नेटोका नेताहरूले चीनका कारण सैन्य जोखिम बढेको चेतावनी दिँदै चिनियाँ पछिल्ला कार्यलाई प्रणालीलाई चुनौती दिने व्यवहार भनेका छन्।
उनीहरूले चीनले द्रुत ढङ्गले आफ्नो परमाणु क्षमता विस्तार गरिरहेको, सैन्य आधुनिकीकरणबारे अपारदर्शी हिसाबले निर्णय गरिरहेको र रुससँग सैन्य सहकार्य गरिरहेको बताएका छन्।
नेटोका प्रमुख येन्स स्टोल्टेन्बेर्गका अनुसार चीनको सैन्य र प्राविधिक क्षमता नेटोको हाराहारीमा पुग्न लागेको छ।
तर उनले नेटो गठबन्धनले चीनसँग नयाँ शीतयुद्ध नचाहेको पनि उल्लेख गरे।
नेटो ३० वटा युरोपेली र उत्तर अमेरिकी देशहरूको शक्तिशाली राजनीतिक र सैन्य गठबन्धन हो। यसमा परमाणु हतियार सम्पन्न अमेरिका, बेलायत र फ्रान्स पनि समावेश छ।
नेटोको शिखर बैठकपछि जारी गरिएको विज्ञप्तिमा चीनको घोषित महत्त्वाकाङ्क्षा र आक्रामक व्यवहारले नियममा आधारित अन्तर्राष्ट्रिय व्यवस्था र गठबन्धनको सुरक्षासँग जोडिएका क्षेत्रमा प्रणालीगत चुनौती दिने उल्लेख गरिएको छ।
यो पनिः चीनको बीआरआईलाई काउन्टर दिन अमेरिकाले प्रस्तुत गर्यो बी३डब्ल्यू योजना
त्यसमा नेटो पारदर्शिताको अभाव र गलत सूचनाको प्रयोगप्रति चिन्तित रहेको उल्लेख गरिएको छ।
चीन विश्वको एउटा प्रमुख सैनिक र आर्थिक शक्ति हो र त्यहाँको कम्युनिस्ट पार्टीले राजनीति, दैनिक जीवन र समाजको धेरै हिस्सामा आफ्नो पकड कायम राखेको छ।
चीनको सेना विश्वकै सबैभन्दा ठूलो फौज हो जसमा सक्रिय सेवामा २० लाख भन्दा बढी कार्यरत छन्।
चीनको बढ्दो सैनिक सामर्थ्यलाई लिएर नेटोमा चिन्ताहरू गहिरिँदै गएको पाइन्छ। उसले त्यसलाई सुरक्षा र आफ्ना सदस्य राष्ट्रहरूको लोकतान्त्रिक मूल्यप्रतिको जोखिमका रूपमा हेर्ने गरेको छ।
सो वैठकमा अमेरिकी राष्ट्रपति जो बाइडेन पनि उपस्थित थिए। हालै बेलायतमा जी७ सम्मेलनमा सहभागी भएर उनी सिधै ब्रसेल्स पुगेका हुन्। उनले जी७ मा चीनलाई चुनौती दिन बी३डब्लू योजना प्रस्तुत गरेका थिए।
जी७ मा चीनलाई चुनौती दिने योजना बनाइँदा नेटोमा पनि त्यस्तै किसिमको योजना बनाइएको हो।
By claiming that China presents so-called “systemic challenges”, NATO is slandering China’s peaceful development and misjudging the international situation and its own role. It represents a continuation of the Cold War mentality and bloc politics.
— Mission of China (@ChinaEUMission) June 15, 2021
चीनको प्रतिक्रिया
नेटोले चीन प्रणालीलाई नै चुनौती दिने शक्ति भएको बताएपछि बेइजिङले आपत्ति जनाएको छ।
चीनले एक विज्ञप्ती जारी गर्दै नेटोको आरोप चीनको शान्तिमय विकासलाई अपमान गर्ने किसिमको भएको बताउँदै चीनले आक्रमक नीति नभएर सँधै रक्षात्मक नीति अबलम्ब गरेको बताएको छ।
युरोपेली संघको लागि चीनको मिसनको ट्विटर ह्यान्डलमा भनिएको छ,‘चीनले कसैको प्रणालीलाई चुनौती पेश गर्ने छैन, तर कसैले हामीलाई त्यस्तो चुनौती दिएमा हामी चुप बस्ने छैनौं।’ बीबीसी
यो पनिः चीनलाई घेर्ने र एक्ल्याउने रणनीति लिएको जी७ राष्ट्रले ताइवानलाई दियो साथ
प्रतिक्रिया