निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव र महन्थ ठाकुरलाई छुट्टा छुट्टै पत्र पठाएको छ।
बुधबार आयोगले यादव र ठाकुरलाई आ-आफ्ना दाबी प्रमाणित गर्नका लागि पत्र पठाएको आयोगका प्रवक्ता सहसचिव राजकुमार श्रेष्ठले जानकारी दिए।
मंगलबार यादवले ठाकुरसहितका राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई पार्टीबाट कारवाही गरेका थिए।
सो कारवाहीबारे यादवले निर्वाचन आयोगलाई जानकारी गराउँदै चारजनालाई पार्टीबाट निष्कासन गरिएको अद्यावधिक गर्न अनुरोध गरेका थिए।
यस्तै ठाकुरले पनि यादवलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको भन्दै अद्यावधिकका लागि आयोगलाई मंगलबार नै पत्र पठाएका थिए।
बुधबार आयोगले दुबै अध्यक्षलाई पत्र पठाएको हो।
यादवलाई पठाएको पत्रमा दल सम्बन्धी ऐनको अनुसूचि १८ को ढाँचामा जसपाको दाबी पेश गर्न अनुरोध गरिएको प्रवक्ता श्रेष्ठले बताए।
यस्तै ठाकुरलाई पठाएको पत्रमा भने केन्द्रीय समितिमा रहेका सदस्यहरुको हस्ताक्षरसहित कारबाही गरिएको निर्णय उपलब्ध गराउन अनुरोध गरिएको छ।
प्रतिक्रिया