ad ad

राजनीति


नेकपा बैठकमा ‘सी चाँडै नेपाल आउने’ ब्रिफिङ, ओली-नेपालबीच भयो कुराकानी

नेकपा बैठकमा ‘सी चाँडै नेपाल आउने’ ब्रिफिङ, ओली-नेपालबीच भयो कुराकानी

मणि दाहाल
भदौ २५, २०७६ बुधबार १२:४४,

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले चीनका राष्ट्रपति सी चिनफिङ चाँडै नै नेपाल भ्रमणमा आउने जानकारी पार्टी सचिवालयलाई दिएका छन्।

चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीको नेपाल भ्रमण राष्ट्रपति सी चिनफिङको भ्रमणको तयारीका लागि भएको जनाउँदै ओलीले बुधबार बालुवाटारमा बसेको पार्टी सचिवालय बैठकमा राष्ट्रपति सीको भ्रमणको तयारी भइरहेको बताएका हुन्।

‘चिनियाँ विदेशमन्त्रीको भ्रमण नै राष्ट्रपति सीको भ्रमणको तयारीका लागि भएको हो, राष्ट्रपति सी चाँडै नेपाल आउने अपेक्षा गरेका छौं’, प्रधानमन्त्री ओलीलाई उद्धृत गर्दै सचिवालयका एक सदस्यले नेपालखबरसँग भने।

तीन दिने नेपाल भ्रमणमा आएका विदेशमन्त्री वाङ मंगलबार बेइजिङ फर्केका छन्।

नेपाल भ्रमणको क्रममा वाङले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, विपक्षी दलका नेता शेरबहादुर देउवासँग छुट्टाछुट्ट भेटवार्ता गरेका थिए।

त्यसैगरी परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीसँग द्वीपक्षीय वार्ता गरेका थिए।

भेटवार्तामा नेपालको तर्फबाट वाङलाई राष्ट्रपति सीको भ्रमणको तयारी पूरा भएको ब्रिफिङ भएको थियो।

चीनका विदेशमन्त्री वाङ फर्केको भोलिपल्ट प्रधानमन्त्री ओलीले पार्टी सचिवालयमा गरेको ब्रिफिङबाट अब राष्ट्रपति सीको नेपाल भ्रमण सुरनिश्चित भएको ठानिएको छ।

बैठकमा प्रधानमन्त्री ओलीले भारतसँगको पेट्रोलियम पाइपलाइनको उद्घाटन, सिंगापुरमा भएको आफ्नो उपचारसहितका विषयमा सचिवालयलाई जानकारी गराएका थिए।

मंगलबार नेपाल भारत अन्तरदेशिय पेट्रोलियम पाइपलाइनको प्रधानमन्त्री ओलीले काठमाडौं र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीबाट एकसाथ उद्घाटन गरेका थिए। यो दक्षिण एशियाको पहिलो अन्तरदेशीय पेट्रोलियम पाइपलाइन हो।

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था राम्रो नभएको भन्दै बुधबारको बैठक छोट्याइएको सचिवालय सदस्यहरूले बताएका छन्।

‘प्रधानमन्त्री ओली अझै पूर्ण रुपमा ठिक भैसक्नु भएको छैन, पछिल्ला केही विषयमा जानकारी गराएर अन्य विषयमा प्रवेश नै नगरि बैठक सकियो,’ सचिवालय ती सदस्यले भने।

सिंगापुरमा उपचार गराएर प्रधानमन्त्री ओली स्वदेश फर्किएपछि बुधबार पहिलो पटक सचिवालयको बैठक बसेको हो। ओलीकै अध्यक्षतामा बसेको बैठकमा माधवकुमार नेपालसहितका नेताहरु उपस्थित भएका थिए।

‘बाहिरबाट हेर्दा माधवकुमार नेपाल र ओलीबीच सम्बन्ध राम्रो नभएको जस्तो देखिन्छ तर भित्र त्यस्तो समस्या छैन, सम्बन्ध सौहाद्रपूर्ण नै छ’, सचिवालयका सदस्य भन्छन्, ‘दुवै नेताहरु छलफलमा सहभागी हुनु भएको थियो र बोलचाल पनि भयो।’

प्रधानमन्त्री ओली र नेता नेपालबीच भदौ ५ गतेको बैठकमा चर्काचर्की भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .