नेपाल आउने अधिकांश विशिष्ट पहुना सोल्टीका यिनै स्वीटमा बस्ने गरेका छन्। यसअघि बेलायतकी महारानी एलिजावेथ द्वितीय, राजकुमारी डायना यहीं बसेका थिए।

‘एउटा स्वीटको एक रातको मूल्य १८ सय अमेरिकी डलरसम्म रहेको छ, १० प्रतिशत सेवा शुल्क र १३ प्रतिशत भ्याट थपिन्छ’, सोल्टीका ती अधिकारीले भने।

शुक्रबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्न दक्षिण भारतको चेन्नई पुगेका चीनका राष्ट्रपति सी शनिबार काठमाडौं आउने कार्यक्रम छ। शनिबार दिउँसो काठमाडौंमा अवतरण गरेपछि विमानस्थलबाट सिधै होटल जाने कार्यक्रम छ। केही समय आराम गरेपछि उनी राष्ट्रपति विद्या भण्डारीसँग भेटवार्ता गर्न सीतल निवास जानेछन्।

राष्ट्रपति भवनबाट सोल्टी फर्केपछि आइतबार विमानस्थल जानुअघिका सबै कार्यक्रम होटलमै राखिएको छ। होटलमा राष्ट्रपति सीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग दुई पक्षीय भेटवार्ता गर्नेछन् भने नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा लगायतका नेताहरूसँग भेटवार्ता गर्नेछन्।

सोल्टी मात्रै होइन, काठमाडौंका मुख्य मुख्य पाँच तारे होटल अहिले चिनियाँले भरिएका छन्। अन्नपूर्ण, याक एण्ड यति, मेरियट, सांग्रिला, हायातका अधिकांश रुम चिनियाँले भरिएका छन्।

राष्ट्रपति सी भ्रमणको सुरक्षाका लागि करिब पाँच सय चिनियाँ सुरक्षाकर्मी र गुप्तचर काठमाडौंमा परिचालन भएका छन्। सय बढी चिनियाँ सञ्चारकर्मी काठमाडौं आएका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .