ad ad

राजनीति


‘सिल्क रोड’ ब्युताउँदै सान्सी

‘सिल्क रोड’ ब्युताउँदै सान्सी

कृष्ण ढुंगाना
भदौ २४, २०७६ मंगलबार १६:१६,

यो नेपाल र भारतमा बुद्धले जीवनयापन गर्नुभन्दा ४०० वर्ष पछिको कुरा हो। त्यतिबेला हालको सान्सी प्रान्त युरोप र एसियालाई जोड्ने रेशमी मार्ग (सिल्क रोड) को रणनीतिक बिन्दु थियो।

२ हजार २ सय वर्ष अघि बनेको यो मार्ग भएर दक्षिण एसियामा उत्पादन हुने रेशम युरोप पुग्थ्यो। यो प्राचिन मार्गको महत्व व्यापारका लागि मात्रै थिएन।

कपिलवस्तुमा जन्मेका सिद्धार्थले बुद्धत्व प्राप्त गरेपछिको ज्ञान मध्य तथा पूर्वी एसिया भएर युरोपसम्म विस्तार हुनुमा यही सिल्क रोडले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ। दक्षिण एसियासहित विश्व जनसंख्याको ठूलो हिस्साको सभ्यता विकासमा समेत यो मार्गको योगदान छ।

इतिहासको पानामा थन्किएको र विश्वले समेत बिर्सिंदै गएको त्यही मार्ग ब्युँताउन चीनले सन् २०१३ देखि ‘बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) मार्फत बृहत् गृहकार्य गरिरहेको छ। र, फेरि उही सान्सी २ हजार २ सय वर्षपछि विश्वको सबैभन्दा ठूलो जनसंख्यालाई जोड्ने बीआरआईको रणनीतिक बिन्दु बन्ने तयारीमा छ।

Xian2
सिल्क रोडको उद्गमस्थल चीनको सियान

मंगलबारदेखि चिनियाँ सभ्यताको आधारभूमि सान्सीको सियानमा सुरु भएको युरो एसिया फोरम उद्घाटन सत्रलाई सम्बोधन गर्दै चिनियाँ स्टेट काउन्सिलका उपप्रधानमन्त्री हु चुन्ह्वाले ५८ देशका प्रतिनिधिसामु सान्सीले इतिहास फर्काउने घोषणा गरे।

बीआरआई अन्तर्गत १५२ देशसँग साझेदारीमा निर्माण भइरहेका बृहत संरचनाहरु २१ औँ शताब्दीको नयाँ सिल्क रोड साबित हुने उनले बताए।

‘अन्तरदेशीय व्यापारमा चीनले सधैं विन–विनको नीति अख्तियार गर्दै आइरहेको छ। विश्वको ठूलो जनसंख्या बस्ने एसिया क्षेत्रलाई युरोपसँग जोड्न सडकसहितको कनेक्टिभिटी सुधार गर्न जरुरी छ’, उपप्रधानमन्त्री हुले भने, ‘यो ठूलो उपलब्धि हासिल गर्न हामीले एक अर्काबीच मित्रता कसिलो पार्दै कडा परिश्रम गर्नुपर्दछ।’

बीआरआई अन्तर्गत चीनले युरोप र एसियाका देशहरु जोड्ने ६ ठूला परियोजना निर्माण गरिसकेको छ। ती परियोजनाहरुले चीनलाई रसिया, मंगोलिया, बेलारुस, पोल्यान्ड, टर्की, जर्मनी, बंगलादेश, सिंगापुर, पाकिस्तान र म्यान्मारसहितका देशहरुसँग जोडेका छन्।

१५२ राष्ट्र सदस्य रहेका बीआरआईमा अन्य थुप्रै योजनाहरु कार्यान्वयनको चरणमा छन्।

दक्षिण एसियाले पृथ्वीको भूभागमध्ये चार प्रतिशतभन्दा थोरै ठाउँ ओगट्छ। भूमाग सानो भएपनि यो क्षेत्रमा विश्व जनसंख्याको एक चौथाई मानिसहरु बसोबास गर्छन्। विश्व बैंकले सन् २०१९ मा यो क्षेत्रको आर्थिक बृद्धिदर ७.१ प्रतिशत रहने प्रक्षेपण गरेको छ। यही क्षेत्रसँग बाँकी विश्वको कनेक्टिभिटी अघि बढाउन चीनले ग्लोबल रणनीति बीआरआई अघि सारेर काम गरिरहेको हो।

तीन दिनसम्म चल्ने युरो एसिया फोरम–२०१९ मा मुख्य रुपमा बीआरआई केन्द्रित अन्तरक्रिया हुनेछ। योबाहेक अन्तरदेशीय व्यपार, बैंकिङ, मुद्रा, सूचना प्रविधि, संस्कृति तथा पर्यटन, कला, इकमर्ससहितका विषयमा प्रस्तुती तथा छलफल हुनेछन्। सियानका १० होटलमा प्रत्येक दिन ५० सत्रहरु सञ्चालन हुनेछन्।

चीनको विदेश मन्त्रालय मार्गदर्शक आयोजक रहेको यो फोरममा बीआरआई तथा बहुराष्ट्रिय संगठन सांघाई कोअपरेशन अर्गनाइजेशनमा आबद्ध मुलुकहरु सहभागी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .