ad ad

राजनीति


कास्की–२ः नेकपाका जिल्ला नेताको रोजाइ ‘वामदेव’

कास्की–२ः नेकपाका जिल्ला नेताको रोजाइ ‘वामदेव’

वाशुदेव मिश्र
भदौ २४, २०७६ मंगलबार १३:३,

दशैँ आउन एक महिना पनि बाँकी छैन। गाउँमा सोह्रश्राद्ध लाग्नुअघि नै दशैँको चर्चा चल्छ। पल्टनबाट को आउँदैछ? भन्नेदेखि दशैँ कसरी मनाउने भन्ने सुर्ताले पनि गाउँलेलाई नै सताउँछ। सहरलाई दशैँको खासै मतलब हुँदैन। यहाँ हुनेखानेलाई सधैँ दशैँ हुन्छ। हुँदा खानेमध्ये धेरैजसो आफ्नै गाउँ फर्कन्छन्। सहर सुनसान बन्छ।

पोखरामा भने नजिकिँदो दशैँभन्दा पनि चुनावको चर्चा बढी चलेको छ। निर्वाचन आयोगले मंसिर १४ गते उपनिर्वाचन गर्ने मिति तय गरिसकेपछि देशभरिकै ध्यान कास्की क्षेत्र नम्बर २ मा केन्द्रित छ। यो तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधनपछि खाली भएको निर्वाचन क्षेत्र हो। अधिकारीकोको गएको फागुन १५ गते हेलिकोप्टर दुर्घटनामा परी निधन भएको थियो।

यो प्रतिनिधिसभाको उपनिर्वाचन हुने एकमात्र क्षेत्र हो। यसबाहेक प्रदेशसभातर्फ बागलुङको क्षेत्र नम्बर २ ‘ख’मा पनि उपनिर्वाचन हुँदैछ। प्रदेशसभा सदस्य टेकबहादुर घर्तीको निधन भएपपछि त्यो निर्वाचन क्षेत्र पनि खाली बनेको हो। घर्तीको मंसिर २६ गते जण्डिसका कारण निधन भएको थियो। योसँगै तीन वडाध्यक्षका लागि नवलपुरको बौदिकाली वडा नं ५, लमजुङ सुन्दरबजार– २, बागलुङ बडीगाड गाँउपालिका २ मा उपनिर्वाचन हुँदैछ।

प्रतिनिधिसभाको एकमात्र निर्वाचन हुने क्षेत्र भएर मात्रै पनि होइन, रवीन्द्र अधिकारीले लगातार तीनपटक चुनाव जितेकोले पनि यो क्षेत्रले अहिले सबैको ध्यान खिचेको छ। त्यसो त यहाँबाट जित्नेले सोझैँ संघीय संसदमा प्रवेश पाउने र राजनीतिक हैसियत पनि बढ्ने भएकाले पनि कास्की चर्चामा रहेको हो। त्यसैले निर्वाचन आयोगले सामान्य तयारी थाल्दा पनि यहाँ भित्रभित्रै चुनावी तयारी तीव्र बनेको हो।

रवीन्द्रको चुनावी क्षेत्र खालीभएसँगै यहाँ कसले टिकट पाउने भन्नेबारे नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र सबैभन्दा बढी प्रतिस्पर्धा देखिएको छ। काठमाडौँका एक सभासदलाई राजीनामा दिन लगाएर संघीय संसदमा प्रवेश गर्न आँटे पनि अन्तिम समयमा कुरो नमिलेपछि ‘टाक्सिएका’ एमाले नेता वामदेव गौतम नै मैदानमा ओर्लने हल्लाले पनि यो निर्वाचन क्षेत्र ‘हट’ बनेको हो। वामदेव नेकपाका यस्ता ‘तुरुप’ हुन्, जस्को सबैलाई खाँचो हुन्छ तर उनी कहिलेकाँही कसैका पनि भइँदिँदैनन्।

उनी यतिबेला पार्टी अध्यक्षद्वय केपी ओली र प्रचण्ड दुबैका प्रिय देखिएका छन्। ‘विद्रोही’ स्वभावका उनलाई थुुम्थुम्याउन नेकपाले हुँदै नभएको वरिष्ठ उपाध्यक्ष पद सृजना गरेको छ। त्यो पद पाएपछि उनले आफू चुनाव लड्ने विषयमा पार्टीले छलफल नै नचलाएको तर देशको लागि आफू आवश्यक भएको अभिव्यक्ति दिएका छन्। स्रोतका अनुसार उनका निजी सचिवले एक चरण कास्कीको निर्वाचन क्षेत्रमा आएर जनमत पनि बुझिसकेका छन्।

तर, रवीन्द्रको निर्वाचन क्षेत्रमा उनकी पत्नी विद्या भट्टराईकै नाम चर्चामा छ। सक्रिय राजनीतिमा पछिल्लोपटक नभएता पनि नेकपाका नेता कार्यकर्ताहरुले नै विद्यालाई अगाडि बढाउनुपर्ने तर्क राख्दै आएका छन्। विद्या भट्टराई स्वयम् भने यस विषयमा प्रष्ट छैनन्। ‘पार्टीको निर्णयले जे गर भन्छ, त्यही हुन्छ’ उनले संक्षिप्त प्रतिक्रिया दिएकी छन् । नेकपाबाट सोमनाथ अधिकारी ‘प्यासी’, तुलबहादुर गुरुङ, धनराज आचार्य, राजकाजी गुरुङ ‘करण’ श्रीनाथ बराल, शारदा सुवेदी, भीम कार्की, अखिल उपाध्यक्ष रश्मी आचार्यलगायतको चर्चा भइरहेको छ।

नेकपाका जिल्ला नेताको रोजाइमा परे वामदेव
पूर्वएमालेको क्षेत्र भएकाले त्यहाँ पूर्वमाओवादीलाई टिकट दिने सम्भावना कम छ। त्यसैले बलियो उम्मेदवार भएर पनि पूर्वमाओवादीका नेता राजकाजी गुरुङ मौन छन्। बरु, पूर्व एमाले भित्रको गुटहरुमा वामदेव हावी भएको चर्चाले कास्की तातेको छ। कास्की पूर्वमन्त्री खगराज अधिकारी, सोमनाथ प्यासी, तुलबहादुर गुरुङहरु सक्रिय हुने जिल्ला हो। तुलबहादुर माधव नेपाल नजिक हुन्। तर, यहाँ अध्यक्ष केपी ओली नजिककाहरुको पनि मिल्ती छैन।

‘एउटै देउता माने पनि प्रदक्षिणा कताबाट गर्ने भनेजस्तो छ, यहाँका पूर्वएमाले नेतामा’, एक नेताले भने,‘ ‘यो निर्वाचन क्षेत्रबाट विजयी बन्ने सम्भावना जति छ, राजनीतिमा स्थापित हुने अवस्था पनि उत्तिकै छ। त्यसैले कास्कीमै भएका नेताहरु बरु यहाँका प्रतिस्पर्धीले नपाउन्, विद्या पनि नउठून् र आए बरु वामदेव नै आउन् भन्ने चाहन्छन्, किनकि वामदेव अर्को पटक यहीँबाट चुनाव लड्दैनन्।’ यो भेउ बुझेका वामदेवले यहाँका सबै नेताहरुलाई मनाइसकेको दावी पनि स्रोतले ग¥यो। विद्याले इच्छा देखाए राष्ट्रियसभामा पठाउने र सो निर्वाचन क्षेत्र आफू अनुकूल प्रयोग गर्नुपर्नेमा यहाँका सबै नेताहरुको रणनीति रहेको पनि स्रोतको दावी छ।

bidhya1स्वर्गीय रवीन्द्र अधिकारी पत्नी विद्या भट्टराई

औपचारिक रुपमा नेकपाले एउटा भेला बाहेक कुनै छलफल गरेको छैन्। ‘एकपटक भेला बसेका हौँ, निर्वाचनकै लागि भनेर कुनै बैठक बसेका छैनौँ, म उम्मेदवार हुन्छु भनेर कोही पनि आउनुभएको छैन्’, नेकपा कास्कीका अध्यक्ष कृष्ण थापाले भने।

२०७४ को प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम हेर्ने हो भने कास्कीका तीनवटै क्षेत्र नेकपाको लागि सहज छन्। उक्त चुनावमा रवीन्द्र अधिकारी आठ हजार पाँच सय ४६ मत बढी ल्याएर विजयी भएका थिए। निर्वाचन कार्यालयको तथ्यांक अनुसार रवीन्द्रले २७ हजार दुई सय सात मत ल्याउँदा निकटतम् प्रतिस्पर्धी कांग्रेसका देवराज चालिसेले १८ हजार छ सय ६१ मत ल्याएका थिए।

कास्कीका तीनवटै प्रतिनिधिसभा निर्वाचनमा वाम गठबन्धनका उम्मेदवारले ८ हजार माथिको मतान्तरले विजयी भएका थिए। तर, समानुपातिकको मतान्तर भने कम छ। यसबाट के बुझ्न सकिन्छ भने उक्त निर्वाचनमा प्रत्यक्षतर्फ व्यक्तित्वको प्रभावले पनि काम गरेको थियो। उपनिर्वाचन हुने कास्कीमा २ मा प्रत्यक्षतर्फ नेकपा ८ हजार ५ सय भन्दा बढी मतान्तरले अगाडि हुँदा समानुपातिकमा भने ६ हजार ५ सयको मतान्तर रहेको छ। अर्थात, त्यतिबेला नेकपाले प्रत्यक्षमा कांग्रेसको भन्दा २ हजार बढी मत प्राप्त गरेको थियो। उसो त समानुपातिकतर्फ तत्कालीन माओवादी केन्द्रलाई एक मत पनि परेको थिएन।

अघिल्लो चुनावमाजस्तै अहिले पनि सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्षी कांग्रेसबीच नै यहाँ प्रतिस्पर्धा हुने निश्चितप्रायः छ। पोखरा आउने कांग्रेसका सबै नेताहरुले यो चुनावी क्षेत्रलाई ‘मिनी जनमत संग्रह’को उपमा दिँदै कुनै पनि हालतमा चुनाव जित्नुपर्ने अभिव्यक्ति दिएका छन्। मंगलबार पोखरा आएका वरिष्ठ नेता रामचन्द्र पौडेलको कुरो पनि उही रह्यो। उनले भने,‘कांग्रेस भएर रुखमा भोट हाल्नुहोस्, अरु जनताले पनि त्यसै गर्छन्, रुखमा भोट नहाल्ने पनि कांग्रेस हुन्छ?’ उनको भनाई को सोझो अर्थ हो, कांग्रेसमा उम्मेदवारी नपाउनेबाट विद्रोह र अन्तरघातको सम्भावना रहन्छ।

यसअघिका चुनावमा पनि कास्की कांग्रेसले यस्तो समस्या भोग्दै आएको छ। अझ, अघिल्लो चुनावमा त यहाँका देखिने र मानिने कांग्रेसले नै रवीन्द्रलाई भोट दिएका थिए। अहिले कांग्रेसको डर भनेको अन्तरघात नहोस् भन्नेमै रहेको त केही समयअघि यहाँ आएका सभापति शेरबहादुर देउवाको अभिव्यक्तिबाट पनि प्रष्ट बुझिन्थ्यो। उनले पनि कांग्रेस उम्मेदवारलाई जिताउन र पार्टी एक भएर अगाडि बढ्न निर्देशन दिएका थिए।

आन्तरिक तयारीले तीव्रता पाउन थाले तापनि मुख्य विषय भने उम्मेदवार को हुन्छन् त? भन्नेमा नै केन्द्रित छ। उम्मेदवार नटुंगाए तापनि उपनिर्वाचनमा कांग्रेसको तयारी भने अगाडि देखिएको छ। नेताहरुको चुनाव लक्षित भ्रमण बढ्दै गर्दा आकांक्षीको संख्या भने नेकपामा जस्तै कांग्रेसमा पनि उत्तिकै छन्। स्वर्गीय रवीन्द्र अधिकारीसँगै चुनाव लडेका देवराज चालिसे आकांक्षी दौडको पहिलो नम्बरमा छन्।

नेपाली कांग्रेसका महासमिति सदस्य ऋषि काफ्ले पनि टिकट फुत्काउनमा लागिपरेका छन्। ‘पार्टीको चुनाव हो, विद्यार्थीकाल देखि नै राजनीतिमा सक्रिय छु, यसअघिका चुनावमा पनि सक्रियता देखाएकै हो, योगदानको आधारमा पार्टीले टिकट दिए म उम्मेदवार हो’, उनले भने। यसबाहेक धनराज गुरुङ, पुराना नेता खेमराज पौडेल, महादेव गुरुङ, शोभियतबहादुर अधिकारी, वीरेन्द्रनारायण बिजुक्छे, गुरु बराल, कृष्ण कार्की, विजय आचार्य लगायतका नेताहरु पनि टिकटको लबिङमा नै छन्।

नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि उज्ज्वल बरुवालले पनि सो क्षेत्रमा इच्छा देखाएका छन्। गएको चुनावमा उनी सोही क्षेत्रमा विजयकुमार गच्छदारको फोरमबाट उम्मेदवार बनेका थिए। यो निर्वाचन क्षेत्रमा साना पार्टीको पनि आँखा परेको छ। संघीय समाजवादी फोरम, साझा पार्टी पनि यो क्षेत्रमा उम्मेदवार बनाउने तरखरमा छन्। साझाले आउँदो शनिबार उम्मेदवार घोषणा गर्ने जनाएको छ। साझाबाट पहिला नेपाल विद्यार्थी संघको राजनीति गरेकी रजनी केसीको उम्मेदवारी पर्ने देखिएको छ। उम्मेदवार हुनकै लागि उनले पोखरा विश्वविद्यालयको कर्मचारीबाट राजीनामा दिएको स्रोतले बतायो।

अहिले सो निर्वाचन क्षेत्रमा एक हजार ६ सय १० जना मतदाता थप भएका छन्। जिल्ला निर्वाचन कार्यालय कास्कीका अनुसार साउन १६ गतेसम्म उक्त संख्यामा मतदाता थप भएका हुन्। २०७४ को प्रतिनिधिसभामा यो क्षेत्रमा कुल ७० हजार ६ सय ५१ जना मतदाता थिए। थपिएकासँगै उपनिर्वाचनमा यस क्षेत्रबाट ७२ हजार २ सय ६१ मतदाताले मतदान गर्न पाउनेछन्।

बागलुङमा जनमोर्चा नै निर्णायक
प्रदेशसभा सदस्य टेकबहादुर घर्तीको जण्डिसका कारण निधन भएको सोे क्षेत्रमा पनि चुनाव लागेको छ। खासगरी बागलुङको सो क्षेत्रमा राष्ट्रिय जनमोर्चाले नै चुनावी गणितमा मुख्य भूमिकाको काम गर्छ। अघिल्लो पटक टेकबहादुरले तत्काली एमाले र माओवादीको समर्थनमा चुनाव जितेका थिए। यसपटक पार्टी एकीकरण भएकाले नेकपा त्यहाँ आफ्नै उम्मेदवार उठाउने तयारीमा पनि छ। तर, जनमोर्चाको भूमिका महत्वपूर्ण हुँदा र ऊ कांग्रेससँग मिलेमा नतिजा फरक आउनेमा पनि आफूहरु सचेत भएको एक नेताले बताएका छन्।

गएको चुनावमा टेकबहादुरले ११ हजार ८ सय ८४ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी कांग्रेसका जीत शेरचनले ८ हजार ६ सय २४ मत ल्याएका थिए। त्यो बेला त्यहाँ ३३ हजार २ सय ४० कूल मतदाता थिए। अहिले त्यहाँको मतदाता संख्या ३६ हजार ५ सय पुगेको छ। कांग्रेस पनि सकेसम्म जनमोर्चालाई आफूतिर तान्ने पक्षमा छ।

जनमोर्चा अहिलेको समीकरणलाई अगाडि बढाउने पक्षमा छ तर बल नेकपाको कोर्टमा छ। प्रदेशमा भने जनमोर्चा विपक्षमा रहेको छ। सो निर्वाचन क्षेत्रको तमानखोला र निसीखोला गाउँपालिकामा कांग्रेसको पकड छ। त्यसले पनि समीकरणमा फेरबदल पार्न सक्ने स्रोतले बतायो। ‘बागलुङको चुनाव अलि ढिलो नै लाग्ला, अहिले अनुमान मात्रै हो’, नेकपा स्रोतले भन्यो, ‘त्यो सिट यसै पनि हाम्रो हैन, प्रतिपक्षी बेञ्चमा बस्नेहरुसँग सहकार्य गर्नुपर्छ भन्ने अवस्था अहिले छैन, त्यसैले पार्र्टीले अब छुट्टै रणनीति बनाउँछ।’

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .