ad ad

राजनीति


कास्की २ः वामदेवलाई टक्कर दिने उम्मेदवार खोज्दै देउवा

कास्की २ः वामदेवलाई टक्कर दिने उम्मेदवार खोज्दै देउवा

वाशुदेव मिश्र
भदौ २६, २०७६ बिहिबार १०:३६,

कास्की क्षेत्र नम्बर २ को उपनिर्वाचनमा सत्तारुढ दल  नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट ‘हेभिवेट’ नेता नै मैदानमा ओर्लने चर्चापछि प्रमुख प्रतिपक्षी कांग्रेसको उम्मेदवार छनौट पनि प्रभावित भएको छ।

आउँदो मंसिर १४ गते हुने उपनिर्वाचनमा नेकपाका प्रभावशाली नेता वामदेव गौतम नै मैदानमा ओर्लने लगभग निश्चित जस्तो देखिएको छ भने कांग्रेसमा आकांक्षीहरु धेरै भए पनि कसले टिकट पाउने भन्ने टुंगो लागेको छैन।

नेपाली कांग्रेसमा यो क्षेत्रबाट अघिल्लो चुनावमा पराजित देवराज चालिसे, महासमिति सदस्य ऋषि काफ्ले, पुराना नेता महादेव गुरुङ, खेमराज पौडेलदेखि युवा नेता धनराज आचार्य, गुरु बराल, उज्वल बरुवाल, कृष्ण कार्की, वीरेन्द्रनारायण बिजुक्छेसम्मले इच्छा देखाएका छन्।

कांग्रेसले यो चुनावलाई मिनी जनमत संग्रहको उपमा दिएको छ। ऊ यो चुनाव जितेर कार्यकर्ताको गुमेको मनोबल बढाउने र सरकार अलोकप्रिय रहेको सन्देश प्रवाहित गर्न चाहन्छ। संघीय संसदमा कांग्रेसलाई एक सिट थपिँदैमा केही हुँदैन तर सभापति शेरबहादुर देउवादेखि वरिष्ठ नेता रामचन्द्र पौडेलसम्मले यो चुनाव जसरी पनि जित्न कार्यकर्तालाई निर्देशन दिँदै आएका छन्।

जित्ने आधार के हो? उनीहरुलाई थाहा छैन। तर, उनीहरुको एक स्वर छ– यो पटक कांग्रेसबाट टिकट जसले पाए पनि उसकै पछि लाग्नुहोस्।’ कांग्रेसभित्र अन्तरघात नभएका चुनाव जितिन्छ भन्ने विश्वास छ।

mahadev gurungउम्मेदवारका आकांक्षी नेपाली कांग्रेस कास्कीका पुराना नेता महादेव गुरुङ

नेकपाबाट वामदेव नै चुनावी मैदानमा आउने हो भने सबैभन्दा बलियो उम्मेदवार पनि उनी नै बन्ने आँकलन पनि एकाथरी कांग्रेसको छ। किनकि, चुनावमा साम, दाम, दण्ड, भेद प्रयोग गर्न उनी माहिर मानिन्छन्। राष्ट्रिय राजनीतिमा रहेको उनको उच्च कद, नेकपामा बढ्दो प्रभावले पनि उनीविरुद्ध नेकपाका कार्यकर्ता जान सक्ने छैनन्।

तर, बाहिरी जिल्लाको उम्मेदवार हुनु, आफ्नै निर्वाचन क्षेत्रबाट पराजय भोग्नु र जित्नैको लागि पोखरा आएको नकारात्मक टिप्पणीबाट केही लाभ पाइनेमा भने उनीहरु आशावादी छन् ।

 सहज छैन, मतान्तर कम गर्न
‘मिनी जनमत संग्रह’को रुपमा लिएको नेपाली कांग्रेसले सो क्षेत्रमा जित हात पार्न ठूलो मेहनत गर्नुपर्ने देखिन्छ। तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारी ८ हजार ५ सय ४६ मतान्तरले विजयी भएको क्षेत्रमा त्यति ठूलो अन्तर कम गर्नु चुनौतिपूर्ण भएको स्वयं कांग्रेसका नेताहरुले नै स्वीकारेका छन्।

‘८ हजार मतान्तरलाई आफ्नो पक्षमा ल्याउनु चुनौतिपूर्ण छ तर असम्भव छैन’, कांग्रेस महासमिति सदस्य ऋषि काफ्लेले भने, ‘पहिलो चुनावमा रवीन्द्रजी र सोभियत दाइ (कांग्रेस उम्मेदवार सोभियतबहादुर अधिकारी) को मतान्तर करिब २ हजारकै हाराहारीमा थियो, अहिले पनि हामी त्यही अनुपातमा एमालेभन्दा पछाडि छौँ।’

उनले नेपाल कम्युनिस्ट पार्टीको सरकारको अलोकप्रियता र कांग्रेसले तल्लो तहमा भिजेको व्यक्तिलाई उम्मेदवार बनाए जित निश्चित भएको दावी गरे।

अघिल्लो चुनावमा सो क्षेत्रबाट कांग्रेस प्रत्यासी देवराज चालिसेले १८ हजार ६ सय ६१ मत पाएका थिए। त्यसपछि विवेकशील साझाले ८ सय ४३, संघीय समाजवादी फोरमले ३ सय ४१, नयाँ शक्तिले २ सय ४१ नेकपा मालेले ५ सय ४९, स्वतन्त्र निर्मल खत्रीले १ सय १९ र मंगोल नेसनल अर्गनाइजेसनले १ सय ३० मत प्राप्त गरेको थियो। त्योभन्दा थोरै मत ल्याउने अन्य दलहरुको समेत मत एकैतिर गयो भने पनि त्यहाँ तत्कालीन एमालेले पाएको मत बढी हुन आउँछ। यस्तोमा कांग्रेसलाई चुनाव जित्न यसै पनि गाह्रो भएको स्वयं कांगे्रसी स्वीकार्छन्।

उपनिर्वाचन हुन लागेको क्षेत्र नम्बर २ मा पोखरा महानगरपालिकाका ११ वटा वडा रहेका छन्। तीमध्ये ४ वटा वडामा मात्र गएको स्थानीय चुनावमा कांग्रेसले जितेको थियो। बाँकी सबै वडाहरु एमालेको पोल्टामा गएका थिए। तीमध्ये केही वडामा त आधाजसो मतले नै एमाले विजयी बनेको थियो।

आफूले जितेका वडामा भोट बढाउने र बाँकी वडाको मतान्तर घटाउने एवं सो क्षेत्रमा भिजेका उम्मेदवार भए चुनाव जितिने आँकलन नेपाली कांग्रेसको रहेको छ।

devraj chaliseरवीन्द्रसँग चुनावी प्रतिस्पर्धामा उत्रिएका कांग्रेस नेता देवराज चालिसे

पोखरा महानगरपालिका वडा नम्बर ४ नेपाली कांग्रेसको पकड क्षेत्र मानिन्छ। यहाँका वडाध्यक्ष शंकर बास्तोलाले गएको चुनावमा ८ सय १७ मत पाए भने उनका प्रतिद्वन्द्वीले ६ सय ३२ मत पाए। मुख्य सहरी क्षेत्र भएको र अघिल्लो चुनावमा रवीन्द्रको प्रभावका कारण उनलाई दिइएको मत पनि उपनिर्वाचनमा आफूलाई आउने कांग्रेसको अनुमान हो। वडा नम्बर ७ एमालेको प्रभाव क्षेत्र हो। त्यहाँ एमालेको तर्फबाट विजयी वडाध्यक्ष १२ सय १२ मत पाउँदा उनका निकतम् प्रतिद्धन्दीले ११ सय ११ मत पाएका थिए । वडा नम्बर ८ लाई कांग्रेसले आफ्नो क्षेत्र मान्छ तर स्थानीय चुनावमा सो क्षेत्रबाट एमालेका रुद्रनाथ बराल १८ सय ९ मत ल्याएर विजयी भए। उनका प्रतिद्धन्दी कांग्रेसका सारदा गिरिले १६ सय ६३ मत प्राप्त गरिन् । वडा नम्बर ९ मा कांग्रसका वडाध्यक्षले ११ सय ७४ र एमाले वडाध्यक्ष उम्मेदवारले ९ सय ७४ मत पाएका थिए।

तत्कालीन माओवादी केन्द्रले पाएको भोट ३ सय १३ र राप्रपाको १ सय ४१ मत थियो। सो वडा पनि कांग्रेसकै पकड क्षेत्र मानिन्छ। तत्कालीन माओवादी केन्द्र र एमाले मिल्दा पनि वडामा कांग्रेस नै अगाडि हुने आँकलन नेताहरुको छ। किनिक, स्थानीय निर्वाचनमा सो क्षेत्रबाट कांग्रेसका मेयरलाई १३ सय ३ र एमालेका मेयरलाई १ हजार ४९ मत परेको थियो। सुकुम्बासी बस्ती भएकाले त्यहाँबाट यही पार्टीलाई मत जान्छ भनेर भन्न चाहिँ सकिँदैन।

तर, आउँदो उपनिर्वाचनमा यो क्षेत्रबाट कांग्रेसले राम्रै मतले अग्रता कायम गर्ने नेता ऋषिराम काफ्लेले दावी गरे। स्थानीय निर्वाचनमा वडा नम्बर ११ मा पनि कांग्रेसले करिब २ सय मतले अग्रता कायम गरेको थियो। त्यहाँका वडाध्यक्ष मोहन बास्तोलाले १७ सय ७८ र प्रत्यासी देवेन्द्र बास्तोलाले १५ सय ४९ मत ल्याएका थिए। वडा नम्बर ११ मा कांग्रेसको आफ्नो मत अझ बढ्ने आँकलन कांग्रेसीको रहेको छ।

वडा नम्बर १५ मा स्थानीय निर्वाचनमा एमालेका प्रकाश पौडेलले १ हजार ९ सय ४४ मत पाएका थिए भने कांग्रेसका टोपबहादुर थापाले १ हजार ५ सय ४७ मत पाएका थिए। त्यो झिनो अग्रतालाई तोड्न नसकिए पनि अन्तर कम गर्न सकिने सोच कांग्रेस नेताहरुमा रहेको छ।

नेपाली कांग्रेसको समस्या भनेको वडा नम्बर १६, १७, २०, २१ र ३३ नम्बरमा हो। वडा नम्बर १७ एमालेको गड मानिन्छ। गएको स्थानीय चुनावमा वडा नम्बर १६ मा एमालेका जीवन आचार्यले ३१ सय ३३ र कांग्रेसका पदमसिंह गुरुङले २८ सय ६८ मत, वडा नम्बर १७ मा एमालेका तीर्थ अधिकारीले ३ हजार ६४ र कांग्रेसका पुण्डरी बरालले १७ सय ६३, वडा नम्बर २० मा सीम गुरुङले १२ सय २३ र कांग्रेसका महेन्द्र अधिकारीले ६ सय ३१, २१ मा खगराज आचार्यले २५ सय १३ र कांग्रेसका केवल गिरिले ८ सय १३ तथा वडा नम्बर ३३ मा शिवप्रसाद आचार्यले २३ सय ७३ र कांग्रेसका भोजराज आचार्यले १९ सय ९१ मत पाएका थिए। पोखरा लेखनाथ महानगरपालिकाका ४, ७, ८, ९, ११, १५, १६, १७, २०, २१ र ३३ नम्बर वडालाई राखेर २ नम्बर क्षेत्र बनाइएको हो।

कांग्रेसमा अन्तिम निर्णय देउवाकै
पार्टीमा जति आकांक्षी भए पनि टिकट दिने अन्तिम निर्णय भने सभापति शेरबहादुर देउवाले नै गर्नेछन्। यतिबेला टिकटका आकांक्षीहरु नेताको दैलो चहारेर पोखरा फर्केका छन्। स्रोतका अनुसार देउवा यो पटक जित्ने मान्छेलाई टिकट दिने मुडम देखिन्छन्। तर, अन्तिम अवस्थामा उनले के निर्णय गर्छन् भन्नेमा स्वयं उम्मेदवारका दावेदारहरुले नै अनुमान लगाउन सक्ने अवस्था छैन।

सत्ता राजनीतिका माहिर खेलाडी देउवाले वामदेव नै उठ्ने भए उस्तै परे शक्तिकेन्द्रको आडमा कमजोर व्यक्तिलाई टिकट दिने आशंका पनि कांग्रेसीको छ। ‘वामदेव हार्न हैन, जसरी पनि जित्न आएका हुन्, त्यो बेला उनले देउवालाई प्रभावमा नपार्लान् भन्न सकिँदैन’, कांग्रेस कास्कीका एक नेताले भने, ‘जुवा खेल्न हाम्रा सभापतिजस्तो कसले सक्छ र? हिजो चितवन र गोर्खाकै उदाहरण काफी छ नि।’

guru baralउम्मेदवारका आकांक्षी युवा नेता गुरु बराल

तर, उम्मेदवारका आकांक्षीहरुले कांग्रेसका सबै शक्तिकेन्द्रमा आफ्नो कुरा पु¥याएका छन्। टिकट आकांक्षी एक नेता सभापति देउवा कहाँ जाँदा देउवाले स्वयंले अरु आकांक्षीहरु पनि आफू कहाँ आएको बताएपछि देउवा यो पटक आफ्नो गुटकोलाई भन्दा पनि जित्नेलाई नै टिकट दिने मुडमा पो हुन् कि भन्ने पनि भएको उनीहरुको भनाई छ।

तर, जिल्ला नेतृत्वको सिफारिसको पनि महत्व हुने भएकाले कम्तिमा ती आकांक्षीहरु आफ्नो नाम यताबाट जसरी पनि केन्द्रमा पठाउने ध्याउन्नमा छन्। त्यसैले उनीहरुले कास्की सभापति कृृष्ण केसीलाई ‘खातिरदारी’ गर्न कुनै कसर बाँकी राखेका छैनन्। सभापति केसी भने यतिबेला अस्वस्थ छन्।

महँगो हुनेछ चुनाव
कास्कीको उपनिर्वाचन महँगो हुने देखिएको छ। संघीय संसदको एउटै मात्र पदका लागि हुने निर्वाचनको प्रचारको लागि सबै दलका शीर्षसहित उच्च तहका नेताहरु पोखरा आउनेछन्। उनीहरुको आवासदेखि भोजन र जलपान गराउनु उम्मेदवारकै दायित्वमा पर्नेछ। अघिल्लो चुनावमा जस्तो प्रदेशसभा सांसदले पनि खर्च गर्ने अवस्था यो पटक छैन।

‘वामदेव नै चुनाव लडे उनलाई खर्चको कमी हुनेछैन’, एक कांग्रेस नेताले भने, ‘अरु पार्टीका नेताहरुको हकमा भने यो पटक केन्द्र्रीय नेताहरुको खातिरदारीमै बढी पैसा सक्नुपर्ने छ।’

याे पनि: कास्की–२ः नेकपाका जिल्ला नेताको रोजाइ ‘वामदेव’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .