ad ad

राजनीति


वामदेव ‘ब्याक’ प्रकरणले बालुवाटार र खुमलटारमा हल्लीखल्ली

वामदेव ‘ब्याक’ प्रकरणले बालुवाटार र खुमलटारमा हल्लीखल्ली

नेपालखबर
असोज ५, २०७६ आइतबार १०:३२,

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य वामदेव गौतलमे शनिबार साँझ सामाजिक सञ्जाल फेसबुकमा लेखेको पोस्टलाई लिएर पार्टीभित्र चर्चा सुरु भएको छ।

नेकपा सचिवालय सदस्य गाैतमले कास्की क्षेत्र नं. २ उपनिर्वाचनको उम्मेदवारीलाई लिएर फेसबुक पोस्ट गरेका थिए। त्यसप्रति पार्टीकै शीर्ष नेतादेखि तल्लो तहसम्मका कार्यकर्ताले असन्तुष्टि व्यक्त गरेका छन्। तल्लो तहका कार्यकर्ता सामाजिक सञ्जालबाटै गौतमको पोष्टविरूद्ध उत्रिएका छन्। माथिल्लो तहका नेताहरुले गौतमले गलत सन्देश सम्प्रेष्ण गरेको भन्दै असन्तुष्टि व्यक्त गरिरहेका छन्, खुलेर विरोध भने गरेका छैनन्।

गौतमको पोस्टबारे अध्यक्षद्वय केपी शर्मा ओली तथा पुष्पकमल दाहाल प्रचण्ड निवासमा समेत चर्चा भएको छ।

गौतमले शनिबार बसेको पार्टी सचिवालयको बैठकमा आफू कास्की २ बाट उम्मेदवार नबन्ने र त्यहीँको कोही स्थानीय नेतालाई उम्मेदवार बनाउनु पर्ने प्रस्ताव राखेका थिए। सोही विषलाई लिएर शनिबार राति सामाजिक सञ्जाल फेसबुकमा एउटा पोस्ट गरेका थिए। उनले कास्की २ मा आफू उम्मेदवार नबन्ने घोषणा मात्रै गरेनन् त्यसको कारण समेत दिए। उनले उम्मेदवार नबन्ने कारण नै पराजय भएको बताएका छन्।

‘यसअघि (२०७४) मा प्रतिनिधिसभा सदस्य पदका लागि आफ्नो पुरानो निर्वाचन क्षेत्र बर्दिया-१ बाट उम्मेदवार भएको यहाँहरुमा विदितै छ। उक्त निर्वाचनमा तत्कालीन वाम गठबन्धनसँग विपक्षीको तुलनामा ३२ हजार मत बढी थियो। तर, म पराजित हुनुपर्यो। त्योभन्दा अत्यन्त कम मतान्तर रहेको कास्कीमा निर्वाचन उठ्नु भनेको म फेरि पराजित हुनु हो’, गौतमले फेसबुकमा लेखेका छन्।

गौतमको यही भनाइलाई लिएर नेकपाका नेता कार्यकर्ताले असन्तुष्टि व्यक्त गरेका हुन्। ‘गौतमको यो भनाईले कास्की २ मा नेकपा हार्छ भन्ने सन्देश दिन्छ’, नेकपाका एक नेताले  भने, ‘यसले पार्टी आलोकप्रिय बन्दै गएको विपक्षीको आरोपलाई पुष्टि गर्छ।’ उनले गौतम उम्मेरवार नबन्ने भए पनि पराजयलाई कारण देखाउन नहुने बताए। ‘उहाँ नउठने भए म उठ्दिन भन्न पाउनुहुन्छ’, ती नेताले भने, ‘तर, हार्ने भएका कारण उठ्दिन भन्नुले गलत सन्देश गएको छ।’

बर्दिया क्षेत्र नं. १ बाट कांग्रेसका सञ्जय गौतमसँग पराजित गौतमले सुरूमा रबिन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि खाली रहेको सो क्षेत्रमा उम्मेदवार बन्ने चाहना व्यक्त गरेका थिए। पार्टी मात्रै नभएर स्थानीय नेताहरु पनि गौतमलाई सो क्षेत्रमा उम्मेदावर बनाउन तयार रहेको थिए। निर्वाचनको तयारीस्वरुप गौतमले आफ्ना मान्छेहरुलाई पठाएर सो क्षेत्रमा जनमत समेत बुझ्ने काम गरेका थिए। जनमत बुझेपछि नै गौतम उम्मेदवार नबन्ने सोचमा पुगेको स्रोतले बतायो।

‘एकातिर सरकारप्रति जनतामा असन्तुष्टि थियो, त्यसैले जनमत उहाँको पक्षमा देखिएन’, स्रोतले भन्यो, ‘अर्कातर्फ पार्टी भित्रैबाट आफूलाई हराउँछन् भन्ने डर पनि उहाँलाई भयो।’

संसदमा जानका काठमाडौँको क्षेत्र नम्बर ७ का संसद रामवीर मानन्धरलाई राजीनामा दिन लगाउने सम्मका कार्य गर्दै आएका गौतमले नेकपाकै नेता विजयी भएको क्षेत्रमा उम्मेदवारी बन्दिन भन्नुलाई रहस्यमय भएको ती नेताले बताए।

किन ब्याक भए गौतम?
त्यसो त कास्कीका नेताहरु त्यहाँको आन्तरिक समीकरण मिलाउनका लागि पनि वामदेवलाई सर्वसम्मत उम्मेदवार बनाउन तयार थिए। प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको कट्टर विरोधी भए पनि पछिल्लो समय उनी सोही क्याम्पमा पुगेका छन्। स्वर्गीय रवीन्द्र पत्नी विद्याले समेत कडा दाबेदारी नजनाइरहेका बेला गौतम सो क्षेत्रका लागि सर्बसम्मत उम्मेदवार बन्ने निश्चितजस्तै थियो। अन्तिम समयमा उनी ब्याक भएका हुन्।

पार्टीभित्र कित्ता परिवर्तन गरिरहने नेताको परिचय बनाएका गौतम एउटा समूहमा लागेपछि अर्को समूहमाथि आक्रमक बन्छन्। यो गुणका कारण उनीप्रति केन्द्रदेखि स्थानीय तहसम्मकै एउटा समूहका नेता सधैँ रुष्ट छन्। यही कारण कास्कीमा आफू पराजित उने निष्कर्षमा उनी पुगेको कतिपयको भनाइ छ। उनले आफ्नो बर्दियाको हारको कारण पनि पार्टी भित्रकै आन्तरिक कारण भएको निष्कर्ष निकालेका छन्। कास्की क्षेत्र नम्बर २ वामपन्थी जनमत भएको क्षेत्र भए पनि  प्रतिपक्षी दल कांग्रेससँग कडा प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ।

सरकारप्रति जनताको असन्तुष्टि एकासितर छँदैछ, टुरिष्ट उम्मेदवारको ट्याग लाग्ने र पार्टी भित्रकै आन्तरिक कारणले आफू पराजय हुने निष्कर्षमा पुगेपछि उनी ब्याक हुन पुगेको स्रोत बताउँछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .